
पोखरा – ६३ वर्षको उमेरमा रसियन नागरिक युरी रेडिचेभले नेपालमा पाइला टेके। सन् २००३ मार्चमा आएका उनले मेरापिक हिमालमा पाइला राखे। उनी रसियन फोटोग्राफरको समूहसहित हिमाल पुगेका थिए। मेरापिकका फोटो भिडियो कैद गरेर उनी स्वदेश फर्किए।
उनलाई नेपालका हिमालले तानिरह्यो। वर्षेनी उनी नेपालका हिमालका तस्बिर खिच्नकै लागि ओहोरदोहोर गरिरहे। २१ वर्षसम्म उनी निरन्तर नेपाल आइरहे। र नेपालका हिमालका तस्बिरहरु कैद गरे।
सन् २०२४ को मार्चसम्म पनि नेपालमा हिमालका फोटोहरु खिचेका युरीले रसियाका १६१ सहरमा फोटो प्रदर्शन गरेका छन्। १८१ स्थानमा उनले नेपालका हिमालका फोटो देखाए। ८ लाख बढी रसियन नागरिकले नेपाली हिमालको फोटो हेरेको फोटोग्राफर युरीको दाबा छ।
नेपालका हिमाल चिनाउन सघाएको युरीले खिचेका तस्बिरको संगालोको पुस्तकमा उतारिएको छ। नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले ‘द हिमालय’ नामक पुस्तक प्रकाशन गरेको हो। पुस्तकमा ४२ फोटोको संग्रह छ।
पुस्तकको शनिबार पोखरामा विमोचन गरिएको छ। पर्वतीय संग्रहालयमा आयोजित कार्यक्रममा ‘द हिमालय’ को गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, फोटोग्राफ युरी रेडिभेच र उनी श्रीमति आन्ना माकारोभाले संयुक्त विमोचन गरे।
युरीले खिचेको तस्बिरले पर्यटकीय गतिविधी बढाउन सघाउने मुख्यमन्त्री पाण्डेको विश्वास छ। जलवायु परिवर्तनको असरले पग्लिदै गएका हिमालका फोटो भविष्यका लागि सम्पत्ति बन्ने उनले बताए।
‘जलवायु परिवर्तनले हिमाललाई जोगाउन धेरै गाह्रो परिरहेको अवस्था छ। नेपालले नगरेको गल्तीको परिणाम हामीले भोगिरहेका छौं। विश्व जलवायुको परिवर्तनले हाम्रो हिमालय क्षेत्रमा जे देखिएको छ चिन्ताको विषय हो’, मुख्यमन्त्री पाण्डेले भने, ‘भविष्यमा यी हिमाल के हुन्छ थाहा छैन। तर, पुस्तक जीवन्त रहिरहन्छ।’
हिमाल र हिमाली क्षेत्रको संरक्षण गर्न आवश्यक रहेको उनले सुनाए। हिमाल जोगाउन सबै मिलेर काम गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेको जोड छ।
गण्डकीका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले नेपालका हिमाल पर्यटक तान्ने मुख्य अस्त्र बनिरहेको बताए। हिमाललाई जोगाइराख्नुपर्ने उनको भनाइ थियो।
गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा। कृष्णचन्द्र देवकोटाले पर्यटनको आकर्षणको केन्द्र बनिरहेका हिमाललाई जोगाउनुपर्नेमा जोड दिए।
युरीले खिचेका तस्बिर अन्तर्राष्ट्रिय पर्वतीयमा प्रदर्शनीमा समेत राखिएको कार्यकारी निर्देशक निर्मला न्यौपानेले बताइन्। युरीले मुख्यमन्त्री पाण्डेलाई फोटो हस्तानतरण गरेर प्रदर्शनीको सुरुवात गरिएको छ। ‘ऐतिहासिक फोटो अब संग्रहालय आउने पर्यटकले नियमित अवलोकन गर्न पाउनुहुनेछ’, उनले भनिन्।
हिमाल र हिमाली जनजिवनबारे अध्ययन थलो बनेको संग्रहालयले पछिल्लो समय ऐतिहासिक तस्बिरहरु थपिरहेको छ। पोखरा महानगरपालिका–१७ रातोपैरामा रहेको संग्रहालयमा बार्षिक तीन लाख पर्यटक अवलोकन गर्न आउछन्। गत वर्ष १०५ देशको पर्यटकले अवलोकन गरेको संग्रहालयसँग तथ्याङक छ।