
सिमकोट – स्वास्थ्य सेवा कार्यालय मार्फत जिल्ला अस्पतालका लागि आवश्यक पर्ने सामग्री सहयोग गरिएको छ। हेल्पिङ ह्याण्ड कर्णालीले ती सामग्री शनिबार एक कार्यक्रमको आयोजना गरि स्वास्थ्य सेवा कार्यालयलाई सहयोग प्रदान गरेको हो।
अस्पतालका लागि आवश्यक पर्ने बिभिन्न २५ किसिमका सामग्री सहयोग प्राप्त भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए।
जसमा अत्यावश्यक सर्जिकल आईटमका सामग्री रहेको छन्। ती सामग्रीहरु अप्रेशन थ्रेटरका लागि उपयोग हुने उनले बताए। सबै सामग्रीहरु १३४ पिस रहेका छन्। सामग्री उक्त संस्थाका अध्यक्ष दिलबहादुर शाहीले कार्यालय प्रमुखलाई प्रदान गरेका थिए।
स्वास्थ्य संस्थाहरुलाई सहयोग गर्ने नीति अनुसार अस्पतालका लागि यी सामग्री सहयोग गरिएको अध्यक्ष शाहीले बताए। यसअघि पनि उक्त संस्थाले चंखेली गाउँपालिाकका स्वास्थ्य संस्थाहरुलाई सहयोग गर्दै आएको थियो।