
नेपालगञ्ज- नेपालगञ्जमा डेंगीको संक्रमण बढी देखिएको छ। जिल्लाका अन्य पालिकाभन्दा नेपालगञ्जमा संक्रमण बढी देखिएको हो।
भदौ १६ देखि असोज ९ गतेसम्ममा बाँकेमा १६ जना विरामी अस्पताल भर्ना भएकोमा आठ जना नेपालगञ्जका रहेका छन्। अघिल्लो महिना आठ जना अस्पतालमा भर्ना भएका थिए।
बिरामीको अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिन्छ। स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन दुर्गा गौतमका अनुसार, सेप्टेम्बर २५ सम्ममा नेपालगन्जका आठ जना, कोहलपुरका चार जना, राप्तीसोनारीका दुई जना, बैजनाथ र डुडुवा गाउँपालिकाका एक एक जना अस्पताल भर्ना भएका छन्।
नेपालगञ्जको भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र कोहलपुर मेडिकल कलेजमा आएका विरामीको संख्या हो यो। निजी अस्पतालहरुमा गएका विरामीको तथ्यांक उपलब्ध हुन सकेको छैन।
बाँकेमा साउनदेखि नै डेंगीका विरामी देखा परेका थिए। भदौ महिनामा आएर विरामीको संख्या ह्वात्तै बढेको छ। फोकलपर्सन गौतमले साउन र भदौमा बाँकेमा ९२ जनालाई डेंगी देखिएको जानकारी दिइन्।
यसअघि डेंगी भारतबाट आएका मानिस देखापर्ने गरेको थियो। पछिल्लो समयमा यहीका समुदायमा संक्रमण फैलिएको छ। गतवर्ष असोजदेखि मंसिरसम्म डेंगी देखिएको थियो। दशैं मान्न भारतबाट आउनेहरूमा डेंगी देखिन्थ्यो र यो अन्यलाई पनि सर्ने हुन्थ्यो।
यो वर्ष यहीँ समुदायमा बढी फैलिएको छ। दशैं र तिहार मान्न भारतबाट ठूलो संख्यामा नेपाली आउने भएकाले यसपाली समुदायमा अझ बढी संक्रमण फैलिन सक्ने जोखिम बढेको छ।
यहाँका बजार क्षेत्रमा बढी डेंगी देखिएको छ। एडिस जातको पोथी लामखुट्टेले टोकेपछि डेंगी लाग्ने गर्दछ। यो जातको लामखुट्टे पानी जमेको ठाउँमा बस्छ। घरको गमला, टायर, बोत्तललगायत पानी जमिरहने ठाउँमा यो लामखुट्टे बस्ने गर्दछ।
सरसफाईमा ध्यान नदिँदा डेंगुको जोखिम बढेको छ। गर्मी महिनामा लामखुट्टे बढी हुने गर्दछ। नेपालगञ्ज गर्मी हुने ठाउँ भएकाले यहाँ हरेक वर्ष डेंगीको जोखिम रहने गर्दछ। यहाँका स्थानीयमा सामाजिक दायित्वबोध नहुँदा पनि समस्या भइरहेको छ। आफ्नो घरपरिसरमा सरसफाई गरेपनि गेटबाहिर फोहोर गर्ने बानीले गर्दा डेंगीजस्ता संक्रमण फैलिने मौका पाएको छ।
स्वास्थ्य कार्यालयले पालिका र डेंगीका विरामी देखिएका वडासँग समन्वय गरेर सचेतनामूलक कार्यक्रम गर्ने गरेको छ। नेपालगञ्जमा बेलाबेलामा डेंगी हुन सक्ने संभावित ठाउँमा सरसफाई गर्ने गरिएपनि त्यति पर्याप्त भएका छैनन्।
समुदायमा संक्रमण फैलिसकेकाले व्यक्ति व्यक्ति सचेत भएमात्रै संक्रमण रोकथाम हुन सक्ने सम्बद्धहरू बताउँछन्।