
डाकार- लोकतान्त्रिक गणतन्त्र कङ्गोमा एक जेल फोडर भाग्ने प्रयासमा १२९ जनाको मृत्यु भएको छ । सरकारले दिएको जानकारी अनुसार मृत्यु हुनेमा अधिकांस कैदीबन्दीहरु रहेको जनाइएको छ। उक्त घटनाको गम्भिर अनुसन्धान गरेर दोषीमाथि कारवाही गर्ने सरकारले जनाएको छ।
आन्तरिक मन्त्री ज्याकेमैन शाबानी लुकोले अधिकांशको मृत्यु भगदौडमा भएको र जसमध्ये २४ जनालाई गोली लागेर मृत्यु भएको जानकारी दिए। सुरक्षाकर्मीको चेतावनीका बाबजुत कङ्गोको सबैभन्दा ठूलो जेलबाट भाग्ने प्रयास गर्दा सुरक्षाकर्मीले फायरिङ गरेको थियो।
जसका कारण भागदौड हुँदा ठुलो हताहती भएको हो। जेल फोडेर भाग्ने प्रयासमा ५९ जना घाइते भएका थिए। राजधानी स्थित किन्सासा मकाला जेल फोडेर भाग्दा उक्त हताहती भएको हो। उक्त घटनामा केही महिलाहरु बलात्कृत भएको जनाइएको छ। मानवियका साथै भौतिक क्षती भएको सरकारले जनाएको छ। जसमा प्रशासनिक भवनहरू, अस्पताल, र खाद्यान्न भण्डारण गृहहरू सबै आगलागीले नष्ट भएका छन्।
भाग्ने प्रयासको क्रममा खिचिएका भिडियोहरूमा जेलबाट धुवाँको मुस्लो निस्किरहेको र आंशिक रूपमा कपडा लगाएका पुरुषहरूको मृत शरीरहरू जमिनमा छरिएको देखिएको अधिकारीहरुले जनाएका छन्। न्यायमन्त्री कन्स्टन्ट मुताम्बाले यो भाग्ने प्रयासलाई ‘पूर्वनियोजित र विध्वंसात्मक कार्य’ भन्दै दोषीहरूमाथि कडा कारवाही गर्ने चेतावनी दिए। उनले एक विज्ञप्तिमा कङ्गोका जेलहरूमा भीड घटाउने प्रयासलाई थप तीव्र पारिने पनि बताए ।
गत वर्ष एम्नेस्टी इन्टरनेशनलले जारी गरेको एक रिपोर्ट अनुसार करिब १,५०० जनाको क्षमता भएको मकालामा जेलमा १२,००० भन्दा बढी कैदीहरू कोचिएर राखिएको छ। जसमा ७० प्रतिशतभन्दा बढीको मुद्दा किनारा लाग्ननै बाँकी रहेको थियो।
एम्नेस्टीको रिपोर्टमा देशभरका जेलहरूमा बन्दीहरू पिउने पानी र औषधिको अभावमा पीडित भइरहेको जनाएका छन्। सन् २०१७ मा पनि ४,००० भन्दा बढी कैदीहरू भागेका थिए। त्यतिबेला एक क्रिश्चियन संप्रदायका सदस्यहरूले आफ्नो समूहका नेतालाई मुक्त गर्न जेलमा आक्रमण गरेपछि भागेका थिए।