काठमाडौँ– बिहीबार रातिदेखि निरन्तर शनिबार बेलुकीसम्म आएको वर्षाले देशभर विपद् निम्त्यायो। सयौँको मृत्यु भयो। सयौँ बेपत्ता भए। सयौँ घाइते भए। हजारौँ परिवार विस्थापित भए। हजारौँको उद्धार भयो। अझै कति बेपत्ता छन भनेर यकिन भइसकेको छैन।
देशभरको तुलनामा बाढीपहिरोबाट सबैभन्दा क्षति काठमाडौँ उपत्यकामा भएको छ। बाढीपहिरोपछि कसैले सरकारले केही गर्न सकेन भनेर प्रश्न गरेका छन् त कसैले आफूहरूले नयाँ जन्म पाएकाे बताउँछन्।
भारतकाे मोतिहरी निवासी नारायण कुमार ललितपुरमा दुबैतिर खोला बढेकोले आफूहरू निस्कन नपाएपछि ज्यान बचाउनका लागि बसमा रातभर बसेको सुनाउँछन्।
उनले भने, ‘हामीहरूले यति मात्र देखेका थियौँ कि ज्यान कसरी बचाउने, अब हामी बसमा चढेर बसौँ। जे सुकै होला।’
उनले त्यो ठाउँमा ८ फिटसम्म बाढी आएको र उद्धारका लागि आएका तीन प्रहरीलाई पनि बगाएको बताए। आफूहरूले अर्काे जिन्दगी पाएको उनको भनाइ छ।
ललितपुर महानगरपालिका १३ का वडा अध्यक्ष गणेश केसी आफूले केन्द्रीय सरकार कहाँ छ भनेर खोजिरहेको बताउँछन्।
बाढी पीडितहरूलाई सशस्त्र प्रहरी बल नेपालले खाजा र पानी दिएको तर सरकारको तर्फबाट केही सहयोग नआएको उनले दुखेसो पोखे। त्यो ठाउमाँ पानीको अभाव रहेको उनको भनाइ छ।
त्यति ठूलो राज्यले सोच्न नसेको विपद्लाई आफूहरूले कसरी गर्न सक्छौँ भनेर उनले प्रश्न गरे।
उनले भने, ‘हामीसँग त त्यही डोरी भर्याङ २ चार बेल्चा र अलिकति औषधिहरू छन्, त्यसले के गर्ने? अहिलेससम्म नेपाल सरकारको ललितपुर जिल्लामा तीनवटै सुरक्षा निकायको एउटा बोट त रहेनछ। यो कुरामा नेपाल सरकार र जिल्ला विपद् व्यवस्थापनले सोच्न पर्नै कुरा हो।’