प्रख्यात गायक रामकृष्ण ढकाल देशसञ्चार चौतारीको यसपटकको अंकमा अतिथि बनेका छन्। उनले देशसञ्चारका सहकर्मीहरुसँग आफ्नो गायनयात्रा, संघर्ष र अनुभवका गाथाहरु खोलेका छन्।
उनले आफू संगीतबाट कुनै पनि समय नटाढिएको तर स्रोताहरुलाई विभिन्न कारणले यसको अनुभूति भएको हुनसक्ने उनी बताउँछन्। ‘कहिलेकाहिँ हाम्रो जीवनयात्राका क्रममा हामीबीच आउने उकाली ओरालीलगायतका कारणले त्यस्तो महसुस भएको हुनसक्छ,’ उनले देशसञ्चार चौतारीका क्रममा भने।
सधैँ एउटै गतिमा काम गरेर एउटा उचाइलाई कायम राखिराख्नु पनि एउटा ठूलो चुनौती रहेको अनुभव रामकृष्ण ढकाल सुनाउँछन्।
आफूले भजनदेखि लिएर पपसम्म गाए पनि आफूसँग स्रोताहरुले मेलोडी नै खोज्ने उनी बताउँछन्।
आफूले थुप्रै नेताहरुलाई गीत पनि सुनाएको उनी सम्झन्छन्। ‘मैले किसुनजीलाई, गणेशमानजीलाई, गिरिजाबाबुलाई पनि गीत सुनाएँ, गिरिजाबाबुले मलाई व्यक्तिगत रुपमा पनि चिन्नुहुन्थ्यो,’ उनले देशसञ्चार चौतारीका क्रममा भने।
प्रख्यात भारतीय गायिका लता मंगेशकरसँगको रमाइलो किस्सा पनि उनले देशसञ्चार चौतारीका क्रममा सुनाए। ‘मेरो गायन सुनेर लता मंगेशकरले भन्नुभएछ- ये लडका अच्छा गाता है… । पछि उहाँसँग मैले रमाइलोसँग गीत गाएँ,’ उनले सम्झिए।
२०४५ सालमै ‘ढकाल सुमधुर साँझ’ लिएर दर्शकमाझ आएका रामकृष्ण ढकालको सो त्यहीबेलै सुपरहिट भयो। ‘त्यत्तिखेरै मेरो सोको टिकट ब्ल्याकमा बिक्री भएछ,’ उनले भने।
ढकाल एकजना यस्तो गायक हुन् जसले लाइभ रेकर्डिङको अनुभव पनि सँगालेका छन् भने अहिलेको आधुनिक रेकर्डिङ अनुभव पनि सँगालेका छन्। रेडियो नेपालमा सुरुमा म ग श्रेणीको गायक थिएँ, डेढ सय रुपैयाँ पारिश्रमिक पाउँथे, तर एउटा गीत रेकर्ड गर्दा हजार रुपैयाँ खर्च हुन्थ्यो,’ उनले सम्झिए।
नारायणगोपाललाई उनकै गीत सुनाएको अनुभव पनि सँगालेका छन् ढकालले। ढकाललाई नारायणगोपालले राम्रो कम्लिमेन्ट पनि दिएका छन्। देशसञ्चार चौतारीका क्रममा ढकालले आफ्नो त्यो अनुभव पनि पोखे।
बदलिँदो प्रविधि र संगीतको ट्रेन्ड परिवर्तन हुँदा पनि आफू अहिले लाइमलाइटबाट बाहिर भएको हुनसक्ने ढकालको आँकलन छ। ‘संगीतबाहेक मेरो जिन्दगीमा अरु केही पनि छैन,’ उनले भने।
एकजना संगीत मर्मज्ञ गोपाल कर्माचार्यको मद्दतले गायनयात्रामा ब्रेक पाएका ढकाल उनलाई आफ्नो गडफादर नै मान्छन्। ‘उहाँ मेरो बुवातुल्य हुनुहुन्थ्यो, १२ वर्षकै उमेरमा मलाई म्युजिक सो गर्ने वातावरण उहाँले नै मिलाइदिनुभयो,’ उनले अन्तर्वार्ताका क्रममा भने।
‘त्यही बेला काठमाडौँका सबै कलेजमा स्टेज सो गरिसकेको थिएँ मैले,’ उनले भने।
पूरा भिडियो: