पोखरा- सरस्वती तिवारी (७७)ले डोकोमा ल्याएको करेला र चिचिन्डो तौलिइन्। यसपाली जम्मा ८ केजी रहेछ। गाउँमा आएको कृषि एम्बुलेन्सका कर्मचारीले उनले ल्याएको तरकारीको तौल टिपोट गरे। कृषि संकलन केन्द्रमा पुर्याएर पोखरा महानगरपालिकाले सञ्चालन गरेको एम्बुलेन्सलाई तरकारीको जिम्मा लगाएपछि सरस्वतिलाई नबिक्ने चिन्ता रहेन।
पोखरा महानगरपालिका- २८ माझठानाकी पौरखी सरस्वतीले ५० वर्ष बढी भयो तरकारी फलाएर बेच्न थालेको। पहिला यसरी सजिलै बिक्री हुन्थेन। ‘अहिले त कति हो कति सजिलो। कति खुसी छु कति। यहीं आयो, यहीं बेच्न पाइयो। डुल्न परेन’, उनले भनिन्। उनी डोकोमा तरकारी बोकेर बेच्नलाई चार गाउँ डुल्थिन्। माझठाना आसपासका गाउँले उनलाई ‘काउली आमै’ सम्बोधन गर्थे। बिहान घाम उदाएपछि हिँडेकी उनी साँझ नअस्ताउन्जेल गाउँघर डुल्दै चिच्याउथिन्, ‘तरकारी आयो तरकारी हजुर! ताजा र अर्गानिक।’
बोक्नको द:खले कतिलाई सित्तैमा बाँड्थिन्। कति पटक त दु:खको मूल्य नै नपाएको अनुभव उनीसँग छ। अहिले घरबाट १० मिनेट पर संकलन केन्द्रमा पुर्याएपछि तरकारी फलफूल कृषि एम्बुलेन्सले बजार लैजान्छ। उनी भन्छिन् ,’डोको नाम्लो धेरै बोक्न नपरेपछि त जिउ नै हलुंगो हुँदो रहेछ !’
त्यसरी गाउँघर डुल्दा सरस्वतिले थाप्लोमा बोकेका नाम्लाका बरिया धेरै चुँडे। चर्को घाममा पसिनाका धारा उस्तै बग्थे। दर्के झरीमा नडुल्ने हो भने आम्दानीको अरु स्रोत उनीसँग थिएन।
हिजोआज तरकारी बेच्न हाइसञ्चो भएपछि बुढ्यौलीमा उनको इच्छा टुसाएको छ, ‘अझै बाँचेर धेरै तरकारी फलाउन पाए हुन्थ्यो लाग्छ।’ एम्बुलेन्स गाउँ पठाएर निको बनाइदिएको महानगरले तरकारीका बिउविजनसँगै फलाउने तौरतरिका सिकाउनुपर्ने उनी बताउँछिन्।
किसानले फलाएको तरकारी संकलन गरेर एम्बुलेन्सले बजार पुर् याउन थालेको एक वर्ष भयो। पोखराबाट हुँइकिएको एम्बुलेन्स गाउँ उक्लिन थालेसँगै बस्तुभाउले समेत नखाएर मलखादमा कुहाउनुपर्ने तरकारीले बजार पाएको छ। फर्सीको मुन्टा, इस्कुसको मुन्टा, गाभा, घिरौला जस्ता सिजनमा बेस्मारी फल्ने तरकारीले बजार र मूल्य दुवै पाएपछि किसान खुसी छन्। कहिलेकसो बजारिया आफन्तले कोसेली लैजाने तरकारी आधा किलो पुगेपनि एम्बुलेन्सले उठाउँछ।
गाउँका साना किसानलाई कृषि एम्बुलेन्स हितकारी भएको राधाकृष्ण तिवारीको अनुभव छ। उनी भन्छन्, ‘यहाँ बेचिरहेको फर्सीको मुन्टा मलखादमा फाल्ने चीज हो। अहिले किसानले त्यसैको पनि पैसा पाका छन्। गाउँमै आएर एम्बुलेन्सले मूल्य पनि उचित दिएको छ।’
त्यसरी पाएको मूल्यले घरखर्च र छोराछोरी पढाउन सहज भएको अर्का किसान महेन्द्रबहादुर थापाले सुनाए। उनले थपे, ‘खास कोही कुहिएर जाने, गाउँघरमा बाँडेर खाने १/२ किलो तरकारी हो। कृषि एम्बुलेन्स आएपछि दुईचार पैसो देख्न पाइएको छ। बच्चाहरुको स्कुलको खर्चपनि उठेको छ।’ एम्बुलेन्स सञ्चालनमा निरन्तरता हुँदैन की? धेरथोरै शंकाले सताइरहेको उनले बताए।
निर्वाहमुखी कृषि कर्म गरेकालाई मात्रै होइन व्यवसायी किसानले पनि राहतको महसुस गर्दैछन्। एम्बुलेन्स नहुँदा खेतबारीमा फलाएका कृषि उपज आफैंले बोकेर पोखरा पुर्याउने गरेको अगुवा किसान राधाकृष्ण तिवारी सम्झन्छन्। ‘पोखरा लगेपछि व्यपारीलाई जे आवश्यक छ त्यो मात्रै खरिद गर्दिन्थ्यो। कृषि एम्बुलेन्स आएर हामीले गरेको उत्पादन सबै लगेको छ। हामीलाई आत्मस्वाभिमान मिलेको छ,’ उनी भन्छन्, ‘व्यापारीसँग गएर बहस गरेर सामान बेच्नुपर्नेथियो। यहाँबाट गौरवका साथ पठाएका छौं। एम्बुलेन्सले धेरै सघाएको छ।’
तरकारी बोक्ने एम्बुलेन्स गाउँ पठाएर निर्वाहामुखी किसानलाई व्यवसायिक बनाउन प्रेरित गरेको तिवारीले बताए। बजार पाउन सजिलो भएको महसुस गरेपछि किसानले खेती गर्ने क्षेत्रफल विस्तार गरिरहेका छन्। कृषि एम्बुलेन्समार्फत किसानको उत्पादनलाई बजार पुर्याइरहेको महानगरपालिकाले ‘उत्पादनमा आधारित’ अनुदान उपलब्ध गराउनुपर्ने तिवारीको सुझाव छ। ‘उत्पादनको आधारमा अनुदान दिइयो भने सही किसानसमक्ष पुग्छ’, उनको विश्वास हो। अब बाहिरबाट पोखरा भित्रने र स्थानीय किसानले उत्पादन गरेका तरकारीको अभिलेख राख्नुपर्ने उनले बताए।
कृषि एम्बुलेन्स माझठाना मात्रै नभएर तरकारी फल्ने पोखराका गाउँ-गाउँ पुगेर साना किसानले उत्पादन गरेको उपज ल्याएर बिक्री गर्छ। सहरी वडामा बिक्री केन्द्र छन्। बार अनुसार तालिका बनाएर संकलन हुन्छ। बिक्रीका लागि पनि तालिका नै बनाइएको छ।
गत वर्षको वैशाखदेखि कृषि एम्बुलेन्स सञ्चालनमा ल्यायएको हो। साढे ३५ लाख रुपैयाँ लगानी गरेर भित्र्याइएको कृषि एम्बुलेन्सले किसान र उपभोक्ताबीचको दूरी घटाइरहेको छ। पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार न किसानले विचौलियालाई कौडीको भाउमा फाल्नुपर्छ न त उपभोक्ताले महंगो मूल्य तिर्न परेको छ।
साना किसानले उत्पादन गरेको उपजको बजारीकरणमा सघाइरहेको उनको भनाइ छ। कृषि संकलन केन्द्र, किसान बजारसमेत एम्बुलेन्सले चलाइरहेको उनले बताए। ‘हामीले ठाउँ ठाउँमा कृषि उपज संकलन केन्द्र निर्माण गरेका थियौं। ती संकलन केन्द्रको पनि उपयोग भएन। ठ्याक्कै यो दिनमा एम्बुलेन्स आउँछ भनेपछि प्रयोगमा आउनेभो,’ एम्बुलेन्स सुरुको अवधारणाबारे उनी भन्छन्। कृषि एम्बुलेन्समा तरकारीलाई बिग्रन नदिन चिस्यानको सुविधा छ। सुरक्षित ढुवानीले बजारसम्म पुग्दा तरकारी कुहिने समस्या नरहेको कडरियाले सुनाए। उनले भने,’नियन्त्रित तापक्रममा जसरी किसानले फिल्डमा टिपेका थिए त्यसरी नै बजार पुग्नेबेलासम्म कोलचेन मेन्टन हुन्छ।’
कृषि एम्बुलेन्स सञ्चालन गर्न नगरपालिकाले एक जना चालक र सहयोगीको व्यवस्था गरेको छ। किसानसँग संकलन गरेको मूल्यमा २० प्रतिशतभन्दा बढी उपभोक्तासँग लिइँदैन।
महानगरपालिकाले तोकिएदिएको न्यूनतम् समर्थन मूल्यभन्दा कममा बेच्नुपर्दा क्षतिपूर्ति दिने आर्थिक विकास महाशाखा कडरियाको भनाइ छ।
गत वर्ष कृषि एम्बुलेन्स सञ्चालन गर्न १५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो। यसवर्ष पनि १५ लाख नै विनियोजन भएको छ। साना किसानलाई अनुदानको सट्टामा सुविधा दिएको कडरियाले उल्लेख गरे।