
काठमाडाैँ- संविधानसभाबाट नेपालको संविधान जारी भएको आजबाट नौ वर्ष पूरा भएर दश वर्षमा लागेको छ।
यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्यो। जसमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायत सहभागी भए।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सरकारले दिपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन सबैमा आह्वानसमेत गरेको थियो।
नेपाली जनताको सातदशक लामो संघर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट विसं २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो।
पैँतिस भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात गरेको संविधानले लोकतान्त्रिक मूल्य-मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ।
सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ। ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आजै नौ वर्ष पूरा भएको हो।
टुँडिखेलमा आयोजित कार्यम्रममा पनि नेपालको झन्डा फहराउनुका साथै विभिन्न सांस्कृतिक झलक, बाजागाजा, नाचगान गरिएको थियो।
थप तस्बिरहरू: