मिस नेपाल विजेताहरू प्राय मिस वर्ल्ड यात्रातिर निस्किन्छन्। त्यहाँ पुगेर फर्किनेहरू मध्ये धेरै त हराउँछन् कि मिडियाबाट नै बेखबर हुन्छन्। तर केही मिस नेपालहरू भने स्वदेशमै बसेर ‘विजनेश’मा रमाइरहेका छन्। यस्तै पात्रमा पर्छिन्- सन् २०१९ कि मिस नेपाल अनुष्का श्रेष्ठ।
‘माक्कुसे’ अर्थात मिठाई पसल
राजधानीको पानीपोखरीस्थित ‘माक्कुसे’मा भेटिन्छिन् अचेल अनुष्का। ‘डेजर्ट’ बनाउने घरेलु ब्रान्ड ‘माक्कुसे’ले काभ्रेको ताजा खुवा ल्याएर मिठाइको ‘भेराइटी’ अर्थात गुदपाक र पुष्टकारी बनाउँछ।
उद्यमशीलतामा ‘करिअर’ खोजेकी माक्कुसेलाई ‘ब्राण्ड’ बनाउन लागिपरेकी छन् उनी। ‘विगत चार वर्ष यता मेरो दैनिकी माक्कुसेमै बितेको छ’, उनले भनिन्।
पसल चल्न थाले यता दैनिक कसै न कसैसँग भेटघाट गरिरहन्छिन् उनी। आफूलाई ‘समाज-मैत्री’ हुन खोजेको बताउँछिन्। ‘अहिले म साथीभाइलाई समय दिइरहेको छु,’ उनले माक्कुसे चलाए यताको अनुभव सुनाइन्, ‘पसल राखेपछि त्यसको बजार बुझ्नु पर्ने र प्रतिक्रिया सुन्न पनि मन लाग्ने हुँदा साथीहरू भेट्ने क्रम बढाएको छु।’
बितेको चार वर्षको अनुभवलाई अभ्यासको रुपमा लिँदै आएको बताउने अनुष्काका लागि हरेक काम किताबमा भएको पाठभन्दा बढी प्रभावकारी हुन्छ।
सिन्धुपाल्चोकको एक प्रोजेक्टको काम, स्नाकोत्तरको पढाइ र माक्कुसेलाई थप आकर्षक बनाउन लागि परेकी अनुष्काका लागि समाजिक सिकाइबिना काम गर्न असहज छ।
नेपालको सन्दर्भमा कुनै सामानलाई ‘ब्राण्ड’ बनाउन निकै चुनौती छ नै। बाह्य देशका ‘एक से एक ब्राण्ड’ले नेपाली बजारमा छाइरहेको बेला माक्कुसे स्थापना गर्नु फलामको चिउरा चपाए जत्तिएको थियो उनका लागि। भन्छिन्, ‘माकुस्सेले कुनै नराम्रो कुरा बट्टामा मात्रै हालेको भए यो चार वर्ष बित्दैनथ्यो होला। नेपाली ‘आइडेन्टी’ बनाउन सकिन्थेन होला।’
माक्कुसेलाई स्थापित गर्न मिस नेपालको ‘प्लेटफर्म’को ठूलो भूमिका रहेको बताउँछिन् उनी। अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट स्नातक गरेकी २८ वर्षीय अनुष्काले हाल स्नाकोत्तरको तयारी गरिरहेकी छन्। उनी अष्ट्रेलिया छँदै कमनवेल्थ बैंक अफ अष्ट्रेलियामा जागिर पनि खाएकी थिइन्। नेपालमा केही गर्ने सोचका साथ स्वदेश फर्किएकी अनुष्काले पहिलो खुट्किलो मिस नेपालको मञ्चलाई बनाएकी थिइन्।
सौन्दर्य प्रतियोगितामा सहभागी जनाउँदादेखि नै केही बिजनेस गर्ने उनको सोचले जन्माएको थियो- माक्कुसे।
प्राय:मिस नेपाल भएकाहरू ग्ल्यामरकै दुनियाँमा रमाइरहन्छन् तर उनी उद्यमशीलतातिर लागिन्। घरेलु ब्राण्ड माक्कुसेलाई खोल्नु अगाडि उद्योग-व्यापारतिर लाग्छु भन्ने त्यस्तो योजना पनि थिएन उनीसँग। न त माक्कुसेले उत्पादन गर्ने परिकारलाई अन्तर्राष्ट्रिय ब्राण्डिङ गर्ने सोचनै थियो। भन्छिन्, ‘म अष्ट्रेलियामा हुँदादेखि नै नेपालमा बसेर काम गर्ने सोच आएको थियो तर के गर्ने भन्ने थिएन। आफूले सिकेको जानेको कामलाई कही न कही जा्ेड्नुपर्छ भन्ने भयो र नेपाली मौलिकतासँग गासिएको गुदपाक पुष्टकारी बनाउन थालियो।’
घरेलुमा दर्ता गरेर २५ लाखबाट सुरु गरिएको माक्कुसेमा अहिले ४० जनाले काम गर्छन्। दैनिक १ सय किलो पुष्टकारी र गुदपाक उत्पादन गर्दै आएको माक्कुसेलाई सानो दुःखले छोटो समयमा यहाँ आइपुगेको भने होइन।
कोभिड र माक्कुसे
मान्छेको जीवनमा काम गर्दै जाँदा केही न केही समस्या आइपर्छन्। व्यक्तिगत समस्यालाई त जसोतसो पार लगाइहालिन्छ तर प्राकृतिक रुपमा आइपर्ने विपत्तिलाई पार लगाउन एक्लैले चाहेर हुँदैन पनि। सुधारोन्मुखतिर फर्किन समय लाग्छ नै। माक्कुसे स्थापना भएको वर्ष दिन नहुँदै कोभिडका कारण थन्किनु परेको तीतो अनुभव पनि छ उनीसँग।
कोभिडले सारा व्यवसायलाई थला पारेको बेला भर्खर जन्मिएको माक्कुसेलाई पनि असर नपर्ने कुरै भएन। तर कतिपयले गरिरहेको व्यवसायबाट पलायनै भए। तर अनुष्काले हरेश खाइनन्। हामीले कत्ति छिटो कोभिड बिर्सियौं। त्यो मानसिक तनाब, एन्जाइटी, अतालिने, मरिने हो कि बाँचिने। के काम गर्ने। कहाँ जाने? ओहो नबाँचिने हो कि? धेरैले यस्तै नसोचे होलान् भन्न सकिन्न। तर अनुष्काको फरक अनुभव छ- ‘कोभिडको त्रासकाे बारेमा सोच्ने फुर्सदै भएन मलाई किनकि मैले माक्कुसेको बारेमा सोच्न पाएको थिएँ,’ उनले भनिन्, ‘निराशा अर्थात व्यक्तिगत रुपमा अलिकति आत्तिने भएता पनि निकै आशावादी भएर माक्कुसेको बारेमा सोचें। सोचे जत्तिको कदम एक पछि अर्को नबढे पनि अगाडि बढें रोकिन आफूलाई।’
मिस नेपाल ओसियाना- २०१८ समेत रहेकी अनुष्काले ‘नेपालमा रोजगारीको अवसर छैन’ भन्न नमिल्ने बताउने गरेकी थिइन् तर एक्कासी लकडाउन हुँदा धेरैले उनलाई प्रश्न गरे- के सोचेर यस्तोमा हात हाल्यौ? ‘तर मेरो मनमा चाहिँ यो उत्पादन राम्रो हुनुपर्छ भन्ने थियो। त्यसैले अरुतिर ध्यान दिइनँ,’ उनले भनिन्। कामले काम सिकाउँछ भने झैं अनुष्काले आफ्नो काममा आत्मविश्वास बढाएको पहिलो मिस नेपालको मञ्च मान्छिन्।
कोभिडले गर्दा १८ महिना पछाडि पर्दा साथीसर्कलबाट उनलाई अर्को बाटो रोज्न पनि नभनेका होइनन्। तर उनी माक्कुसेलाई अगाडि बढाउन लागिन्। ‘कोभिड समयमा भएकाले केही काम गर्न गाह्रो भयो। कुर्नुको विकल्प भएन। कोभिड सकिएपछि सुरु गरौंला भन्ने नलागेको पनि होइन तर सुरु अचानक गरियो। अहिले सोच्दा लाग्छ-जे भयो राम्रै भयो,’ उनले भनिन्।
माक्कुसे महंगो उत्पादक
माक्कुसेको उत्पादन ‘लग्जरियस’ छ नै। यो उत्पादन कुन वर्गका लागि हो भनेर पनि उनले सोचिनन्। बरु सोचिन्- ‘नेपाली उत्पादन पनि राम्रो र ‘लग्जरियस’ हुन सक्छ।
उनी भन्छिन्, ‘लग्जरी भनेको राम्रो हो कि महंगो हो सोचिएन। केवल राम्रो प्रडक्ट ल्याउनु पर्छ भन्ने भयो। हामीले ‘थ्योरी’मा जागिर खाँदै गएको जस्तो पनि होइन रहेछ। हामीले सबैलाई पस्किएर दिँदा कस्तो ‘रेस्पोन्स’ आउँछ भनेर हेर्यौं। कयौं त्यस्ता ब्राण्ड जो नचलेका छन्। ४ सय जाने चकलेट किराना पसलमा जान्छ भने ४-५ सय जाने किन जाँदैन। सबैको हातमा फोन देख्नु हुन्छ नि। एटलिस २० हजारभन्दा माथि पर्छ ती फोन। रेमिट्यान्स इकोनोमीले देश धानिरहेको अवस्थामा त पचास हजारको मोबाइल चलाइन्छ भने एउटा ५-६ सय पर्ने मिठाई किन नचल्ला भन्ने लागेर लागियो। हरेश खाइएन।’
लग्जरी भनेको आकर्षित हो कि क्वालिटी हो ? सुरुवातीमा उनी यो प्रश्नमाथि स्पष्ट थिइनन्। उनका लागि मान्छेहरू समान मूल्य र मान्यताका हुन्छन्। विचार र सोच फरक होला तर दैनिक जीवनमा प्रयोगमा ल्याउने समान उस्तै-उस्तै नै हुन्छन्। कुनै बैंकमा जागिर खानेले वा गाडी चढ्नेले मात्रै महंगो मिठाईको उपभोग गर्छन् भन्ने अहिले कहाँ रह्यो र?
उनका अनुसार ‘क्याटवरी’ वा ‘डेरीमिल्क’ जस्ता चकलेट चल्छन् र टिकेको पनि छ। सामान्य किराना पसलमा बिकिरहेका छन्। यो सामान यो वर्गका लागि हो है भन्ने समय रहेन भन्ने लाग्छ उनलाई।
‘अब यो ‘क्लास’को मान्छेलाई भनेर उत्पादन गरेको भए आज हामी यो समय कटाउन सक्थ्यौं नि कि भन्ने लाग्छ। अहिले ६ सय ५० को गुदपाक पुष्टकारी पर्छ।’
‘अहिले हामी बाहिर कफी सपमा बसेर यत्तिको खर्चमा कफी खान्छौं भने पुष्टकारी पनि खान सक्छौं होला नि। चकलेट किन्ने त भइसक्यौं त। त्यहीँ च्वाइसमा नेपाली सामान भएपछि सस्तै हुनुपर्छ। गुणस्तर डाउन हुनुपर्छ भन्ने छ र ?,’ उनले भनिन्।
आजको समयमा केही नेपालीलाई विदेश पानी पँधेरो जस्तो भएको छ। विदेशबाट आउँदा चकलेट लिएर आउन सक्छन् भने नेपालबाट जाँदा पनि त नेपाली ब्राण्डको क्वालिटी हेरेर चकलेट किन्न सक्छन्। लैजान सक्छन्।
नेपालमा भने राम्रो उत्पादन भएन, क्वालिटीको भएन भनिन्छ। तर अनुष्का नेपालमा राम्रो उत्पादन भएको बताउँछिन्। उनी ‘पस्मिना’ र ‘यार्सागुम्बा’ नेपालमा उत्पादन हुन्छन् र पनि त्यसको मूल्यांकन हुन सकेन।
यहाँ सस्तोमा उठाएर विदेशमा ‘लाइट’ र ‘कलर’ हालेर नेपालकै बजारमा बेच्ने वितरणहरूलाई उनी अनुरोध गर्छिन्, ‘यहाँबाट कुनै वितरकले कुनै किसानको कच्चा माल लैजानुहुन्छ भने केही ‘सर्टअन प्रसेन्ट शेयर’ दिनुपर्छ’
ब्राण्ड नै बाहिरबाट सिर्जना गरेर आउनु पर्ने तितो यथार्थ छ नेपालमा। बाहिरी ब्राण्डले एकछत्र राज गरेको पनि छ। नेपालमा ब्राण्ड बन्न वर्षौं लाग्ने स्थिति पनि छ। उनी भन्छिन्, ‘हामी नेपालीलाई आफ्नो ‘प्रडक्ट एक्सेप्ट’ गर्नै गाह्रो मान्छौं। अनेक शंका गर्छौं। नेपालीमा मात्रै नभएर ‘हुमन नेचर’ नै हो।’
‘कुनै पर्यटकका लागि यस्तो बनाएको हो र नेपालीका लागि यो हो भनेर बजारमा सामान बेचिन्छ। त्यसलाई चाहिँ हाम्रै अभ्यासले तोड्नु पर्छ।’ उनले भनिन्।
मिस सुश्री कि सौन्दर्य प्रतियोगिता
जीवनमा जे गरे पनि सिक्न छोड्नु हुन्न भन्ने मत राख्छिन् उनी। दुई शब्दको मिस नेपालमा पनि उनी गम्भीर हुन्छिन्। जस्तै कि मिस भनेको ‘सुश्री’ हो तर सौन्दर्यसँग जोडियो। तर नेपालको सन्दर्भमा मिस नेपाललाई उनी यसो भन्छिन्, ‘नेपालको सन्दर्भमा हेर्ने हो भने सौन्दर्य धेरै कम छ। प्रश्न के सोधिन्छ भने- तपाईंले समाजका लागि के गर्नुहुन्छ। आइ थिङ्क नेपालका लागि के गर्नु भयो? तपाईं त मिस नेपाल हो नि भन्छन्। यो त कुनै जनप्रतिनिधिलाई सोध्नु पर्ने प्रश्नजस्तो भएन र?’
यति हुँदाहुँदै पनि उनी मिस नेपालको मञ्चलाई धन्यवाद दिन्छिन्, ‘अष्ट्रेलियाबाट फर्किने पहिलो आधार मेरो लागि मिस नेपालको मञ्च नै थियो।’
कुनै पनि काम गर्दा व्यक्तिगत रुपमा आफूलाई स्पष्ट पार्दै लैजानु पर्ने बताउँछिन्। अर्थात सार्थकता दिन सक्नुपर्ने छ। कामले पनि आफूलाई ‘म्याच’ गर्नुपर्छ।
मिस वर्ल्ड २०१९ को उत्कृष्ट १२ हुन सफलक अनुष्का भन्छिन्, ‘आफूले गरेको काम आफूलाई म्याच पनि होस् र समाजका लागि पनि योगदान। नत्र मनमा लाग्छ- नेपालको झण्डा उठाएर सकियो त। यत्रो हाइट कहाँबाट बिसाउने त?’
मिस नेपाल हराएका छैनन्
मिस नेपाल केही न केही गरिरहन्छन् तर सबै मिस नेपालहरू मिडियामा आउँदैनन् या आउन चाहँदैनन्। मिडियामा आएनन् भनेर हराइहालेको भन्न चाहिँ नमिल्ने बताउँछिन् उनी।
‘मलाई चिन्ने आफन्तीहरू भनिरहनुहुन्थ्यो-खै त तिमीले केही पनि गरेकी देखिन्नौं। जे गरे पनि खै त ? भन्ने प्रश्न आउँथ्यो। मिडियामा देखा परेपछि मात्रै केही गरेको झै लाग्दोरहेछ सायद।’ उनले आफ्नो अनुभव सुनाइन्।
अनुष्काका लागि आफूले पाएको ताजलाई केही न केही काम गरिरहनु पर्छ भन्ने लाग्छ। उनले भनिन्, ‘हामीले पाएको मिस नेपालको मञ्च चाहिँ नेपालका सन्दर्भमा पावरफुल मञ्च हो। यहाँबाट विजेता बनेर फर्किएपछि हराउने भन्ने कुरै हुँदैन। सामाजिक कार्यमा कहीँ न कहीँ जोडिनु पर्छ र धेरै मिस नेपालहरु त्यसरी नै काम गरिरहनु भएको छ।’
अनुष्काका अनुसार धेरै मिस नेपालहरू ‘ग्ल्यामर’ र मिडियाबाट टाढा बसेर शिक्षा र समाजका लागि काम गरेको बताउँछिन् उनी। ‘ओझेलमै पर्नु चाहिँ भएको छैन,’ उनले भनिन्, ‘जस्तै कोभिडमा अभिभावक गुमाउनुभएको बालबालिकाका लागि काम गर्ने मिस नेपाल पनि थिए। आफूलाई मेन्टन गर्नका लागि पनि केही न केही गर्नु भएको छ।’
अनुष्काको रुचि र हबी
प्रायः मिस नेपालहरू सिनेमा क्षेत्रमा पनि सक्रिय छन्। फिल्मी दुनियामा स्थापित भएका छन्। तर अनुष्कालाई फिल्म क्षेत्रमा खासै रुचि छैन। ‘म डेडिकेट रुपमा पर्दामा आउँन मन छैन,’ उनी भनिन्, ‘मुभिज सिंगो समाज देखिने क्षेत्रमा काम गर्न रुचाउँछु। हुन त अहिले सिनेमा र म्युजिक भिडियो पनि अत्यन्तै राम्रो बनेको छ। नेपाल घुम्न मन छ र नेपालको बारेमा जान्ने इच्छा छ।’
उनी पुस्तक पढ्न भने अत्यन्तै रुचाउँछिन्। उनले भनिन्, ‘२०२२ मा सबैभन्दा बढी किताब पढिन्। २२ वटा किताब पढेर सकें। पहिला धेरै पढिन्थ्यो। अहिले वर्षमा २०-२२ किताब सक्छु र ननफिक्सन किताब पढ्न मन लाग्छ।’
अंग्रेजी नेपाली दुवै किताब पढ्न रुचाउँछिन् उनी। दैनिक २० देखि २५ मिनेट पढ्ने र हरेक दिन बिहान ध्यान या योगा गर्ने गर्छिन्।
जीवनमा कुनै व्यक्ति या सेलिब्रेटीलाई उनले प्रेरणाको स्रोत मानिन्। आफ्नो कामलाई नै प्रेरणाको स्रोत मान्न सुझाउँछिन्। उनी भन्छिन्, ‘बाइकलाई किक स्टार्ट गरेको जस्तो हो प्रेरणाको स्रोत। म उहाँको तपाईंको जस्तो कहाँ पो छु। यो त उहाँको कथा हो। उहाँजस्तो म किन हुने। उहाँजस्तो म बन्न सक्दिनँ। त्यसैले प्रेरणा आफ्नो आफैबाट हुनुपर्छ। आफूले गरेको काम फर्किएर हेर्नुपर्छ।’
‘मिस नेपालभन्दा पनि माक्कुसे भनेर चिनेकोमा खुसी लाग्छ। माक्कुसेको हो नि तपाईंभन्दा गज्जब लाग्छ,’ उनले भनिन्, ‘माक्कुसे अहिले पूर्वमिस नेपाल भएर चलेको होइन भन्छिन्, ‘माक्कुसे आफै ब्राण्ड बन्नुपर्छ। चल्नुपर्छ र चल्छ पनि।’
आमाबुवाले आफूलाई बच्चाको नामबाट चिनोस् भन्ने इच्छा राखे झैं उनले आफूलाई माक्कुसेबाट चिनिदिए हुन्थ्यो भन्ने लाग्छ उनलाई। म नरहन सक्छु तर माक्कुसे सय वर्ष पछाडि पनि माक्कुसे रहोस् भन्ने हो।’