मैले सुविन दाइको लेखन होइन, अध्ययनशीलता, आत्मीयता र सरलतालाई पछ्याउने गर्छु: मिलन संग्रौला लेखक

बुवाले लेखेको उपन्यास साफी गर्दागर्दै लेख्ने लत बसालेका मिलन

बुवाले लेखेको उपन्यास साफी गर्दागर्दै लेख्ने लत बसालेका मिलन
+
-

लेखक मिलन संग्रौला विज्ञानका विद्यार्थी भएपनि प्रेम साहित्य लेख्छन्। युवापुस्तालाई केन्द्रमा राखेर लेखिएको उनको कथा संग्रह ‘च्याट गर्ल’ र उपन्यास ‘पर्पला’ निकै रुचाइएको पुस्तकमा पर्छ। यतिखेर संग्रौलाले दोस्रो उपन्यास ‘बावऋ’ बजारमा ल्याएका छन्, जसलाई फाइन प्रिन्टले प्रकाशन गरेको हो। देशसञ्चारका लागि लेखक संग्रौलासँग किताब लेखन अनुभव वरिपरि बसेर गरिएको कुराकानी:

दोस्रो उपन्यास ‘बाबऋ’ ल्याउन निकै ढिलो गर्नुभयाे नि!

मेरो दोस्रो कृति तथा पहिलो उपन्यास ‘पर्पला’ प्रकाशित भएको आठ वर्षपछि दोस्रो उपन्यास बावऋ प्रकाशित भयो। यसको लेखनमा झन्डै साढे पाँच वर्ष समय लाग्यो। यो समय म यसका पात्रहरू र परिवेश बोकेर बाँचिरहें र आख्यानको संसार निर्माण गर्दै रमाइरहें। यसको कथानक मेरो किशोरवय भोगाइसँग नजिक भएकाले पनि होला, लेखनयात्रा निकै आनन्दमय भयो। उपन्यासको सुरुवाती प्रतिक्रियाले उत्साहित बनाइरहेको छ। पाठकहरुले आफूसँगै समाजलाई नै उपन्यासमा पाइरहेको बताउँदा खुसी लाग्दैछ।

बावऋ कस्तो उपन्यास हो?

बावऋ विशेषत साठीको दशक सुरुवातको कालखण्डमा बुनिएको तीन किशोरहरूको भावनात्मक सम्बन्धको त्रिकोणात्मक कथा हो। किशोरवयमा हुने निश्चल र आदर्श प्रेमलाई त्यसबेलाको समाजिक अवस्थितिले कसरी असर गर्‍याे? उनीहरूको भोगाइको दृष्टिकोणमा उपन्यास लेखिएको हो। उपन्यासमा उनीहरूको प्रेमसँगै त्यसबेलाको द्वन्द्वरत समाजले भोगेका समस्याहरू, बाबुछोराको सम्बन्ध, मित्रताको सम्बन्ध, गुरुचेलाको सम्बन्ध आदिलाई उपन्यासको कथानकसँगै बुनेर लाने प्रयास गरेको छु। यसमा कति सफल हुन सकें, त्यसको मूल्यांकन त प्रिय पाठक र समीक्षकहरूले गर्नुहुन्छ भन्ने नै छ।

बावऋमा आजको समाज र द्वन्द्वकालीन समयलाई के-कसरी समेट्न खोज्नु भएको छ?

उपन्यासमा आजको समाजको समय त कथानकमा छैन तर उपन्यासले उठाएको प्रश्न र उपन्यासका कतिपय पात्रहरूको समस्या अहिले पनि ज्यूँका त्यूँ छन्। बीस वर्षअघि जुन अवस्थामा पात्रहरू उपन्यासमा छाडिएका थिए, अहिले पनि उही अवस्थाबाट गुज्रिरहेका छन्। द्वन्दमा सरिक उपल्लो शक्ति धेरैपटक सत्तामा पुगिसक्यो, नयाँ संविधान पनि बन्यो तर भुइँमान्छेहरूको समस्या ज्यूँका त्यूँ छ। त्यसैले मलाई लाग्छ, अहिलेका केयौं पात्रहरू हामी उपन्यासमा पाउँछौं।

लेख्नका लागि विषय धेरै छन् तर तपाईं प्रेम साहित्य नै लेख्न किन रुचाउनु हुन्छ?

मलाई लाग्छ, लेखकको मनलाई जुन विषय वा कथाले छुन्छ, त्यसलाई उसले अरूको मन छुनेगरी प्रस्तुत गर्न सक्छ। मलाई विशेषगरी किशोरअवस्थामा गुज्रिँदै गरेका युवाहरूको भावना, उनीहरूको प्रेम र अन्य सम्बन्धहरूमा पोखिन आफूलाई सहज पाउँछु। अध्यापनका क्रममा धेरै समय युवापुस्ताकै नजिक रहनु परेकाले पनि मलाई किशोरकालीन कथाहरूमा नै आफू सहज रूपमा पोखिन्छु भन्ने लाग्छ। तर प्रेम साहित्य लेख्दैमा हामीले समाजका अन्य मुद्दाहरूलाई जोड्न नसकिने भन्ने होइन। बरु प्रेम साहित्यमार्फत युवाहरूलाई समाजका विविध पाटाहरूबारे सचेत गराउन सकिन्छ।

युवाहरूलाई अप्ठ्याराे गरी, क्लिष्ट भाषा र मुद्दाकेन्द्रित लेखनबाट सिधा भन्न खोजियो भने उनीहरूले त्यसलाई आत्मसात गर्न सक्दैनन्। साहित्य अझ आख्यानको काम गहन विषय र मुद्दालाई सजिलो र रोचक गरी भन्ने नै हो। प्रेम साहित्यमा भावना र यौन मात्र हुन्छ वा लेख्नुपर्छ भन्ने त पक्कै होइन। प्रेममा पर्नेहरू यही समाजकै हुन्, प्रेमलाई बाधा गर्नेहरू पनि यही समाजकै हुन्। त्यसैले प्रेम साहित्यमा पनि समाजको अध्ययन गर्दै मेहनत गरेर लेखियो भने समाजलाई सँगै जोडेर लान सकिन्छ भन्ने मलाई लाग्छ।

प्रेम साहित्य कत्तिको पढ्नु हुन्छ र तपाईंलाई अत्यन्तै मन परेको प्रेम साहित्य कुन हो र किन?

प्रेममै आधारित भएर लेखिरहेको हुनाले अरू विधासँगै प्रेम साहित्य पनि पढ्नु पर्छ नै। तर मलाई सिधा भनिएका, बुनिएका भन्दा अलिक जटिल अवस्थाबाट गुज्रिरहेको प्रेमकथा पढ्न मन लाग्छ। मैले किशोरावस्थामै पहिलोपल्ट पढेको सरुभक्तको उपन्यास ‘पागलबस्ती’ भित्रको दार्शनिक प्रेम अहिलेसम्म पनि उत्तिकै प्रिय लाग्छ।

अँ तपाईं त विज्ञानको विद्यार्थी हुनुहुन्छ र पढाउनु पनि हुन्छ प्रेम साहित्य लेखनमा झुकाव कसरी सुरु भयो?

प्रेम साहित्य मात्र नभएर समग्र साहित्यप्रति मेरो झुकाव कसरी बन्यो भन्नेमा मैले प्रकाश पार्नुपर्छ जस्तो लाग्छ। मेरो बुबा राजेन्द्र संग्रौला पनि एक उपन्यासकार हुनुहुन्छ। सानैदेखि घरको माहोल साहित्यिक थियो। बुबाले मलाई उहाँका उपन्यासहरूको साफी गर्न लगाउनुहुन्थ्यो। त्यसो गर्दागर्दै थाहै नपाई साहित्यप्रति मेरो अनुराग बढ्दै गयो। पछि अध्ययनको क्षेत्र कम्प्युटर विज्ञान भए पनि, मैले त्यहाँभित्रका प्रोगामिङका पाठहरूमा जीवन भेटिनँ, न कुनै संवेदनाहरू। त्यसैले मेरो मन हरबखत शब्द र साहित्यले व्यक्त गर्ने जीवनका आयामहरूमै भुल्न खोजिरहन्थ्यो।
र, यस्तै बेला केही रुमानी भावानात्मक प्रेम सम्बन्धहरूमा पनि मेरो किशोरकाल रुमलियो। सायद यसैले पनि हुनुपर्छ, साहित्य, त्यसमा पनि प्रेम साहित्य मेरो रुचिको विषय बन्यो।

नेपालको सवालमा युवा प्रेममाथि लेखिएका उपन्यास उस्तैउस्तै हुन्छ भनेर पाठक प्रतिक्रिया सुन्न पाइन्छ हो?

नयाँ धारलाई प्रतिरोध गर्ने शक्ति जुन क्षेत्रमा पनि हुन्छन् नै। कुनै बेला प्रकाश कोविदले सरल भाषा र आमजनको मन छुने शैलीमा समाजका कथा लेख्दा मुलधारले सधैं बहिष्कार गर्थ्याे। आज फेरि उनै प्रकाश कोविदलाई मान्छेहरूले खोज्न थालेका छन्।

एक त प्रेमलाई वर्जित गर्ने सामाजिक मनोविज्ञानका माझ हामी र हामीभन्दा अघिल्लो पुस्ता हुर्कियो। त्यसैले प्रेममा कलम चलाउनेहरूलाई मूलधारबाट बर्जित जस्तो गरियो। अर्को जब युवामाझ तिनै कृतिहरू रुचाइन थाले तब प्रेम साहित्यलाई सस्तो साहित्यको उपमाले खेदाइन थालियाे।

दुईचारवटा उपन्यास पढेर रहरमा एक उपन्यास लेख्ने र छपाउने अनि हराउने प्रवृत्तिलाई छाड्ने हो भने, नेपाली युवा लेखकहरुका सबैका आआफ्नै विशेषताहरू होलान्। उनीहरूका उपन्यासहरू आआफ्नै परिवेश, चरित्र र कथानकमा अडिएका होलान्। यसमा गहन अध्ययन र समीक्षाको खाँचो देख्छु म। यसको चिरफार एक असल अध्ययनकर्ताले नै गर्ने हो।

पछिल्ला प्रेम साहित्य लेखक सुविन भट्टराईको लेखनलाई पछ्याइरह्यो भन्ने पाठकलाई के भन्नुहुन्छ?

मलाई लाग्छ, यो भनाइ पनि आम पाठकको नभएर एउटा वृत्त जो युवाहरूको भावना र समस्यालाई सस्तो भनेर मजाकमा उडाइदिन्छ, उसैबाट आएको हो। तिनले न सुविन दाइका कृति पढ्छन् न मलगायत अन्य प्रेम साहित्य लेख्ने युवा लेखककै। न उहाँको र मेरो साहित्यिक पृष्ठभूमि र यात्रालाई जान्दछन्। सुविन दाइले जब पहिलो कृति ‘कथाकी पात्र’ प्रकाशित गर्दै हुनुहुन्थ्यो। त्यसबखत म झापामै तयार भइसकेको मेरो कथासंग्रह ‘च्याटगर्ल’को पाण्डुलिपि बोकेर प्रकाशन गृहहरूमा धाउँदै थिएँ। त्यसबैला उहाँसँग भेट भयो र त्यसपश्चात लेखन, पठनबारे हाम्रो गफ भइरहन्थ्यो।

उहाँको पहिलो कृति मैले पढिरहँदा उहाँलाई चिन्नुभन्दा अघि नै तयार मेरो पहिलो कृति पनि छापाखानाको पाइपलाइनमा थियो।

त्यसपछि उहाँको उपन्यास ‘समर लभ’ प्रकाशित भयो। मैले पहिल्यै मनमा खाका बुनिसकेको पर्पला उपन्यासमा काम सुरु गरें। समर लभका पात्रहरू स्नातकोत्तर गर्दै गरेको वयस्क युवाहरू छन्, ‘पर्पला’मा भर्खरै टिनएज कटेका प्लस टुका किशोरहरू छन्। दुवै उपन्यासको परिवेश, कथानक, चरित्रचित्रण र कथा भन्ने शैलीमा के कति फरक छ, आम पाठकले सजिलै भन्न सक्ने विषय हो।

त्यसपश्चात सुविन दाइले समर लभको अर्को भाग ‘साया’ हुँदै अरू थप ३ उपन्यासहरू लेख्नुभो। मैले धेरै पाठकहरूले अनुरोध गरे पनि पर्पलाको अर्काे भाग लेखिनँ। पर्पलापछि अहिलेको उपन्यास ‘बावऋ’ लेख्न मलाई साढे पाँच वर्ष लाग्यो र बल्ल आठ वर्षपछि प्रकाशित भयो। उहाँको लेखनलाई नै साँच्चै पछ्याएको भए मैले पर्पला २ हुँदै उहाँकै कृतिहरूको संख्यामा आफूलाई पुर्‍याउनुपर्थ्याे होला। मैले आफूले लेखनका लागि रोज्ने कथानक, परिवेश र पात्रहरुप्रति म पहिल्यैबाट सजग छु।

मैले सुविन दाइलाई पछ्याउने भनेको उहाँको अध्ययनशीलता, आत्मीयता, सधैंको सरल र सहयोगी स्वभावलाई हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?