
मोरङ – कोशी प्रदेशमा डेङ्गी संक्रमणका बिरामीको संख्या बढ्दै गएको छ। धनकुटास्थित स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेतले गत वैशाखदेखि हालसम्म प्रदेशभर डेङ्गी संक्रमितको संख्या १ हजार ७ सय ५१ पुगेको जानकारी दिए।
बस्नेतका अनुसार विगत पाँच महिनामा संक्रमितको संख्या बढेको छ। गत वैशाखबाट असार महिनासम्म ३ सय ८६ जनामा संक्रमण देखिए पनि त्यसयताको साउन र भदौ महिनामा १ हजार ३ सय ६५ जनामा संक्रमण देखिएको छ। यसक्रममा झापामा दुई जना संक्रमितको मृत्युसमेत भएको निमित्त निर्देशक बस्नेतले जानकारी दिए।
उनले भने, ‘पछिल्लो दुई महिनामा संक्रमितको सख्या मोरङ, झापा, सुनसरी, संखुवासभा, धनकुटामा बढेको छ। मोरङमा पछिल्लो दुई महिनामा ६ सय बढीमा संक्रमण देखिएको छ। मानवीय क्षतिको सन्दर्भमा दुई जनाले ज्यान गुमाउनु परेको छ।’
वैशाखदेखि असारसम्मको आँकडामा सुनसरीमा १ सय ७२ जनमा संक्रमण देखिएको थियो। सो समय मोरङमा संक्रमितको अवस्था शून्य रहेको र झापामा ८४ जनामा संक्रमण देखिएको थियो।
मोरङमा साउन र भदौको दुई महिनाको समयमा ६ सय ३२ जनामा संक्रमण देखिएको बताएका निर्देशनालयका निमित्त निर्देशक बस्नेतले भने, ‘मोरङमा बढेको देखिएको छ। त्यसैगरि, झापामा केही कम र सुनसरीमा पनि संक्रमितको संख्या बढेको छ। यसको रोकथामका लागि सर्वसाधारण आफैपनि सचेत रहनुपर्छ। भरसक घर वरपर पानी जम्न नदिने र लामखुट्टेको लार्भा हुने स्थानलाई नष्ट गर्नुपर्ने हुन्छ।’
निर्देशनालयका अनुसार ताप्लेजुङमा भने हालसम्म संक्रमितको अवस्था शून्य रहेको छ। संखुवासभामा असारसम्म शून्य अवस्था रहे पनि साउन र भदौमा ८२ जनामा संक्रमण पुष्टि भएको हो।
त्यसैगरि, तेह्रथुममा विगत पाँचमहिनामा २ जनामा, खोटाङमा ९ जना र सोलुखुम्बुमा ५६ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ। पहाडी जिल्ला पाँचथरमा समेत वैशाखदेखि असारसम्म संक्रमितको अवस्था शून्य रहे पनि पछिल्लो दुईमहिनामा संक्रमित संख्या ४३ पुगेको छ।
विराटनगरस्थित कोशी अस्पतालमा भने डेङ्गी संक्रमित बिरामीको अवस्था सामान्य देखिएको छ। अस्पतालका वरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवका अनुसार भाइरल फिवर परीक्षण गराउने क्रममा दैनिक २ जनासम्ममा संक्रमण पुष्टि हुँदै आएको छ। डेङ्गीका कारण उपचारमा रहेका बिरामीमा गम्भीर अवस्था नरहेको उनले बताए।