
अ
+
अ
अ
-
पोखरा- भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयमा फेरबदल भएपछि राजीव गुरुङ (दीपक मनाङे) असन्तृष्ट बनेका छन् ।
सोमबार गण्डकीमा नेकपा एमालेका ४ मन्त्री थपिएसँगै मनाङेको शक्तिशाली भौतिक पूर्वाधार मन्त्रालय खोसिएको हो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी कास्कीका प्रकाशबहादुर केसीले पाएका छन् ।
उद्योग पर्यटन, वन तथा वातावरण वन वातावरण, पर्यटन तथा उद्योग मन्त्रालयलाई टुक्राएर दुई मन्त्रालय बनाइएको हो ।
उद्योग तथा पर्यटन र वन तथा वातावरण दुई छुट्टाछुट्टै मन्त्रालय बनाइएको छ । टुक्रिएको वन तथा वातावरण मन्त्रालय पाएपछि मनाङेले असन्तृष्टि जनाएका छन् ।
थपिएका मन्त्रीको सपथ ग्रहणबाट रिसाएर निस्किएका उनले ‘जुनियरलाई दिने मन्त्रालय’, भनेका थिए ।
त्यसपछि उनको भागमा परेको मन्त्रालयको पदभार ग्रहण गर्न मनाङे पुगेका छन् । ‘मन्त्रीज्यु अहिले क्वार्टरमा हुनुहुन्छ । मुख्यमन्त्रीज्युसँग संवाद भइरहेको छ’, मनाङेको सचिवालयले जानकारी दियो ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका मनाङेले जेठ २९ गते गण्डकीको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका थिए । उनी छैठौं पटक मन्त्री बनेका हुन् ।
मनाङे पहिलो पटक २०७८ बैशाख १६ गते मन्त्री बनेका थिए । तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर मनाङेलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका थिए । त्यतिखेर उनी १० दिनमात्रै सत्तामा रहे । बैशाख २६ मा तत्कालिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि मनाङे स्वतः मन्त्री पदबाट हट्नुपर्यो। सत्ता फेरबदलमा पटक पटक मन्त्री बन्ने अवसर पाएका मनाङेलाई पछिल्लो पटक मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत ५ गते भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री बनाएका थिए । त्यसपछि बनेको नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा पनि भौतिक मन्त्रालयमै निरन्तरता पाए ।
सर्वोच्चको परमादेशले खगराजको सरकार ढलेर सुरेन्द्रको सरकार बनेपछि विश्वासको मत दिएका मनाङेलाई भौतिक मन्त्रालयकै जिम्म दिइयो । अहिले एमाले सरकारमा समावेश भएसँगै उनको मन्त्रालय खोसिएको हो ।