
चित्र हाम्रो सामु छ। तर, त्यो चित्रको व्याख्या कसरी गर्ने? चित्रको भाव कुन अर्थमा मनन गर्ने? एउटा चित्रले कसको नजर र मस्तिष्कमा कुन प्रकारको आकार लिन्छ, कसलाई के थाहा? अनि फेरि जबर्जस्ती त्यो चित्रलाई मैले देखेकै स्वरूपबाट नियाल्नुहोस् भन्न नि नमिल्ने अनि भन्ने पनि किन, चित्र तपाईंसामु छ, नियाल्नुस् आफ्नो ढंगले।
यो सबै पाटोको सारांश केवल एउटा नजर र त्यतै कतै लुकेको मनन गर्ने स्फूर्तिले स्पष्ट पारिदिन्छ। चाहे त्यो चित्रको होस या समाजको। अब फेरि चित्र र समाज कुन अर्थमा यो दुई शब्द सँगसँगै ल्याएर जोड्नुभयो भन्नुहोला।
किन चित्र र समाजलाई एकैसाथ हेर्न नसकिने? म मान्छु फेरि हेर्ने दृष्टिकोणमै प्रश्न आयो होला तर चित्रजस्तै समाजलाई पनि आ–आफ्नो शैलीबाट हेर्न नसकिने हो? अनि फेरि त्यही विषयले गर्दा त आज यति विविधता भएको हैन होला र? यो अचम्म मान्ने कुरा पनि हैन, धेरै गहन साथ सोचिरहने कुरा झन् हुँदै होइन।
मैले केवल एउटा विषयमा मात्र केन्द्रित गराउन खोजेको हुँ। कि अब हाम्रो देश खत्तम भयो, युवाहरू सबै पलायन भइसके, अब देश बनाउने कोही छैन भनी सोच्नुअघि पक्कै पनि एकचोटि यो समाज र यहाँको भित्री यथार्थलाई अलि फरक ढंगले पो मनन गर्ने हो कि।
अनि सबैभन्दा महत्वपूर्ण कुराचाहिँ अरुले देखिदिएको नजरको विश्वास भन्दा पनि आफ्नै नजरबाट हेर्न खोजम है! सायद समाजको अर्थ अलिकति भए पनि फरक स्वरूपमा पो प्रस्तुत हुँदोरहेछ कि?
आजको तीतोसत्य के छ भने, कुनै विषयको वर्णन गर्न सामाजिक सञ्जालले हामीलाई यतिसम्म निर्भर बनाइसकेको छ कि हामी ती विषयको आफैँ विश्लेषण गर्ने झिनो प्रयास पनि गर्न छोडिसकेका छौँ।
अनि के त्यो चित्रको भाव आफैँले मनन गरेर बुझ्नुभएको हो त? यो समस्याले युवा नै देशमा छैनन् भन्ने र स्वयं युवालाई पनि उत्तिकै असर पुर्याएको देखिन्छ। हामी समयअनुसार चल्न त चल्यौँ तर त्यो चलाइले हामीलाई अलि बढी निर्भर र त्योभन्दा बढी आलस्य र कम आँटिलो बनाएजस्तो लाग्दैन तपाईंलाई?
मान्छेले देशमा केही छैन भन्दैमा विदेश गइहाल्ने त? फेरि फेसबुकमा एक जनाले ‘युवाजति विदेश, अब देश सखाप हुने भयो’ भने त्यही सत्य ठान्ने? ओहो यो काम गर्न त गाह्रो छ। बरु सजिलो खोजौँ भन्दै सजिलो कामतिर हाम फाल्ने। होइन यो समाज कता जाँदै छ हँ?
समस्या छ भनेर भाग्ने? पहिला त्यो समस्यालाई आफ्नो नजरबाट त हेर्नुहोस्, त्यसपछि भाग्ने कि समाधान गर्नतिर लाग्ने सोचम्ला।
मैले यो सब बुँदा गाँस्नुको कारण एउटा मात्र छ। हाम्रो नेपालको भविष्य बुन्ने। हामी वर्तमानका हरेक काम गर्न सक्ने, र सोच्न सक्ने नागरिक हौँ।
यदि तपाईं पनि ती पंक्तिभित्र पर्नुहुन्छ भने स्वागत छ, देश र यो समाजको भविष्य कोर्न तपाई सक्षम हुनुहुन्छ र तपाईंको साथ अपार छ।
अब चित्रलाई नियाल्ने मात्र होइन, चित्र कोर्न लम्कने समय आइसकेको छ। आफ्नो सोच, आफूले हेरेको समाज, बुझेको आचरण र परिकल्पना गरेको भविष्यप्रति विश्वास लिनुहोस्, हामी सबै जना मिली, एकअर्कालाई साथ दिई यो देशको भविष्य बुन्न अघि सर्नुपर्छ। फेरि भन्नुहोला यति सामान्य छ, देशको कायापलट गर्न? यो पनि गफै त होला।
म भन्छु देश कायापलट गर्न हैन, त्यो कायापलटको शुभारम्भ गर्न यति काफी छ। हामी धेरै ठूलो सपना देक्छौँ, ठुल्ठूला राष्ट्रसँग तुलना गर्छौं र यो गर्नु पक्कै पनि केही हदसम्म राम्रो पनि हो। तर, समस्या के हो भने हामी सुरुमै त्यही सपनाको उचाइमा हामफाल्न खोज्छौँ। ल सगरमाथाको चुचुरोमा पुग्ने सपना देख्नु त साह्रै उत्तम योजना हो तर एकैचोटी उडेर त सगरमाथा आहोरण गर्न सकिँदैन नि! विस्तारै हरेक कदम, हरेक खुड्किला, हरेक पहाड र हरेक खोँच, हरेक उचाइलाई ध्यानमा राख्दै धैर्यतासाथ सगरमाथा आरोहण सफल बन्न सक्छ। यो कुरालाई हामीले भित्री रुपमा मनन गर्नु जरुरी छ।
विकास आजको भोलि हुने विषय होइन। यो निरन्तर प्रकिया त हो। तर, त्यसो भन्दैमा आनन्दले आराम गर्न भन्ने हैन, हाम्रो जिम्मेवारी भनेको विकासको गति बडाउनु हो, विकासको रफ्तारमा तीव्रता ल्याउनु हो।
हाम्रो समाज आफैँमा अद्वितीय छ। हामीले आफ्नो सीप निखारी, आफ्नो कर्मभक्तिलाई सम्मान गरी अगाडि बढ्न आवश्यक छ।
विकास आजको भोलि हुने विषय होइन। यो निरन्तर प्रकिया त हो। तर, त्यसो भन्दैमा आनन्दले आराम गर्न भन्ने हैन, हाम्रो जिम्मेवारी भनेको विकासको गति बडाउनु हो, विकासको रफ्तारमा तीव्रता ल्याउनु हो। उदाहरणका लागि हामीले मध्यपूर्व राष्ट्र कतारलाई लिन सक्छौँ। केही दशक अघिसम्म यो एउटा सामान्य अर्थतन्त्र भएको राष्ट्र थियो तर १९४० पछि तेल र १९७० पछि प्राकृतिक ग्यासको खोजी र विकाससँगै अहिले कतार विश्वको सबैभन्दा छिटो विकास गर्ने राष्ट्रमध्येको एक बनेको छ।
पक्कै पनि १९४० भन्दा अघि पनि विकास नभएको त होइन, तर १९४० पछि विकासले यस्तो रफ्तार लियो कि आज कतारको अवस्था यसको सशक्त उदाहरण बनेको छ।
पक्कै पनि तेल र प्राकृतिक ग्यासले ठूलो सहायता ग¥यो होला, तर प्राकृतिक स्रोतकै कुरा गर्ने हो भने त हाम्रो राष्ट्र सायद अग्रपंक्तिमै आउँछ भन्न गाह्रो नपर्ला।
अनि विकासको मार्ग उस्तै हुन्छ भन्ने पनि होइन, हामी आफ्नो शैलीले विकासको गति तीव्र रुप ल्याउनु जरुरी छ। म यो लेख विकासको ज्ञान दिन आएको पक्कै पनि होइन, म त एउटा सामान्य इन्जिनियरिङ छात्र हुँ। यति मात्र भन्न खोजेको हुँ कि आफ्नो सोचको विश्वास गरी, अलिकति फरक ढंगले अलिकति गहन रुपमा आफ्नो कदम चाल्नु हाम्रो जिम्मेवारी हो।
चित्रलाई आफ्नो शैलीले हेरौँ र त्यो चित्रलाई थप आकर्षक बनाउन अघि सरौँ भन्ने अनुरोधको साथ म मेरो कलम सार्दै छु।
समाज, राजनीतिक, इतिहास र संस्कृतिलाई हेर्ने कसरी, बुझ्ने कसरी, अनि कदम चल्ने कसरी, यो हाम्रो विचारभित्र पर्छ?
अब देशको चित्र कोर्ने पालो पक्कै पनि हाम्रै हो। अगाडि बढाैँ, आफ्नो मौलिकता जोगाएर कदम सारम, आफ्नो योग्यता लाई अझ थप निखारौँ र संकल्प र विश्वाससाथ समाज निर्माणमा अघि बढौँ। विकासको गुनगान र चित्रको व्याख्या गर्दै गर्दा त्यो सुगम र सहर क्षेत्रमा मात्र होइन, हरेक गाउँठाउँलाई उत्तिकै महत्वसाथ अघि बढ्नु जरुरी छ। किनभने त्यो चित्रको एउटा पाटो साहैै सुन्दर हुन्छ।
त्यो पाटोलाई मात्र हेर्न मन लाग्छ, त्यहाँ कोर्न मन लाग्छ किन भने त्यो सुन्दर छ र केही परिवर्तन गर्नुपरे सजिलो छ, तर जबसम्म त्यो चित्रको हरेक पाटो उत्तिकै सुन्दर र आकर्षक देखिँदैन, त्यो कहिले पनि पूरा रेखाचित्र बन्न सक्दैन।
हाम्रो संकल्प सुगम दुर्गम नभनी सबैतिर चाहिने महत्वका साथ अघि लम्कनुपर्छ। यो हाम्रो समाज हो, यहाँको अस्तित्व, इतिहास र हरेक पाटोलाई सम्मान गरी सबै जान एक भई यो समाज निर्माणमा अघि बढ्नुपर्छ। यतिचाहिँ नाबिर्सिऊँ कि चित्र हाम्रो अगाडि छ, हाम्रो आफ्नो नजरबाट हेरौँ र अघि बढौँ। जय राष्ट्र!
(सौरभ खड्का इन्डस्ट्रियल इन्जिनियरिङका विद्यार्थी हुन्।)