
दक्षिण भारतको केरलाको वायनाडमा भारी वर्षाका कारण बाढी र पहिरोमा परी ठूलो मात्रामा हताहति भएको छ। चार फरक ठाउँमा पहिरो जाँदा चार गाउँ बगेका छन् भने घर, पुल सडक तथा गाडीहरुसमेत बगेका छन्।
अहिलेसम्म ६३ जनाको मृत्यु भइसकेको छ भने १ सय १६ लाई अस्पताल पुर्याइएको र ४०० बढी मानिसहरु बेपत्ता भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाइएको छ।
सोमबारदेखि भएको वर्षाका कारण मंगलबार सबेरै घटना भएको जनाइएको छ। उद्धार र खोजी कार्य जारी छ। उद्धारका लागि एसडिआरएफ र एनडीआरएफको टिम खटिए पनि उद्धार कार्य सहज रुपमा हुन सकिरहेको छैन। उद्धारका लागि ठूलो मात्रामा आर्मीहरुको परिचालनसमेत गरिएको भए पनि खराब मौसमका कारण उद्धारमा समस्या भइरहेको जनाइएको छ।
उद्धारकर्ताहरुसँगै ठूलो मात्रामा मेडिकल टिमसमेत परिचालन गरिएको जनाइएको छ। त्यस्तै, उद्धारका लागि एयरफोर्सका हेलिकप्टरहरु परिचालन गरिएको छ। तर, वर्षा नरोकिएकाले हेलिकप्टरहरु उद्धार गर्नुपर्ने ठाउँसम्म पुग्न सकिरहेका छैनन्।
त्यस्तै, एक महत्वपूर्ण पुल भत्किएका कारण उद्दारमा समस्या परेको छ। केरलाका मन्त्री एके शशीन्द्रनले क्षतिको आँकलन गर्न अझै समय लाग्ने बताएका छन्।
५ वर्षअघि पनि यो ठाउँमा पहिरो जाँदा १७ बढी मानिसको मृत्यु भएको थियो। २०१९ मा पनि भिषण वर्षाका कारण पहिरो गएको थियो। जसमा १७ को मृत्यु हुँदा ५२ घर भत्किएका थिए भने ५ जना बेपत्ता भएका थिए।
मौसम विभागका अनसार वायनाडमा आज पनि भिषण वर्षाको सम्भावना रहेको छ। मल्लपुरम र कसारागोडमा पनि रेड अलर्ट जारी गरिएको छ।