
काठमाडौं- नेपाली खेलकुद इतिहासमै पहिलो पटक ओलम्पिक पदक जित्न सफल पारा ओलम्पिक खेलाडी पलेशा गोवर्धन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी छन्। बुधबार बिहान स्वदेश टेकेकी पलेशालाई राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नगर परिक्रमा गराउने कार्यक्रम रहेको छ।
पलेशाकाे सम्मानमा बाजागाजासहितको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको छ। अब केही समयपछि नगरपरिक्रमा सुरु हुने छ। राखेपले उनीसहित नेपाली टोलीलाई भव्य स्वागतसहित नगरपरिक्रमा गराउने जनाएको छ।
र्याली एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुर्याइने जनाइएको छ। राखेपमा उनलाई स्वागत तथा उनको अन्तरक्रिया कार्यक्रमसमेत राखिएको छ।
पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले के ४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजी मुनि सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गर्दै कास्य पदक जितेकी थिइन्।
सन् १९६४ को टोकियो ओलम्पिकदेखि ओलम्पिकमा तथा सन् २००४ को एथेन्स पारालिम्पिकदेखि नेपालले पारा ओलम्पिकमा सहभागिता जनाउँदै आएको थियो।
तस्बिरहरू: