
सिमकोट – हिमालपारीको गाउँ नाम्खा– ६, हल्जीस्थित सुनखानी प्रावि नयाँ भवनमा सरेको छ। नयाँ भवनको निर्माण कार्य सम्पन्न भएपछि यस अघिको पुरानो भवनबाट विद्यालय आवासीय सुविधासहित नयाँ भवनमा सारिएको हो।
लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले यसअघि विद्यालय जान उकालो र ओरालो हिँड्नु पर्ने, भवन पुराना र जीर्ण भएको कारण नयाँ स्थानमा भवन निर्माण गरेर विद्यालय सारिएको बताए। वडाध्यक्ष तामाङका अनुसार एक भव्य कार्यक्रमका बिच विद्यालयलाई नयाँ स्थानमा सारिएको हो। न करोड रुपैयाँको लगानीमा अमेरिकाको आत्मी संस्थाले निर्माण गरेको उक्त दुई ओटा दुई तले नयाँ विद्यालय भवनमा सोह्र कोठा रहेका छन्।
गएको वर्षदेखि निर्माण आरम्भ भएको नयाँ भवनको निर्माण कार्य सम्पन्न भएपछि विद्यालय सारिएको हो। भवनको उद्घाटन भएसँगै विद्यालय नयाँ भवनमा सञ्चालन आएको छ। अब जीर्ण भवनमा पढ्दै आएका विद्यार्थीहरुले अत्याधुनिक कक्षाकोठामा पढ्न पाएका छन्। त्यो पनि आवासीय सुविधासहित अध्ययन गर्न सुरु भएको छ।
विद्यालयमा हाल बालविकास देखि कक्षा ८ सम्म ३० विद्यार्थी अध्ययनरत छन्। अब नयाँ भवन बनेसँगै नौ शिक्षक र ३० विद्यार्थीले आवासीय सुविधा पाएका छन्। एक भव्य कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले भवनको उद्घाटन गरेका थिए। सो कार्यक्रममा नाम्खा गाउँपालिकाका पुर्ब अध्यक्ष बिष्णुबहादुर शाही सहयोग संस्थाका प्रमुखको समेत सहभागिता रहेको थियो।