
सिमकोट – सदरमुकामस्थित सिमकोटमा सञ्चालनमा रहेकामध्ये एउटा मेडिकलमा ताला लगाइएको छ। सञ्चालित फार्मेसी निर्धारित मापदण्डविपरीत सञ्चालन हुँदै आएको पाइएपछि अनुगमनका क्रममा ताला लगाउने कार्य भएको हो।
सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकाया भामले निर्धारित न्यूनतम मापदण्ड पनि पूरा नगरी सञ्चालनमा आएको सिमकोट गाउँपालिका– ५ स्थित क्रिसव एण्ड क्रिसाङ फार्मेसीलाई ताला लगाउने कार्य भएको बताइन्।
सञ्चालित फार्मेसीहरुको अनुगमन गर्ने क्रममा उक्त फर्मेसीले गाउँपालिकामा दर्ता नै नगरि सेवा प्रवाह गरि रहेको भेटिएपछि त्यसलाई तत्काल ताला लगाएर बन्द गर्ने कार्य गरिएको हो। उक्त फार्मेसी अनुगमन गर्दा फार्मेसीका नाममा ब्यवसाय दर्ता नभएको, स्थायी पाना नम्बर दर्ता नभएको, मुल्यसुची टाँस नभएको र केही म्याद नाघेका औषधी समेत पाईएकोले ताला लगाउने कार्य भएको छ।
सो फार्मेसीले आवश्यक सम्पुर्ण मापदण्ड पूरा नभएसम्मका लागि ताला लगाउने कार्य जारी रहने सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुबेदीले बताए । त्यसैगरि सिमकोट कै अन्य तीन वटा फार्मेसीको पनि अनुगमन गर्ने कार्य भएको छ।
सो क्रममा केही म्याद गुज्रेको औषधिसमेत टोलीले बरामद गरी नष्ट गरेको छ। अनुगमन सिमकोट गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारी, प्रहरी निरीक्षक सरोज कँडेल, उद्योग बाणिज्य संघले ती फार्मेसीको यसअघि पनि अनुगमन गरेको थियो ।