पोखरा – जिल्ला प्रहरी कार्यालय कास्की परिसर नियन्त्रणमा लिइएका मोटरसाइकलले भरिभराउ बनेको छ। स्वरुप परिवर्तन गरिएको (मोडिफाइड) १४९ मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो।
साउन ३० देखि भदौ २ गतेसम्म प्रहरीले अभियान चलाएर ती मोटरसाइकल नियन्त्रणमा लिएको छ। ‘हामीले अहिले अनुसन्धान गरिरहेका छौँ। प्रारम्भिक अनुसन्धानबाट के देखियो भने पहिलो पटकदेखि चौंथो पटकेसम्म देखियो’, कास्कीका प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले भने।
नियन्त्रणमा लिएका सवारीधनीलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ उल्लेख भएअनुसार १५ हजार रुपैयाँसम्म जरिवाना लिइने उनले बताए। स्वीकृति नलिइकन सवारीको स्वरुप परिर्वतन नपाइने ऐनमा उल्लेख गरिएको एसपी थापाको भनाइ छ।
नियन्त्रणमा लिइएका मोटरसाइकलले रङ, सिट, साइलेन्सर, नम्बरप्लेट, लुकिङ ग्लास, सक, ह्यान्डल, इन्जिन, चेचिसलगायतका पाटपूर्जा फेरबदल गरेका छन्।
सवारी धनीसँगै वर्कसप सञ्चालक, कार्यरत मजदूरले काननुविपरीत काम गरेको कास्की प्रहरीले बताएको छ। ‘कानुन बमोजिम अधिकतम् कारबाही गर्छौं’, एसपी थापाले बताए।
पटक–पटक अनुरोध गर्दा पनि अटेरी गर्ने मोटरसाइकल चालकलाई मुलुकी आचारसंहिता २०७४ अनुसार सार्वजनिक शान्ति भंग गरेको कसुरमा समेत कारबाही गर्ने उनको चेतावनी छ।
उनी भन्छन्, ‘यीबाहेकले सार्वजनिक शान्ति भंग गरेको छ। कोलाहल मच्चाइरहेको छ। कसैलाई सुत्न दिएको छैन। सबैलाई डिस्टर्ब गर् या’छ। तसर्थ सार्वजनिक शान्ति भंग गरेतर्फ पनि कारबाही गर्न सक्छौँ।’ यो कसुरमा एक वर्षसम्म कैदको व्यवस्था छ।
नियन्त्रणमा लिएको मोटरसाइकलका चालकलाई अभद्र व्यवहारमा समेत मुद्दा दायर गर्ने एसपी थापाले सुनाए। महिला, बालबालिका, बिरामीलाई ध्वनी प्रदूषण गराउँदै तर्साइरहेको उनको भनाइ छ।
स्वरुप परिर्वतन गरेर सवारी चलाउँदा बढीभन्दा बढी दुर्घटनाको जोखिम रहेको उनको दाबी छ। ध्वनी प्रदूषणले पर्यटकीय राजधानी पोखरामा पर्यटकमैत्री व्यवहार नभएको दाबी गरे।
स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाइरहेका चालक भने अनाहकमा प्रहरीले दुःख दिएको बताउँछन्। प्रहरीले सोमबार वर्कसप सञ्चालकहरुलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर मोटरसाइकलको स्वरुप परिवर्तन नगरिदिन आग्रह गरेको छ। चालक आफैंले सामान किनेर स्वरुप परिर्वतन गर्ने सञ्चालकहरु भनाइ थियो।
स्वरुप परिवर्तन गरेर ध्वनी प्रदुषण गराउने मोटरसाइकललाई रोक्न प्रहरीले गत आर्थिक वर्षमा अभियान नै चलाएको थियो। ध्वनी प्रदुषण गराउने मोडिफाइड १ हजार ९८६ मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही गर्दा ८ लाख १० हजार ३०० रुपैयाँ राजस्व संकलन भएको थियो। यस्तै, मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने ८ जना सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको थियो।