डा. भेषबहादुर थापाकृत ‘राष्ट्र परराष्ट्र’ म जन्मे हुर्केको र बाँचेको समयलाई चिर्दै अगाडि बढदो रहेछ। नेपाल, भारत र अमेरिकालाई भावभूमि बनाएर लेखकले गजबको दस्तावेजीकरण गरेका रहेछन्। अपवादबाहेक निरपेक्ष राम्रो र निरपेक्ष नराम्रो पुस्तक हुँदैन होला। पुस्तक पढ्दा के कस्ता विचारहरू मभित्र उब्जिए, त्ययसैको आधारमा म त्यो पुस्तक कस्तो रहेछ भनेर मूल्यांकन गर्छु। पउलाे कोहेलोको ‘अल्केमिस्ट’, हर्मन हेस्सेको ‘सिद्धार्थ’, ‘गुड अर्थ’, ‘द्वन्द्वको अवसान’, ‘ज्योति ज्योति महाज्योति’ इत्यादि पढ्दा मलाई बच्चा बेलामा झरीको पानीमा नाँचेजस्तै आनन्द आएको हो। ‘राष्ट्र परराष्ट्र’ पढ्दा पानीमा नाचे झैं त भएन तर त्यो समयका मेरा स्मृतिहरू ताजा भए। म जान्ने भएको २०२८/२९ सालतिर हो, लेखककै छिमेकि जिल्ला स्याङ्जामा।
राजा महेन्द्रले दरबारबाट अमेरिका पढ्दै गरेका लेखकलाई पठाएको टेलिग्रामबाट पुस्तकको विषय प्रवेश भएको रहेछ। न्यारेटिभ चाहिं महेन्द्रले पञ्चायत लागू गरेर साँच्चै केही राम्रो गर्न खोजेका थिए भन्ने हो झैं लाग्यो। योजना आयोगको सचिवजस्तो वरिष्ठ पदको नियुक्ति नै अमेरिकामा विद्यावारिधि गर्दै गरेको २४ वर्षे व्यक्तिलाई दिइएको एक प्रकारको क्रान्तिकारी कदम त हो त्यति बेलाको लागि। तर अर्को कोणबाट हेर्दा त्यतिबेला राजाको हुकुम प्रमांगीबाट सबै काम हुने भएकोले त्यतिबेलाको समय सुहाउँदो पनि हो कि?
पुस्तकमा उल्लेख गरिएअनुसार लेखक र उनका पितालाई २००७ सालमा राणाविरोधी क्रान्तिकारीहरूबाट फुत्काएर पोखरा पुऱ्याइदिने पौवैका कार्की मेरा नजिकका हजुरबा र काका ठुलोबुवाहरू हुन्। त्यतिबेला लेखकका पिता स्याङ्जाका बडाहाकिम रहेछन्। राणाविरोधी क्रान्तिकारीहरू आएर लेखक र उनका पितालाई बन्दी बनाएका रहेछन्, पौवैका कार्कीहरू राति घोडा लिएर आइ उनीहरूको उद्दार गरेका रहेछन्। ततपश्चात उनीहरू पोखरा हुँदै काठमाडौं पुगेका रहेछन्। मोटरबाटो नभएकाले उनीहरू हिँडेर ८ दिनपछि काठमाडौं पुग्दा राणाशासनको अन्त्य भैसकेको रहेछ। लेखकको उमेर १४/१५ वर्षको हाराहारी रहेछ त्यतिबेला।
विसं २०१७ मा लेखक अमेरिकाबाट फर्केर सिधै योजना आयोगको सचिव भएर काम गरेको एक दशकपछि म आठ वर्षजतिको हुँदो हुँ। त्यतिबेलासम्म योजना आयोगले बनाएका र लागू गरेका योजनाहरूको नतिजा मेरो गाउँमा देखिनु पर्ने हो।
हाम्रो गाउँ त्यतिबेला निकै दुर्गम थियाे। त्यो गाउँ आज पोखराबाट २५ मिनेटमा पुगिन्छ। तर त्यतिबेला म सम्झिन्छु- गाउँमा सरकारको उपस्थितिको नाममा प्रधानपञ्च हुन्थे, गाउँले जीवन निकै कठिन थियो। काठमाडाैंमा बजेट पेश हुन्थ्यो, कर्मचारी अनि व्यापारी उत्साहित हुन्थे। त्यसको ठीक विपरीत गाउँमा बाह्रै महिना जीवन कठिन थियो। बजेटले सहरिया र कुलीनहरूलाई मात्र छुन्थ्यो। दिनभरिको काम सकेर हामी राति टुकी बालेर पढ्थ्यौं, होमवर्क गर्थ्यौं। पोखरा पुग्न साढे तीन घन्टा हिँड्नु पर्थ्यो। स्वास्थ्य उपचार आदिको त कुरै छाडौं। लेखकले फेहरिस्तीकरण गरेका नीति र कार्यक्रमहरूको उपलब्धिको कुनै अंश पनि गाउँमा भेटिँदैनथ्यो। त्यही चरम असन्तुष्टिले नै २०३६ को विद्यार्थी आन्दोलन निम्त्याएको हो।
लेखकले अर्थमन्त्रीको रूपमा २०३२ सालमा दुई अरबको बजेट पेस गरेका रहेछन् भने आव २०३५/३६ मा उनले ३ अरबको अन्तिम बजेट पेश गरिरहँदासम्म २०३५ को आन्दोलनको माहौल तयार भएको रहेछ। त्यतिबेलाको समाज र दिन सम्झिँदा किन यस्तो भयो होला झैं लाग्थ्यो। अहिले कुरा बुझ्दा र यो बायोग्राफी पढ्दा त्यतिबेला नीतिहरू देश र जनताको आवश्यकताको वस्तुगत विश्लेषण गरेर भन्दा अर्थशास्त्रका कोरा सिद्धान्त, राजा महेन्द्रको जसरी पनि बनाउने एकपाखे हुटहुटी र अन्तर्राष्ट्रिय परिस्थितिजन्य दवावबाट निर्देशित रहेछन् झैं लाग्यो।
२०१५ मा उत्साहपूर्वक सुरु गरिएको पञ्चायत अभियान २०२७/२८ तिर पुग्दा कसरी त्यति निराशा र सीमित मान्छेको घेराभित्र पुग्यो होला? पक्कै पनि महेन्द्रको सुरुवाती उत्साह कम भएको वा उनको ध्यान अन्तै मोडिएको हुनपर्छ। म हाइस्कुलमा पुग्दा भर्खर नयाँ शिक्षा लागू भएको थियो। पञ्चायत विषय थपिएको इत्यादिले गर्दा प्रगतिशील खेमाका शिक्षकहरू प्रत्यक्षअप्रत्यक्ष रूपमा यसकाे खिसीट्युरी गर्थे, विद्यार्थीकाे ब्रेन वाश गर्न खोजिँदै छ भन्थे। तर लेखकले इंगित गरे झैं यो शिक्षा प्रणाली चीनको कम्युनिस्ट पार्टीको देखासिकी गरेर चीनका विद्यार्थीलाई कम्युनिस्ट पार्टीप्रति आस्थावान बनाउन खोजेजस्तै नयाँ शिक्षा प्रणालीले पञ्चायतप्रति आस्थावान बनाउन खोजेको हो भन्ने कुरा मैले पहिलो चोटि पढें/सुनें। मेरो अनुभवमा त झनै उल्टो भयो।
म र हामी सारा जो अलिकति उत्सुक र जागरुक थियौं, खरा गणतन्त्रवादी भएर निस्कियौं। यतिबेला नै हो गाउँमा राजनीति एकदम खराब कुरा हो भन्ने व्यापक भएको। स्कुल जाँदा आउँदा हजुरबा हजुरआमाहरू पनि ‘बाबु रान्निति नलागिकन पढ् है, नत्र जिन्नकि बर्बाद हुन्छ’ भन्थे। पढलेख नभएका र बुढाबुढी गाउँलेहरू राजनीति लाई ‘रान्निति’ र जिन्दगीलाई ‘जिन्नकि’ भन्थे, अझै पनि भन्छन्। उनीहरूको लागि राजनीति भनेको राजाको विरोध गर्नु थियो, राजाको विरोध गरे गाउँमा पुलिस आउँछ, पक्रेर लैजान्छ उस्तै परे मारिदिन्छ भन्ने त्रास थियो। त्यसैले उनीहरू राजनीतिमा नलाग्न हामीलाई नसिहत दिइरहन्थे। घरमा पनि त्यही, गाउँमा पनि त्यही कुरा दोहोऱ्याउँथे। ‘राजनीति’ भनेको के हो?, कसरी जीवन ‘बर्बाद’ हुन्छ? हामी झन् उत्सुक हुन्थ्यौं। कहाँ हो राजनीति गर्ने? कसरी हो? भन्ने लागिरहन्थ्यो। धेरै कुर्न भने परेन, हाम्रा स्कुलमै एक से एक कांग्रेस र कम्युनिस्ट नेताहरू शिक्षक भएर आए। उनीहरूसँगै हाम्रो ‘राजनीति’ पनि सुरु भयो।
२०३६ को आन्दोलनको उचाइमा गाउँमै नाराजुलुश, कालोमोसो, धरपकड इत्यादि सारा भयो, स्याङ्जामा सदरमुकाममा त धेरै जनाको ज्यानै गयो। मेरा कान्छा मामा जो मेरै स्कुलमा पढाउनु हुन्थ्यो जेल पर्नु भयो। त्यतिबेला जेल नुवाकोटमा थियो। सदरमुकाम स्याङ्जा सरे पनि जेल सरिसकेको थिएन। हरेक हप्ता नुवाकोट जेलमा उहाँलाई भेट्न जाने मेरो रुटिन बन्यो, कति दिन त उहाँ भेट्न मान्नु हुन्नथ्याे। अनि उहाँले ‘अब भेट्न नआउनु है बाबु’ भनेर अनुरोध पनि गर्नुहुन्थ्यो। म हुन्छ भनेर फर्किन्थें। तर अर्को हप्ता आमा फेरि बाबु जा न यति खाना मामालाई पुऱ्याएर आइज भन्नु हुन्थ्यो। म नाइँ भन्न सक्दिनथिएँ। नौ महिनाजति पछि हो क्यारे मामा जेलमुक्त हुनु भयो। मैले निरंकुशताको अनुहार बहुत नजिकबाट देखेको छु।
जिम्मी कार्टरको पालामा अमेरिकाले मानवअधिकारलाई विदेशनीतिको अंश बनाइएको थाहा थियो, तर हामी उबेला यसलाई उपनिवेशी चटक हो भन्थ्यौं। कार्टरले मानवअधिकारको लागि राजा वीरेन्द्रलाई दवाव दिएको कुरा अनुमान गरेको थिइनँ। अझ त्यति बेलैदेखि नेपालमा इसाई धर्म प्रचारको दवाव पनि बढेको रहेछ। होली वाइन इत्यादिको सञ्जालीय प्रचारले गर्दा हो कि मलाई राजतन्त्रपछि मात्र इसाई धर्मको प्रचार अभियान बढेको होला भन्ने लागेको थियो।
लेखक नेपालको प्रशासकीय भूमिकाबाट निवृत्त भएर अमेरिकातिर लागेपछि पुस्तक झन् रुचिकर भएर जान्छ। नेपालको राजनैतिक इतिहास र प्रशासनमा गहिरो रुचि भएको हुनाले मैले पुरै पुस्तक एक हरफ पनि नबिराइ पढें।
अमेरिका र भारतको राजदूत रहँदाको समयको संस्मरण सबैभन्दा सरस, अथेन्टिक र पढ्दा बहुतै रुचिकर लाग्यो। समग्रमा लेखक प्रशासक र अर्थमन्त्रीको भूमिकामा भन्दा राजद्तूको भूमिकामा बढी सफल र प्रभावकारी भएका हुन् कि झैं लाग्यो। कतै ह्विस्की डिप्लोमेसी, कतै टेनिस डिप्लोमेसी। लेखकले आफूलाई प्रशासकको रूपमा प्रस्तुत गर्न खोजे पनि मैले उनलाई प्रशासकभन्दा धेरै चतुर डिप्लोम्याट पाएँ। नेपाल र क्यानाडाका पदहरूमा हुँदा मैले यो गरें त्यो गरें भनेर आफूलाई अपस्टेज गरेको बान्की अमेरिकाको वर्णनमा छैन। उनी प्रोफेशनल कुटनीतिज्ञको भूमिकामा अति जचेका छन्।
पुस्तकमा विश्वबन्धु थापा, सूर्यबहादुर थापा, तुलसी गिरि, नगेन्द्र रिजाल लगायत बुद्धिजीवी र पञ्चायतका खम्बाहरूको एक एक गरेर उल्लेख गरिएको छ, त्यो नामको लिस्टमा राजेश्वर देवकोटाको नाम समावेश भएको रहेनछ। ‘द्वन्द्वको अवसान’ आख्यान लेखेर त्यैमार्फत पञ्चायतको ‘मिश्रित अर्थव्यवस्था’ लाई मार्क्सवादको ‘वर्ग संघर्ष’ भन्दा उत्तम र समन्वयकारी भएको कुरा सैद्धान्तिककरण गरेका देवकोटाले राजाको नजरमा उच्च मूल्यांकन पाउनु पर्ने हो झैं लागेको थियो मलाई। पञ्चायत इतरको राजनैतिक वृत्तमा उनलाई पनि पञ्चायतकाे सिद्धान्तकारकै रूपमा हेरिन्थ्यो।
पुस्तकमा सन १९६२मा भारतमा भएको सम्मेलनमा अन्तर्राष्ट्रिय अर्थ व्यवस्थासम्बन्धी बहसको उल्लेख छ, जसमा लेखकले नेपालको प्रतिनिधित्व गरेका थिए। भारत रुसको केन्द्रीकृत योजना प्रणालीको प्रभावमा रहेको तर लेखक भने सोही सम्मेलनमा सहभागी रहेका अमेरिकी अर्थशास्त्रीको खुला बजार सिद्धान्तबाट बढी प्रभावित भएको उल्लेख छ। के पञ्चायतले मिश्रित अर्थनीति अपनाउनुको कारण भारत र अमेरिकालाई समदूरीमा राख्नु थियो? यसमा लेखकको कति र महेन्द्रको असंलग्न परराष्ट्रनीतिको कति प्रभाव रह्यो होला? लेखकले पुस्तकमा यो प्रस्ट पारेका छैनन्। तर मिश्रित अर्थनीति र असंलग्न परराष्ट्रनीतिको सोंचमा प्रणालीगत एकरूपता चाहिं छ।
एउटा सन्दर्भमा विसं २००० ताका लेखक कालधारा बस्दा दशैं-तिहारमा घरघर गएर कपडा नापेर सिलाइदिने व्यापारीहरू नै पछि गएर ठूल्ठूला घरानियाँ मारवाडी बने भन्ने उल्लेख भएको छ। ८० वर्षको अन्तरालमा नेपालको अर्थतन्त्र त्यो वर्गको कब्जामा गएको रहेछ। मुख्यरूपमा क्षत्रीहरू सेनामा जान, ब्राह्मण र नेवार राजकिय पदहरूमा जान राजा र राणाको चाकडीमै व्यस्त रहने समयमा मारवाडीहरूले आर्थिक फड्को सुरु गरेका रहेछन्। हुन त नेवारहरू नेपालका पुराना व्यापारीहरू हुन् तर राष्ट्रिय अर्थतन्त्र नै पकडमा लिने स्तरमा उनीहरू सफल नभएको देखियो।
लेखकको व्यक्तिगत वृत्तिविकासको निम्ति सही समयमा सही ठाउँमा परेका रहेछन् भन्ने लाग्यो। गलैंचाकाण्डको १८ महिने कालबाहेक २०१७ देखि २०६१ सम्मको लगभग ३९ वर्ष सधैं पदमा बहाल भएका रहेछन्। एउटा व्यक्तिको रूपमा हेर्दा यो आफैमा एउटा गर्व गर्नलायक रेकर्ड हो, सफल जीवनको मानक हो।
गलैंचाकाण्डबारे हल्काफुल्का कमेन्ट सुनेको थिएँ, गहिरो कुरा रहेछ। सायद दरबारको यस्तैयस्तै आन्तरिक दाउपेचमा राजा निरीह भएर होला पञ्चायतको अन्त्य भएको। ठाउँठाउँमा एउटा राजनीतिज्ञले आफ्नो पद छोड्ने बेला आफूले गरेका राम्रा कामहरूको फेहरिस्त पेश गरेजस्तो लाग्छ। प्रायजसो एउटा पदबाट अर्को पदमा जाँदा पुरानो पदका उपलब्धिहरू पर्फरमेन्स रिभ्यु स्टाइलमा लिपिबद्ध गरिएको छ। म राजनीति, दर्शन र इतिहास एकदमै रुचाउँछु, मलाइ यो पुस्तक निकै रुचिकर लाग्यो। एकेडेमिक हिसाबले यो राम्रो सन्दर्भग्रन्थ हुन सक्छ। तर बजेट भाषणजस्ता बोरिङ शीर्षकमा लामो व्याख्या सामान्य पाठकको रुचिको विषय हो झैं लागेन।
लेखकको नेपालको कार्यकालको अनुभव पढ्दा कति ठाउँमा ‘के म लोकसेवा आयोगको तयारी सामग्री त पढिरहेको छैन?’ झैं पनि लाग्यो। प्रशासनिक सुधार, विदेश भ्रमणका तिथिमिति इत्यादिको सन्दर्भ पनि धेरै नै छ।
त्यतिबेला हामीलाई लाग्थ्यो- राजाका मन्त्रीहरूलाई सजिलो छ, राजाको आदेश तामेली गऱ्यो बस्यो। तर लेखकको संस्मरण पढ्दा लाग्यो- केही सिद्धान्तवश र केही अभिमानवश राजासँग उनीहरूको द्वन्द्व त हुँदो रहेछ। विशेषगरी प्रम तुलसी गिरिको, र यदुनाथ खनालजस्ता सिद्धान्तनिष्ठ राष्ट्र सेवकको। लेखकको पनि केही ठाउँमा राजासँग द्वन्द्व भएको देखियो।
राजतन्त्र रहँदासम्म राजासँगको सम्बन्धको आरोहअवरोहसँगै लेखकको वृत्ति विकासको पनि आरोहअवरोह भएको रहेछ। विशेष गरेर राजा वीरेन्द्रसँग लभ-हेटको जस्तो सम्बन्ध देखिँदो रैछ। राजतन्त्रको अन्त्यपछि पनि लेखकलाई मनमोहनदेखि गिरिजासम्मले आफ्नो नजिक बनाउन खोजेको देखिन्छ।
के कुरा साँचो हो भने लोकतन्त्र स्थापनापश्चात काठमाडौंमा राज्य सञ्चालन गर्न दलहरूसँग बुद्धिजीवी र टेक्नोक्रयाटहरूको कमी थियो। आन्दोलन, भूमिगत जीवनबाट आएका दलका नेता र कार्यकर्ताहरू कुटनीति र प्रशासनमा अनुभवी थिएनन्। त्यसैले उनीहरू साविककै कर्मचारीतन्त्रको भर पर्न बाध्य भए। लोकतन्त्र आएर पनि जनताले परिवर्तनको आभास पाउन नसक्नुको एउटा मुख्य कारण कर्मचारीतन्त्र उही हुनु हो। नेताहरूलाई आफू कार्यकारी भूमिकामा पुगेपछि परिवर्तन भयो भन्ने पऱ्यो तर कर्मचारीतन्त्र उही राणाकालीन सोच र शैलीमै काम गरिरह्यो।
पुस्तकमा माओवादी युद्धबारे उतिबेलै जे-जस्ता कुरा प्रचारमा आएका थिए तिनै कुरा दोहोरिएका रहेछन्। जस्तै- भारतको दोहोरो भूमिका (माओवादीसँग भारतमा सम्पर्क र सेल्टर दिने र नेपाल सरकारलाई हतियार पनि बेच्ने), होलेरीमा सेना परिचालनमा राजाको अनिच्छा, प्रहरी सरकारउन्मुख, सेना राजाउन्मुख। जे होस् माओवादीलाई हतियार बनाएर राजाले सरकारलाइ ठिक पार्ने दाउ, एमालेले कांग्रेस र कांग्रेसले एमाले ठिक पार्ने दाउ र भारतले नेपाललाई कमजोर बनाउने दाउमा भारत नै सबैभन्दा सफल भएको देखिन्छ।
संस्मरणको अन्त्यतिर भारतसँगको सम्बन्धबारे लेखकले यथार्थ र निर्मम विश्लेषण गरेका छन्। दलका नेताहरू कति लाचार, लोभी र स्वार्थमा गिरेका छन् र भारतले त्यसैसाई भऱ्याङ बनाएर नेपालको व्यावहारिक र नीतिगत दोहन कति गरेको छ भन्ने प्रस्ट पारेका छन्।
समग्ररूपमा भारतको हेपाहा प्रवृतिजस्तो बुझिएको थियो, त्यस्तै प्रस्तुत गरेका छन् लेखकले। तर त्यसको दोष चाहिं नेपालकै राजनीतिक नेतृत्वकै बढी देखिन्छ। उनीहरू स्वेच्छाचारी छन्, कुनै अनुशासन छैन। राज्य सञ्चालनमा गम्भीरता छैन, राष्ट्रप्रति इमान्दारी र जिम्मेवारी बोध पनि छैन। पार्टीभित्रको विवाद मिलाउन पनि भारत जान्छन्, अर्को पार्टीलाई ठिक पार्न पनि भारत जान्छन्। भारत जाँदा त सबै पार्टीको एउटै एजेन्डा लिएर मात्र जानु पर्ने होइन? यो सब परिस्थितिको फाइदा भारतीयहरूले प्रचुर मात्रामा लिइरहेका छन्, लिइरहने छन्।
माओवादी आन्दोलनप्रति भारतको दोहोरो भूमिका र भुटानी शरणार्थीबारेको अडानले नेपाललाई परेको मर्काबारे पढ्दा मन आक्रोशित हुन्छ। कुनैदिन त नेपाल स्थापित होला, भारतसँग कुटनैतिक र विश्वस्तरमा बराबरी गर्ला, त्यतिबेला हिसाब पनि बराबर गर्नु पर्छ।
चुच्चे नक्शाबारे पनि उल्लेख रहेछ। त्यो विषय उठानै गर्न नसक्ने गरी सकिएको छ, नेपालले त्यो भूभाग गुमायो भन्ने लागेको थियो। केही सम्भावना बाँकी रहेछ, आशावादी हुने ठाउँ रहेछ झैं लाग्यो। यो विषयमा राजनैतिक नेतृत्ववृत्तबाट इच्छाशक्ति नभएकोले स्टन्टबाजी भैरहेछ भन्ने चाहिं थाहा थियो। कुनै दिन सही राष्ट्रवादी टेबलमा पुगे भने त्यो मुद्दा किनारा लाग्ला भनेर आशावादी हुने ठाउँ रहेछ। यो कुरा सही हो कि भारत नेपाली जनमतलाई पाच्य नहुने क्रियाकलाप गरिरहन्छ र नेपाली जनमत उसकाे पक्षमा होस् भन्ने पनि चाहन्छ। संसारको सबैभन्दा ठूलो कहलिएको प्रजातन्त्रको नेपालबाट यो कस्तो अपेक्षा हो?
‘हिजो हामी सद्भावनाका पात्र थियौं आज दयाका पात्र भएका छौं’ भारतसँगकाे सम्बन्धबारे लेखिएको यो भनाइ यथार्थवादी र मार्मिक लाग्यो भने अर्कोतिर हालको नेपालको संविधान बनिरहँदा भारतबाट आएको चर्को दवावबारे पुस्तकमा कतै केही उल्लेख नहुनु त्यतिका वर्ष भारतको राजदूत रहेका र नेपालको तर्फबाट विज्ञ समूहका संयोजक रहेका लेखकको कमजोरी हो भन्ने लाग्यो।
अर्कोतिर फेरि भारतका आफ्नै राजनैतिक यथार्थताहरू छन्, बाहिर जति टेक्नोलोजी र सबैभन्दा ठूलो प्रजातन्त्रको हौवा फैलिए पनि नेपालको जनसंख्याभन्दा बढी भारतमा घरविहीनहरूको जनसंख्या छ, जातीय र धार्मिक द्वेष विकराल छ। उसका चुनौती पनि चानचुने छैनन्। तिनै चुनौतीहरूको सामना गर्न भारतीय राजनीतिज्ञहरू आन्तरिक र बाह्य तिकडम गरिरहन्छन्, भौगोलिक र सांस्कृतिक निकटताले गर्दा नेपाल त्यसको भुंग्रोमा परिरहन्छ।
दरबार हत्याकान्डबारे हामीलाई जेजस्तो अन्यौल र कन्फ्युजन थियो, त्यो समयमा भारतीय राजदूत भइ दिल्लीमा बसिरहेका लेखकको पनि उस्तै रहेछ। मलाई त्यो दिन वाशिङ्टनडिसीमा भएका मित्रले बिहानको साढे नौ बजे फोन गरेर दरबारमा हत्याकान्ड भएछ, अरू केही डिटेल था छैन भनेर सुनाएको थियो। राजदूत पदमा आसिन लेखकको पनि लगभग उस्तै अवस्था रहेछ। सरकारी संयन्त्र लगभग कोल्याप्स भएको अवस्था रहेछ। लेखकको दीपेन्द्रसँग भएको चिनजान र दीपेन्द्रको व्यक्तित्वको जानकारीको आधारमा उनै दीपेन्द्रले नै घटना घटाएको हो भन्नेतर्फ ज्यादा ढल्किएको देखिन्छ।
पुस्तकको सार यस्तो छ- राजा महेन्द्र राज्य सञ्चालनमा सिंहदरबारमा भर पर्थे, त्यहाँको पुरै टिम उनी आफैले बनाएका थिए। राजा महेन्द्रसँग देश बनाउने, भारतीय पञ्जाबाट उम्किने गहिरो चाहना थियो र त्यसकाे निम्ति ठोस टिम खडा गरेर ठोस योजनामा दृढताका साथ काम गरिरहेका थिए। राजा महेन्द्रको मृत्युपछि अमेरिकामा पढेका र अमेरिकी ह्वाइट हाउसको ढाँचामा दरबारबाट शासन गर्ने मनोकांक्षा बोकेका राजा वीरेन्द्रको पालामा राजदरबार र सिंहदरबारबीच दूरी बढ्यो। दरबारियाहरू अति महत्त्वाकांक्षी भएर राज्य सञ्चालनमा अनावश्यक हस्तक्षेप गर्न थाले, कर्मचारीहरूको मनोबल खस्कियो। यो समस्या बढ्दै जाँदा स्थिति राजा वीरेन्द्रको नियन्त्रण बाहिर गयो, फलस्वरूप वीरेन्द्र असफल भए अनि पञ्चायत ढल्यो।
यो पुस्तक पढेर राजा महेन्द्रप्रति सम्मान बढ्छ तर राजा वीरेन्द्र परिस्थिति आफ्नो नियन्त्रणमा लिएर राज्य सञ्चालन गर्ने कौशल नभएका राजा रहेछन् भन्ने भाव आउँछ। बेलायत र अमेरिका पढेका राजा वीरेन्द्र अति ढुलमुले, आफ्नो निर्णय लिन नसक्ने, क्षमतावान मान्छे चिन्न नसक्ने र नजिककाले सजिलै प्रयोग गर्न सक्ने खाले रहेछन् भन्ने लाग्छ। महेन्द्र खासमा उदारवादी र वीरेन्द्र अनुदारवादी हुन् भन्ने लेखकको अनुभव रहेको छ। हामीले राजा वीरेन्द्रको शासनकालमा सुनेका राजा वीरेन्द्र कमजोर छन्, खास शासन त पम्फा देवी र भूमिगत गिरोहले गर्छ भन्ने कन्स्पिरेसी थ्योरीमा केही सत्यता रहेछ कि झैं लाग्यो।
लेखकले लेखेका छन् कि ‘एरिका एण्ड द किंग’ दरबारको कथा हो, नेपालको हैन। मैले पनि एरिका एण्ड द किंग अत्यधिक रुचिपूर्वक पढेको हुँ र लेखककै विचारसँग सहमत छु। त्यस्तै, मलाई राष्ट्र परराष्ट्र कठिन र राजनैतिक रूपले संक्रमणमा रहेको, राष्ट्रको रूपमा स्थापित हुन खोजिरहेको र देशको निकै क्रिटिकल मोडहरूको साक्षी बस्ने अवसर पाएको नेपालको एउटा सचेत र कुलीन नागरिकको कथा लाग्यो। लेखक ७ वर्षकाे उमेरमा विसं १९९९ को हाराहारी पढ्नको लागि लमजुङबाट काठमाडाैं आएको देखिन्छ। बिए अनर्स कलकत्ताबाट गरेका र अमेरिकामा पिएचडी गर्दागर्दै राजदरबारको टेलिग्राम पाएर २४ वर्षको उमेरमा योजना आयोगको सचिवमा नियुक्ति लिएर नेपाल फर्केका लेखकको कथा पठनीय र रुचिकर दुवै छ।
अन्त्यमा, यो पुस्तक पढेर धेरै पाठकलाई धेरैखाले विचार आए होलान्। म नोस्टाल्जिक भएँ, फ्ल्यासब्याकमा गएँ। फेरि पनि के कुरामा जोड दिन्छु भनें देशको तत्कालीन अवस्थाप्रति लेखकको कुनै जिम्मेवारी रहँदैन, एक व्यक्तिले सिंगो देश उचाल्न सम्भव हुन्न। राजाले पनि चाहेको गतिमा काम गर्न नसकिरहेको अवस्था थियो। कुनै एक्लो व्यक्तिले यो गर्न सक्ने कुरै हुँदैन। यो लेखमा यदि कतै आलोचनाको छनक आउँछ भने त्यो प्रणालीकाे आलोचना हो, लेखकको होइन।
लेखकले जस्तो पुस्तक लेख्नु भएको छ र पुस्तकको पछाडि जस्तो जीवन बाँच्नु भएको छ, त्यो कुनै पनि व्यक्तिको लागि गर्वको विषय हो। लेखकले यो उमेरमा आएर यतिको जाँगर नदेखाएको भए समयको लागि न्याय हुँदैनथ्यो। हामीले यो दस्तावेज पढ्न पाउने थिएनौं। लेखक धन्यवाद र बधाईका पात्र छन्।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































