
काठमाडौँ-न्याय परिषद्ले एकै पटक ठुलो मात्रामा न्यायाधीशहरूको सरुवा गरेको छ। मंगलबार बसेको न्याय परिषद्को बैठकले एकै पटक ९१ जना न्यायाधीशको सरुवा गरेको हो।
प्रधान न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले उच्च अदालतका २६ र जिल्ला अदालतका ६५ जना न्यायाधीशको सरुवा गरेको न्याय परिषद्का सचिव यमबहादुर बुढामगरले बताए। मंगलबार बसेको न्याय सेवा आयोगको बैठकले २ सचिवको सरुवा र २ जनालाई सचिव बढुवा गर्ने निर्णय गरेको थियो।
सर्वोच्च, उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको नियुक्तिसम्बन्धी एजेण्डा पनि छलफलमा रहेको थियो।
मंगलबार न्यायाधीशहरूको सरुवाको एजेण्डामा धेरै छलफल भएकाले नयाँ सिफारिस हुन नसकेको परिषद् स्रोतले जनाएको छ। अर्को बैठकले न्यायाधीशहरूको सिफारिस गर्ने जनाइएको छ। सर्वोच्च, उच्च र जिल्ला अदालतमा न्यायाधीश रिक्त रहेका छन्।