
विराटनगर- विराटनगरस्थित नोवेल शिक्षण अस्पतालले क्यान्सर रोगको उपचार सेवा विस्तार गरेको छ। अस्पतालका महाप्रबन्धक दिपेश राईका अनुसार क्यान्सर उपचारका लागि निर्मित नयाँ भवनमा रेडिएसन थेरापी सेवा सुरु गरेको हो।
महाप्रबन्धक राईले तीन अर्ब लगानीमा रेडिएसन थेरापीका लागि बङ्कर सहितको भवन र अत्याधुनिक उपकरणहरुको व्यवस्था गरिएको जानकारी दिए। यससंगै, नोवेलमा दैनिक बहिरङ सेवा, दिवा हेरचाह, भर्ना भएका विरामीको उपचार गरिने अन्तरङ सेवा, केमोथेरापी, रेडिएसन थेरापी, शल्यक्रिया लगायतका सम्पूर्ण सेवाहरु उपलव्ध हुने महाप्रबन्धक राईले बताए।
उनका अनुसार मुलुकमा पहिलो पटक भेरिएन कम्पनीको एज नामक रेडिएसन थेरापीको अत्याधुनिक उपकरण, ब्राकीथेरापी, सिमेन्स कम्पनीको सोमाटोम गो सिम आरटिसिटी मेशिन लगायत अत्याधुनिक उपकरणहरुबाट रेडिएसन थेरापी सुरु गरेको हो।
अस्पतालका क्यान्सर रोगका बिशेषज्ञ डा. प्रदीप भण्डारीका अनुसार रेडिएसन थेरापीको लागि जडान भएको एज कम्पनीको उपकरणमा रहेको सिक्स डी काउच, हाइपर आर्क, एचडीएमआईसी, पछिल्लोसमयको अत्याधुनिक प्रविधि हो।
ती उपकरणमा रहेको एसआरएस एसबीआरटीले शरिरभित्रको क्यान्सर शल्यक्रियाबिनानै निर्मूल गर्ने डा. भण्डारीले जानकारी दिए। त्यसैगरी, आइजिआरटी, आइएमआरटी भिम्याटले शरिरभित्रको सामान्य र स्वस्थ्य कोषलाई क्षति नपुराइ क्यान्सर सेक्ने उनले बताए।
जसले हाल जडान गरिएको रेडिएसन थेरापीलाई थप प्रभावकारी र सटिक बनाउने उनले बताए। क्यान्सर उपचारलाई सहज बनाउन नोवेलले नेपाल सरकारको विपन्न नागरिक औषधी उपचार कोष अन्तर्गत क्यान्सर रोगको उपचार सेवा पनि प्रदान गर्न सुचीकृत भइसकेको अस्पताल महाप्रबन्धक राईले जानकारी दिए।