काठमाडौँ – राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सभापतिमा एमाले र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा हुने भएको छ। प्रत्येक दुई वर्षमा हुने सभापति हेरफेरका लागि आइतबार भएको उम्मेदवारी दर्तामा एमालेकी तुलसाकुमारी दहाल र एकीकृत समाजवादीकी जयन्ती राईको उम्मेदवारी परेको छ।
दहाल र राईको प्रतिस्पर्धा सत्ता र प्रतिपक्षका रुपमा हुन लागेको हो। दहालको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र एमालेकी भगवती न्यौपाने छिन् भने राईको प्रस्तावकमा समाजवादीका वेदुराम भुसाल र समर्थकमा माओवादी केन्द्रका सुरेश कुमार आले मगर छन्।
दुई वर्षअघि भएको सभापति चयनमा चार दलले एक–एक वटा सभापति लिने सहमति गरेका थिए। तर यसपटक सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा माओवादीका मायाप्रसाद शर्माको मात्रै उम्मेदवारी परेको छ भने विधायन समितिमा भने समाजवादी र एमालेको उम्मेदवारी परेको हो। सभापति चयनका लागि सोमबार बिहान ११ बजे समितिको बैठक बोलाइएको सचिव मनोजकुमार गिरीले जानकारी दिए। दुई दलबीच समझदारी बन्ने सम्भावना कम भएकाले सभापतिका लागि दहाल र राईबीच चुनावी प्रतिस्पर्धा नै हुने निश्चितजस्तै छ।
१५ सदस्यीय समितिमा सभापति चयनका लागि बहुमत अर्थात् आठ जना सदस्यको समर्थन चाहिन्छ। दहाल र राई दुवैलाई आठ सदस्यको समर्थन जुटाउन उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका सांसद मृगेन्द्रकुमार सिंह निर्णायक बनेका छन्। उनले जसलाई समर्थन गर्छन् समितिको सभापति उही चयन हुने अवस्था छ।
समितिमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुंगाना, नारायणदक्त मिश्र, र विष्णुदेवी पुडासैनी छन्। त्यस्तै, एमालेबाट गोपाल भट्टराई, भगवती न्यौपाने र दहाल छन्।
समिति सचिव गिरीका अनुसार जेष्ठ सदस्यका हैसियतमा सिटौलाले सोमबार समितिको सभापतित्व गर्नेछन्। त्यसो हुँदा दहालको पक्षमा मतदान गर्ने कांग्रेस–एमालेका ६ जना मात्रै सांसद हुनेछन्।

जयन्ती राई (बायाँ) र तुलसा दहाल
त्यस्तै, राईको पक्षमा माओवादीका पाँच र समाजवादीका दुई गरी ७ जनाको समर्थन रहने देखिन्छ। समितिमा माओवादीबाट गंगाकुमारी बेल्वासे, तारामान स्वार, नारायणकाजी श्रेष्ठ, राधेश्याम पासवान र सुरेशकुमार आले मगर छन्। समाजवादीका वेदुराम भुसाल र राई आफैँ छिन्।
यदि जसपाका सिंहले समाजवादीकी राईलाई मत दिए भने उनको पक्षमा ८ हुँदा सभापति चयन हुनेछिन्।
अर्कोतर्फ जसपाका सिंहले एमालेकी दहालको पक्षतमा मतदान गरेमा दुवैको पक्षमा सात/सात जना सांसदको समर्थन हुनेछ। त्यस्तो अवस्थामा सभापितका हैसियतले सिटौलाले ‘निर्णायक’ मत दिन पाउँछन्। सत्ता पक्षको उम्मेदवारको हैसियतमा कांग्रेसले संस्थागत रुपमै दहाललाई समर्थन गरेको हुँदा निर्णायक मत दिन पाउँदा सिटौलाले उनलाई नै मत दिनेमा दुविधा छैन।
दुई वर्षअघि एमाले प्रतिपक्षमा हुँदा राष्ट्रियसभाका चार समिति चार दलले एक–एक वटा लिने समझदारी गरेका थिए। त्यही समझदारीअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कांग्रेसकी कमला पन्त सभापति छिन् भने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा सोनाम गेल्जेन शेर्पा सभापति छन्।
रिक्त भएको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिमा माओवादीका शर्मा निर्विरोध भएका छन्। तर, एकीकृत समाजवादीले पाएको ठाउँमा भने एमालेले उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रेको छ।
जसका कारण विधायन व्यवस्थापन समितिको सभापतिलाई एमाले समाजवादी दुवैले प्रतिष्ठाको विषय बनाइरहँदा निर्णायक मत जसपाको हातमा पुगेको छ।
जसपाका सिंहले कसलाई दिन्छन् मत ?
जसपाका सिंहको मत लिन एमाले र समाजवादी दुवैले कसरत तीव्र बनाएका छन्।
यसअघि समिति सभापतिमा आफूलाई समर्थनका लागि नभने पनि आइतबार उम्मेदवारी परेपछि जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सहयोगका लागि आग्रह गरेका छन्।
जसपा स्रोतका अनुसार ओली र नेपालले तारन्तर फोन गरेर आफ्नो पार्टीका उम्मेदवारलाई समर्थन गर्न आग्रह गरेपछि लुम्बिनी पुगेका यादव आइतबार नै काठमाडौँ फर्किएका छन्। तर, उनले कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेका छैनन्।
विधायन समितिमा सदस्य सांसद सिंहले आइतबार बेलुकासम्म आफ्नो पार्टीले कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिनसकेको बताए।
एमाले र समाजवादी दुवैसँग आफूहरुको राम्रो सम्बन्ध भएकाले कसलाई मत दिने भन्ने निर्णय गर्न कठिन भइरहेको उनले देश सञ्चारलाई सुनाए।
ओलीलाई विश्वासको मत दिएको जसपाले उनकै उम्मेदवारलाई समर्थन गर्ने त होला भन्ने जिज्ञासामा सिंहले देश सञ्चारसँग भने, ‘हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सत्ता पक्षमा बसेका छौँ। तर, एकीकृत समाजवादीसँग पनि हाम्रो सम्बन्ध राम्रो छ। उसलाई समथर्न नगर्ने भन्ने छैन। तथापि, हामीले अहिलेसम्म निर्णय गरेका छैनौँ। जता पनि उभिन सक्छौँ।’
यसअघि पनि सभापित रहेकी उम्मेदवार राईले पनि यसै हुन्छ भन्ने अवस्था नरहेको बताइन्। उनले भनिन्, ‘मृगेन्दजीलाई आग्रह गरिरहेका छौँ। उहाँको पार्टीले यसै गर्छौँ भनेको छैन।’


भर्खरै
लोकप्रिय






































































































































































































