
जनकपुरधाम – सर्लाहीमा पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको जग्गासम्बन्धी विवादको कारणले हत्या भएको खुलेको छ।
पूर्व राज्यमन्त्री यादवको घरमा काम गर्ने कविलासी नगरपालिका–३ मदनपुर घर भई चन्द्रनगर गाउँपालिका–१ बस्दै आएका २५ वर्षीय रामउजैन राय यादवले नै उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
साउन ७ गते चन्द्रनगर–१, रतनपुरमा रहेको फार्म हाउसमा यादवको हत्या भएको थियो। टाउकोको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको थियो।
स्थानीय ४५ वर्षीय वीरेन्द्र रायले राम उजैनमार्फत पूर्व राज्यमन्त्री यादवको हत्या गराएको अनुसन्धानमा खुलेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताए।
पूर्वराज्यमन्त्री यादवको फार्म हाउस र वीरेन्द्रको खेत एकै ठाउँमा छ। उक्त फार्म हाउस आफ्नो जग्गामा परेको वीरेन्द्रले दाबी गर्दै आएका थिए।
प्रवक्ता श्रेष्ठका अनुसार करिब एक महिनाअगाडि वीरेन्द्रले रामउजैनमार्फत पूर्व राज्यमन्त्रीको घर जग्गाको नक्सा झुक्याएर मागी फोटो र भिडियो बनाएका थिए। त्यो सबै मिलाएर वीरेन्द्रले पक्की घर रहेको जग्गा आफ्नो रहेको बताउने गरेका थिए।
हत्याभन्दा केही दिन पहिले वीरेन्द्रले रामउजैनलाई २ लाख रुपैयाँ र व्यवसायका लागि फर्म पनि बनाइदिन्छु भनेर प्रलोभन दिएका थिए।
उनकै उक्साहट र प्रलोभनमा रामउजैनले पूर्व राज्यमन्त्रीको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रवक्ता श्रेष्ठले बताए।
सुरुमा रामउजैनले प्रहरीलाई बाहिरबाट जग्गासम्बन्धी विवाद मिलाउन भन्दै आएका तीनजनाले हत्या गरेको हुनसक्ने बयान दिएका थिए। तर, पोलियोग्राफ टेष्टमा उनको बयान झुठो रहेको देखिएको थियो।
सोधपुछ गर्दै जाँदा वीरेन्द्रको उक्साहटमा रामउजैनले हत्या गरेको प्रहरीसमक्ष साबिति बयान दिएको प्रहरीले जनाएको छ।
प्रहरीले हत्यामा प्रयोग भएको उखु काट्ने फर्सा घटनास्थलबाट करिब २५ मिटर पश्चिम बाँसको झाडीमा फेला परेको थियो। घटनाको भोलिपल्ट उक्त हतियार रगत र यादवको कपाल टाँसिएको अवस्थामा फेला परेको थियो। हत्याको समय उनले लगाएको गन्जी च्यातेर तीन टुक्रा पारी बेरेर गोलो बल बनाई बारी छेउको बाटोतर्फ फ्यालेका थिए।
पक्राउ परेका दुवै जनाविरुद्ध सर्लाही जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी मुद्दामा १० दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।