
सिमकोट – गाउँपालिकाभित्रका बिरामीमा कीटजन्य रोग देखिन थालेपछि गाउँपालिका स्वास्थ्य शाखाले परीक्षणका लागि घरदैलो अभियान सञ्चालन सुरु गर्ने भएको छ। लामखुट्टेसमेत बढ्दै आएपछि मलेरिया रोग लाग्न सक्ने भन्दै घरदैलोमा स्वास्थ्यकर्मी पुगेर उक्त अभियान सञ्चालन गर्न लागेको हो।
ताँजाकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले पाँच वटै वडाका बस्ती बस्तीमा कीटजन्य रोग देखा पर्न थालेपछि गाउँपालिकाका २३ वटा बस्ती र दुई वटा खर्कमा ल्याव सहित स्वास्थ्यकर्मी पुगेर उपचारका साथै ल्याव परीक्षण पनि गरिने बताए। उनले हाल लामखुट्टेको संख्या समेत बृद्धि भई रहेको कारण मलेरियाको समेत आशंका गरिएको र त्यसको ल्याब परीक्षण गरिने बताए।
त्यसैगरी, झाडापखालाका बिरामी पनि बढिरहेका कारण त्यसको कारणसमेत घरदैलो अभियानबाट ल्याव परीक्षण गरिनेछ। यसका लागि सबै बस्तीमा पुग्नका लागि ल्याबसहित सात जना स्वास्थ्यकर्मी अभियानमा खटिने उनले बताए।
खटिएको टोलीले संकलन गरेको बस्तुलाई गाउँपालिकामा आएर ल्याव परीक्षण गर्ने र सम्भावित रोगको लक्षण देखिए प्रदेश परीक्षण प्रयोग शालामा पठाइनेछ। उक्त घरदैला अभियान आगामी आईतबाटबाट सुरु हुनेछ। शाखाले विगतमा पनि यस्तो अभियान गरेको भए पनि यस पटक बृहत् रुपमा गर्न लागिएको जनाएको छ।