जसले फेदमै राखेर कफीको चुस्की पिलाइरहेछन् (भिडियो)

+
-

पोखरा – गाउँघरको जस्तै मौलिक घर। आँगनभर झ्याँगिएका कफीका बोटहरु। लटरम्म लागेका छन् कफीका बोटमा दानाहरु। पोखरा न्युरोडको कोलाहलबाट एक मिनेट पैदलै हिँडेर पुग्दा गाउँकै जस्तो छनक दिन्छन्। जहाँ पहिलो पटक पुग्दा प्रकृतिप्रेमीको मुखबाट ‘वाउ!’ ठाउँ त गज्जब रहेछ’ फुत्किहाल्छ।

कफीको फेदमुनि बसेर चुस्की लिने वातावरण बनाइदिने पोखराको ‘कफी घर’ का सञ्चालक हुन शोभित ठकुरी।

कफी र चिया पारखी कफीको फेदमै बसेर चुस्की लिन बडो रुचाउँछन्। कफी घरको वातावरणले नै सुरुवातमा आएका ग्राहकलाई अहिलेसम्म निरन्तर तानिरहेको ठकुरीको दाबी छ। कफी मिठो भएर की वातावरण? शोभितको जवाफ हुन्छ, ‘वातावरण। कफी हाम्रो मिठो छ भन्नलाई मैले किन सक्दिन भने मेरो मुटु नै छैन! कफीको मुटु भनेको आफ्नै फार्म भएर आफैंले हुर्काएको विरुवाबाट विन ल्याएर ग्राहकलाई कफी पिलाउनु हो।’

‘पोखराका थुप्रै नाम चलेको कफी शप छाडेर वातावरण मनपर्ने भएकै कारण ग्राहक कफी घरसम्म आइरहन्छन्’, शोभित वार्ताभर दोहोर्‍याइरहन्छन्।

ग्राहकलाई तान्ने कफी र फलफूलका विरुवा शोभितले तीन वर्ष सन्तानलाई जस्तै स्याहारसुसार गरेर हुर्काएका हुन्। हुर्किएका कफीका बोटले उनलाई एउटा सपना साकार भएपछिको सन्तुष्टि दिइरहेको छ।

यो उनको पहिलो व्यवसाय होइन। कफी घरसम्म आइपुग्दा उनले थुप्रै हन्डरठक्कर खाएर दिमागलाई कफी घरको परिवेशजस्तै हरियाली र शान्त बनाएका छन्।

२०६३ सालमा एसएलसी सकाएपछि पर्वतको आर्थर डाँडाखर्कबाट भिर्ने झोला बोकेर पोखरा ओर्लदै गर्दा शोभितको मगजमा सपनाको चाङ थिएन। अझै भन्ने हो भने एक थान सपनाले पनि उनलाई थिचेको थिएन।

आमाको दुःख देखेका उनीसँग आशाको मात्रै त्यान्द्रो थियो, ‘पैसा कमाएर आमालाई घरव्यवहारमा सघाउँछु।’

आमाको दुःखको भारी बिसाउने चौतारी चिन्न पोखरा हिँडेका उनीसँग मामाको काँध थियो। मामाका काँधले धान्नुपर्ने अरु पनि जिम्मेवारी थिए।
पोखरा आएपछि उनले आफ्नै सुरमा पाइला चाल्न थाले। पोखराका सामान्य रेष्टुरेन्टदेखि पोखराको पाँचतारे होटल फुलबारी, ग्रान्डसम्म उनले श्रम बेचे वेटरदेखि म्यानेजर हुँदै।

१० वर्ष होटल रेष्टुरेन्टमा बिताएपछि सोभितलाई हुटहुटी जाग्यो, ‘अब आफ्नै व्यवसाय थाल्नुपर्छ।’ साथीभाइसँग मिलेर पोखराको लेकसाइडमा रेष्टुरेन्ट खोले। एक्लै गर्नलाई उनीसँग आँट र पुँजी दुवै थिएन। हुटहुटीले खोलेको रेष्टुरेन्ट लामो समय चलेन। ‘पार्टनरसीपमा मिलेन। अलिक ठूलो टिम पनि भयो। पहिलो व्यवसाय जानिएन पनि होला। व्यवसाय र जागिर गर्नु त फरक कुरा रहेछ भनेर सिकायो’, पहिलो अ(सफलता) उनी सम्झन्छन्।

व्यवसाय नफापेपछि उनलाई जागिरे जीवन नै ठीक लाग्यो। र दुई वर्ष जागिरे जीवनमा फर्किए। त्यति नै बेला बिहे गरेका उनले श्रीमती रोजु मल्लले हेर्ने गरेर इन्टेरियर डिजाइनको व्यवसाय थाले। तर, दोस्रो व्यवसाय पनि अन्धाधुन्ध चलाएकाले चुलुम्मै डुबेको उनी सुनाउँछन्। ‘उधारो उधारो…। आफूले पैसा हाल्यो बजारबाट उठ्दैन’, उनी भन्छन्, ‘बन्द गर्छौं भन्यौँ उँधारोमै भए पनि व्यापार भइदिने। गर्दागर्दै पाँच वर्ष त्यहाँ भुलियो। खाता हेर्दा करोडौँको व्यापार देखिने, घरमा दुध किन्ने पैसा नहुने!’

शोभितको दम्पत्तीले निष्कर्ष निकाले, ‘यो त होइन व्यापारीको जिन्दगी! पाँचै हजार भए पनि काउण्टरमा पैसा हुनुपर्छ।’ दोस्रो व्यापारले पनि नउकासेपछि उनले थोरै लगानीमा खोल्न मिल्ने तेस्रो व्यवसाय ‘कफी शप’ बारे अध्ययन गरे।

कफी शप खोल्ने बेला उनले आधार बनाएका थिए नियमित आउन सक्ने सम्भावित साथीभाइलाई। पोखराको न्युरोडमा सटर भाडामा लिएर २०७६ सालमा खोलेको ‘कफी घर’ विस्तारै चल्न थाल्यो।

‘कफी घर सुरुमै राम्रो भयो। औसतमा बेलुका काउण्टरमा पाँचै हजार भए पनि नगद पाइयो। घरमा दुध किन्न गाह्रो भएन’, उनले सुनाए। विस्तारै व्यपार बढ्दा उत्साहित उनले पुरानो व्यवसाय इन्टेरियर डिजाइन बन्द गरिदिए। श्रीमान् श्रीमती दुवै कफी शपमा समर्पित भए।

कफी शप चल्दै गर्दा उनलाई त्यो ठाउँ उपयुक्त लागेन। ‘कफी पिउने वातावरण यस्तो होइन। शान्त ठाउँ हुनुपर्छ। प्रकृतिसँग जोडिएर पिउनुपर्ने रहेछ। प्राकृतिक कुरालाई प्राकृतिक ठाउँमै खानुपर्छ’ शोभितको दिमागले यस्तै यस्तै सोच्न थाल्यो।

२०७६ चैतमा कोरोना महामारीले देशभर लकडाउन भयो। लकडाउन सबथोक ठप्प भएको बेला शोभित फूर्सदिला बने। त्यतिबेला उनले ‘कफी घर’ कस्तो बनाउने? योजनाका धाँगोहरु बुनेर आकार दिन थाले। ‘हुनलाई मुख्य शहरमै होस् तर शहरमै भएको कफीप्रेमीलाई महशुस नहोस्’ शोभितले अवधाराणा बनाए।

जग्गा खोज्दा न्युरोडमा उनले जग्गा फेला पारे। न्युरोडको मुख्य सडकबाट एक मिनेटको पैदल दूरीमा नेपाली मौलिक घर र दुई रोपनी खाली जग्गा थियो। उनले घरलाई मर्मत गर्ने र खाली जग्गामा कफीको बगैंचा बनाउने योजनासहित भाडामा लिए।

‘ग्राहक भित्र आइसकेपछि वाउ चाहिँ हुनुपर्‍यो, जो मान्छे हरियाली मन पराउँछ भन्ने भयो’, फ्ल्यासब्याक हुँदै त्यतिबेला दिमागले कोरेको खाका सुनाउँछन्।

साथीभाइलाई नयाँ बनाउन लागेको ‘कफी घर’ बारे सुनाउँदा भन्थे, ‘तँ त बौउलाउन लाइस् क्या हो! किन यस्तो ठाउँमा गर्न लागेको?’ उनले न्युरोडमै भाडामा लिएको जग्गामा मोटरसाइकलभन्दा जाने बाटो थिएन।

उनले बुनेको योजनाअनुसार लकडाउनकै बेलामा काम थालेको बताउँछन्। काम त सुरु भयो, उनलाई दोस्रो लकडाउनले धोका दियो। भएभरको ऋण काढेर सपनाको कफी घरमा खन्याउँदा उनलाई आर्थिक संकटले गिजल्यो।

‘बनाउन सुरु गर्दा घरमा नि पैसा थिएन। अलिअलि भएको पुरानै व्यवसायमा डुबेको थियो। पहिलाको व्यपार नजानेर ऋण ८०/९० लाख रुपैयाँ पुगेको थियो’, उनले भने।

उनलाई त्यतिबेला लागेको थियो, ‘म यहाँ पनि सकिनँ भने भाग्दिन्छु। भूमिगत भइदिन्छु। सबैको ऋण तिर्न सक्ने भएपछि नेपाल फर्कन्छु। फेरि जिरोबाट सुरु गर्छुं।’ संकटले गिजोलेपछि उनले नजिकका साथीभाइलाई फोन गरेर दुःख सुनाउँथे, मन हलुंगो हुने गरेर बर्बरी आँसु खसाल्थे। विदेशिने प्रयास गरे। त्यो पनि व्यपारजस्तै असफल भइदियो।

दोस्रो लकडाउनपछि नयाँ बनेको ‘कफी घर’ मा व्यवसाय सारे। विस्तारै कोरोनाको महामारी हटेपछि व्यपारले लय समात्यो। उनको दुःखले कोल्टे फेरेर सन्तुष्टिको चाङहरु दिन थाले। अहिले व्यापार राम्रो छ। ११ जनालाई कफी घरमा रोजगारी दिएका छन्। उनी सगौरव भन्छन्, ‘अहिलेको अवस्थामा पनि कर्मचारीलाई भनेको दिनभन्दा ढिलो तलब दिन पर्‍या’छैन। भाडा, सञ्चालन खर्च पुगिरा’को छ।’ यसअघिका व्यवसायले समेत उपहार दिएको ऋणको ग्राफ शून्यतर्फ झारिरहेको उनले बताए।

कफी घरबाट उनले नयाँ व्यवसाय जन्माइरहेको छन्। विदेशिने र देशमै गर्न चाहाने युवयुवतीलाई ‘बारिष्ठा’, र ‘बारटेन्डर’को तालिम दिन थालेका छन्। उच्च शिक्षा अध्ययनमा जानेका लागि कन्सलटेन्सी भर्खरै सुरुवात गरे।

अध्ययनबिनै सुरु गरेको व्यवसायले घाटा दिने उनले मज्जैले बुझेका छन्। ‘आफैंले आफैंलाई पढ्नुपर्छ। आफैंले पनि काम गर्नुपर्छ साहु पल्टनु हुन्नँ’, अ(सफलता) ले उनलाई सिकाएको पाठ हो। जागिरमा भन्दा व्यवसायमा थुप्रै भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।

विस्तारै व्यपारको राजमार्ग चौडा बनाइरहेका शोभित भन्छन्, ‘मान्छेले हार नखायो भने गर्न सकिने रहेछ। र कतै जानुपूर्व बाटोबारे थाहा हुनुपर्ने रहेछ। पहिला त कहाँ जानुपर्ने हो भनेर हराएको रहेछु…।’ व्यवसाय थाल्नुपूर्व अध्ययन गर्नैपर्ने उनको सुझाव छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?