
काटमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले हालै पार्टीमा मनोनीत पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराएका छन्। पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा आज आयोजित कार्यक्रममा उनले उपाध्यक्षमा मनोनीत गुरु बराल र अन्य १६ जना केन्द्रीय सदस्यलाई शपथ गराएका हुन्।
प्रधानमन्त्री तथा अध्यक्ष ओलीले एमालेको विधान, २०४९ (संशोधित २०७८) को धारा ६६ को २ (च)मा भएको व्यवस्थाअनुसार मनोनीत पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराए।
मनोनीत केन्द्रीय सदस्यहरू सुवास कर्माचार्य (सिन्धुपाल्चोक), जितेन्द्र देव (सुनसरी), रामपृत राम (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमल तिमिल्सिना (अछाम), गोविन्द पुन (सल्यान) केदार सिग्देल (तनहुँ) र मनमोहन पौडेल (पर्वत) रहका छन्।
यसैगरी हरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल (अर्घाखाँची), प्रभा कोइराला (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) मनोनीत केन्द्रीय सदस्यले आजै प्रधानमन्त्री ओलीबाट शपथ लिए।
नयाँ थपिएका १६ जनासहित अब एमालेमा तीन सय ७४ सदस्यीय केन्द्रीय कमिटी बनेको छ। गत साउन १७ गते बसेको सचिवालय बैठकले एक उपाध्यक्ष र १६ जना केन्द्रीय सदस्यलाई पार्टी विधानको धारा ६५ अनुसार मनोनयन गरेको थियो।