
काठमाडौँ- ११ दिने यात्रापछि न्युयोर्कबाट फर्केर प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ विमानस्थलमा सोमबार अपराह्न सामान्य प्रेस ब्रिफिङ गर्नुका साथै केही पत्रकारहरुका प्रश्न पनि लिएका छन्।
पत्रकारहरुका प्रश्नमा ओलीले सरकारले बर्षाबाट सिर्जित समस्यामा तदारुकतासाथ काम गरिरहेको बताए। देशसञ्चारकर्मीले सोधेको न्युयोर्क यात्रा र राष्ट्रसंघीय महासभाले नेपाललाई के दियो भन्ने प्रश्नको जवाफमा ओलीले भने- ‘म कुनै भैँसी दुहुन गएको होइन कि दूध लिएर फर्कूँ।’
ओलीले यस्ता भ्रमणहरुको अल्पकालीन नभई दीर्घकालीन महत्त्व हुने बताए।
उनले जलवायु परिवर्तनलगायत थुप्रै मुद्दाहरुमा आफूले आफ्ना भनाइ राखेको बताए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको आफ्नो संवाद पनि दुई देशको हितलाई प्रगाढ बनाउने दिशामा भएकाे प्रधानमन्त्री ओलीले बताए।
प्रधानमन्त्रीको पत्रकार सम्मेलनअघि उनको ११ दिने अमेरिकायात्राका विवरणहरु परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले सुनाएका थिए।
पत्रकार सम्मेलनबाट ओली मन्त्रिपरिषद् बैठकमा सहभागी हुन प्रस्थान गरेका छन्।