
विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ रामकुमारी झाँक्री आफ्नै पार्टी(एकीकृत समाजवादी) नेकपा एसको महिला उपाध्यक्षमा पराजित भएपछि हारका कारणको खोजी हुन थालेका छन्। केन्द्रीय सदस्यहरुको मनोनयन हुँदै गर्दा पार्टीको महासचिव बनेर पार्टी र संगठनलाई बलियो बनाउने दावी गर्दै हिँडेकी झाँक्री अहिले महिला उपाध्यक्ष पदमा जयन्ती राईसँग ७७ मतले हार्न पुगिन्।
राईले १८९ मत ल्याउँदा झाक्रीलाई ११२ केन्द्रीय सदस्यले मत दिए। ३४४ सदस्यीय केन्द्रीय सदस्यमा २२ जना मतदानमा अनुपस्थित थिए। राजनीतिमा चर्चा कमाएपनि पार्टीका केन्द्रीय सदस्यको मतले निर्वाचित हुनुपर्ने भएकाले झाँक्रीले हार्नुपरेको विश्लेषण भएका छन्। झाँक्री संस्थापन समूहकी भनिएपनि पछिल्लो समय महासचिव घनश्याम भूसालसँग पनि निकटता बढ्दै गएको थियो।
महासचिव घनश्याम भूसाल गुटबाट नाम काटिएपछि उनि अध्यक्ष नेपाल समूहबाट चुनावी मैदानमा थिइन्। भूसालले जयन्ती राईलाई आफ्नो टिममा राखेका थिए। पार्टीमा महासचिव भुसाल भन्दा अध्यक्ष नेपालकै पकड बलियो भएपनि उनको गुट प्रष्ट हुन नसक्दा पनि त्यसको असर मतमा परेको हुन सक्ने केन्द्रीय सदस्यहरु बताउँछन्।
सञ्चार माध्ययमहरुमा समसामयिक विषयमा आवाज उठाउने झाँक्री सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छन्।
उनको यस प्रकारको उपस्थिती र चर्चा देखिदा पार्टी उपाध्यक्षमा पनि उनको सहज जित हुने अनुमान थियो। तर केन्द्रीय सदस्यहरुको मत परिणामले भने झाँक्रीलाई पार्टी नेतृत्वको भूमिकामा देख्न नखोजेको प्रष्ट भयो। केन्द्रीय सदस्यहरु मात्रै नभई पार्टीका धेरैजसो शीर्ष नेताहरुले पनि झाँक्रीलाई हराउन खोजेको नेकपा एसका एक नेता बताउँछन्।
उपाध्यक्ष जितेकी नेतृ राई झाँक्रीको तुलनामा कम सक्रिय देखिन्छिन्। यद्यपी उनी संगठनमा केन्द्रित हुँदै आएको र राजनीतिमा परिवक्क व्यवहार देखाउने पनि नेताहरु दाबी गर्छन्। राईलाई लक्षित गर्दै एक नेताले भने,‘यस्तो टिप्पणी गर्दै गर्दा मान हानी नहोस् तर नेतृ राई शीर्ष नेताको आदेश पालना गर्नुहुन्छ।’ उनले थपे,‘झाँक्रीको तुलनामा केहि भद्र र शान्त प्रकृतिकी भएकी कारण पनि जयन्ती राईलाई रुचाइएको हुन सक्छ।’
राई नेकपा एसको उपाध्यक्षमा दोहोरिएकी हुन् भने झाँक्री यसअघि सचिव पदमा थिइन्। झाँक्री पार्टीको सचिव पदमा रहँदै गर्दा पनि पार्टीको विरोध गर्दै हिड्दा त्यसको असर अहिले देखिएको हो भन्नेहरुमा पनि छन्। यसको पुष्टि नेकपा एसकै नेताले पनि गरेका छन्।
एक नेताले देश सञ्चारसँग भने,‘झाँक्री आफूलाई लागेको कुराहरु खुलस्त बोल्नुहुन्छ,पार्टी विरुद्धका एजेन्डा, सुधार गर्नुपर्ने मुद्धाहरु पनि राख्नुहुन्छ यसको असर अहिले निर्वाचनमा देखिएको हुन सक्छ।’ त्यसको त झाँक्री पूर्ववर्ती पार्टी नेकपा एमालेमा फर्किने चर्चा बेलाबखत चलिरहन्छ। झाँक्री नेकपा एसमा भएपनि उनको मन र मस्तिष्क भने एमालेमै भएको भनेर पनि टिप्पणी हुन्छन्।
राई चार दशकदेखि राजनीतिमा छिन्। राष्ट्रिय सभाको २०७८ सालमा भएको चुनावमा राई प्रदेश १मा महिला सदस्यमा निर्वाचित भएकी हुन्। राईले एमालेकी सुमित्रा भण्डारीलाई पराजित गरेकी थिइन्। राई अहिले राष्ट्रियसभा अन्र्तगत विधायन व्यवस्थापन समितिको नेतृत्वमा छिन्। समितिमा पनि उनको भूमिका प्रभावकारी रहेको टिप्पणी हुँदै आएको छ।
झाँक्री अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष निर्वाचित हुने पहिलो महिला हुन्। उनि २०६२/६३ सालको दोस्रो जनआन्दोलनमा अग्रपन्तीमा देखिएकी थिइन्। त्यसो त राजनीतिमा लागेको छोटो समयमै झाँक्रीले पाएको चर्चाले नेकपा एसका शीर्ष नेताहरुमा उनलाई सहयोग गर्न भन्दा पनि प्रतिस्पर्धी भाव पैदा भएको देखिन्छ।
एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्य जितेकी उनि २०७४ सालको प्रतिनिधि सभामा समानुपातिक सांसद बनेकी थिइन्। उनि शहरी विकास मन्त्री बनेकी थिइन्। गत आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा पराजित भएकी हुन्। यी पृष्ठभूमीसँगै नेकपा एसको गठन हुँदा झाँक्रीको भूमिकालाई धेरैले सम्झिने गरेका छन्।
एमालेको विवाद चरम उत्कर्षमा पुगेर माधव नेपालले पार्टी फुटाउँदा रामकुमारी पनि दल दर्ताको लागि निर्वाचन आयोग पुगेकी थिइन्। आयोगमा नेपाललाई पत्रकारले घेर्न खोज्दा झाँक्रीले नेपालको हात समातेर अघि बढेकी थिइन्। पार्टी स्थापनाका सन्र्दभमा चर्चित बनेकी झाँक्री अहिले उपाध्यक्षमा पराजित हुँदा उत्तिकै चासोका रुपमा लिइएको छ।
झाँक्रीले उपाध्यक्ष हारेपछि मात्र नभई मतदान अघि पनि यो प्रतिस्पर्धालाई चासोका साथ हेरिएको थियो। अध्यक्ष नेपाल र महासचिव भूसाल समूहबीच प्रतिस्पर्धा भएको मतदानमा रामकुमारी एकपटक दुवैतर्फका उम्मेदवार जस्ती पनि देखिएकी थिइन्।
तर महासचिव भूसाल समूहले आफ्नो समूहमा जयन्तीलाई राखेपछि झाँक्रीको नाम अध्यक्ष नेपाल समूहले चिटमा राखेरै बाँड्दा पनि झाँक्रीले चुनाव जित्न सकिनन्। किनकी झाँक्री भूसाल नजिक मानिँदै आएको थियो भने जयन्ती लामो समयदेखि अध्यक्ष नेपाललाई साथ दिंदै आएकी नेतृ हुन्। तर फरक समूहको सूचीमा रहँदै झाँक्री पराजित भईन् भने जयन्तीले जितिन्।
उपाध्यक्षहरुमा गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी, प्रकाश ज्वाला र राई विजयी भएका हुन्। तुलाधर १८९, खतिवडा १५१, ज्वाला १४५ र भानुभक्त जोशी १५६ मत ल्याएर विजयी भएका हुन्। यस्तै उपाध्यक्ष मधेशी कलस्टरमा धर्मनाथप्रसाद साह विजयी भए। उनले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मत प्राप्त गरे।
उपमहासचिवमा मेटमणि चौधरीले १५८ मतसहित विजयी भए। रामकुमार खड्का र गरिमा शाहले समान १०७ मत ल्याउँदा राजेन्द्र राईले १०६ मत प्राप्त गरे। सचिवमा श्रीनाथ बराल, शेरबहादुर कुँवर,चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, र सावित्री कुमारी भूसाल बिजयी भएका छन्।