
दाङ- कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टर खुलेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिहीबार एक कार्यक्रमकाबीच बाणगंगा- १ कपिलवस्तुमा रहेको डायलाइसिस सेन्टरको उद्घाटन गरेका हुन्।
मृगौला फेल भएका बिरामीहरुलाई डायलाइसिस सेवा प्रदान गर्न सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा आएको हो। रोटरी क्लव अफ सेन्ट्रल बुटवल र रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुको सहयोगमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा ल्याएको हो।
मृगौला फेल भएका बिरामीहरु यसअघि डायलाइसिस सेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो। दश वटा डायलाइसिस मेसिन राखिएको छ। दैनिक ६० जना बिरामीलाई सेवा पुर्याउन सक्ने क्षमता रहेको छ।
पाँच करोडको लगातमा डायलाइसिस सेन्टर स्थापना गरिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए।
एक जना बिरामीले हप्ताको दुई दिनदेखि तीन सम्म डायलाइसिस गर्नुपर्ने अवस्था रहेको डायलाइसिस सेन्टरले जनाएको छ। लुम्बिनी प्रदेशमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले चार वटा डायलाइसिस सेन्टर सञ्चालनमा ल्याएको छ।
दाङको लमही, पाल्पा, वालिङ्ग र कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टरबाट बिरामीले सुविधा लिँदै आएका छन्। चार वटा शाखा र एउटा अस्पतालगरी पाँच वटा स्वास्थ्य संस्थाबाट पाँच सय जनाले नियमित डायलाइसिस सेवा लिँदै आएका छन्।
मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवामा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरुसंग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
यस्तै, स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले लुम्बिनी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा नमुना बनाउनेगरी सरकारले भूमिका बढाएको बताए।
पूर्वस्वास्थ्यमन्त्री तथा प्रदेश सभा सदस्य विष्णु पन्थीले सामुदायिक स्वास्थ्य संस्थाहरुले नागरिकको स्वास्थ्य उपचारमा अतुलनीय योग्दान पुर्याएको चर्चा गर्दै सरकारी क्षेत्रबाट सहयोगको हात अघि बढाउनुपर्ने बताए।