
सिमकोट – एसईईमा हुम्ला जिल्लामा ५५३ जना परीक्षार्थीले सहभागिता जनाउने भएका छन्। जिल्ला सञ्चालन हुने परीक्षाका लागि आवेदन दिने परीक्षार्र्थीहरुको अन्तिम नामावली सार्वजनिक गर्दै शिक्षा बिकास तथा समन्वय इकाई यो परीक्षार्थीहरुको बिबरण निकालेको हो।
एसईई पूरक परीक्षा २०८० का लागि सहभागीता जनाउने परीक्षार्थीहरुमा साधारणतर्फ ४९४ जना र प्राबिधिक धारतर्फ ५९ जनाले सहभागीता जनाउने इकाई प्रमुख योगेश आलेमगरले बताए।
परीक्षा सञ्चालनका लागि दुई वटा परीक्षा केन्द्र निर्धारण गरिएको र त्यसमा सिमकोट गाउँपालिकाको मानसरोवर नमूना मावि केन्द्रमा २५६ जना र सर्केगार्ड गाउँपालिकाको हिमज्योति मावि सर्केगार्ड केन्द्रमा २९७ जना परीक्षार्थीहरुले सहभागिता जनाउदै छ। प्राविधिक धारका परीक्षार्थी मानसरोवर मावि केन्द्रबाट मात्र परीक्षामा सहभागिता जनाउनु हुनेछ। पुरक परीक्षामा सबैभन्दा बढी क्रमश गणित बिषयमा ४४९ जना परीक्षार्थीहरुले परीक्षा दिँदै छन् भने त्यसपछि विज्ञान विषयमा २३४ जना र नेपाली विषयमा २०८ जना परीक्षार्थीले परीक्षा दिनु हुनेछ।
साउन २३ गतेबाट ३१ गतेसम्म सञ्चालन हुने परीक्षामा बिभिन्न नौ विषयमा परीक्षा दिने परीक्षार्थी रहेका छन्। मानसरोवर नमूना मावि केन्द्रबाट नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका परीक्षार्थी तथा हिमाज्योति मावि परीक्षा केन्द्रबाट सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकाको विद्यालयका परीक्षार्थीले पूरक परीक्षामा सहभागिता जनाउनेछन्।