
लेबनानमा इजरायलले गरेको स्थल कारबाहीलाई लिएर अहिले फ्रान्स र इजरायलबिचको मतभेद बढेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शनिबार फ्रान्सले साथ नदिएपनि यो युद्ध जित्न इजरायल सक्षम रहेको बताएका थिए। साथै उनले राष्ट्रपति इम्यानुएल म्याक्रोको कडा आलोचना गर्दै आफ्नो भनाइमा लाज लाग्नु पर्ने अभिब्यक्ति दिएका थिए।
नेतान्याहूले एक भिडियो सन्देश जारी गर्दै इजरायल आतंकवाद फैलाउने हिजबुल्लाह सँग लडिरहँदा सबै सभ्य देश इजरायलको पक्षमा उभिनु पर्ने मत राखेका थिए। ५ अक्टोबरमा फ्रान्सका राष्ट्रपति म्याक्रोनले इजरायललाई गाजामा आक्रमणका लागि हतियार पठाउने कार्य बन्द गर्नु पर्ने अभिब्यक्ति दिएका थिए। साथै उनले हतियार बन्द गरेपछि मात्रै समस्याको समाधान खोजिने बताएका थिए। केही दिन अघि फ्रान्स सहित बेलायत र अमेरिकाले इजरायललाई युद्व विरामको प्रस्ताव गरेपनि इजरायलले अस्विकार गरेपछि म्याक्रोनले कडा अभिब्यक्ति दिएका थिए।
नेतान्याहूको भनाइपछि फ्रान्सले म्याक्रोनको भनाइको बचाउ गर्दै इजरायल फ्रान्सको राम्रो साथी भएको बताएको छ। म्याक्रोनको सचिवालयले यदि इरान र इरान समर्थित कुनै देशले इजरायलमाथि आक्रमण गरेमा इजरायलको पक्षमा रहेको स्पष्ट पारेको छ।
इजरायलको डिफेन्स फोर्सले शनिबार बताएको छ की उसका सयौं कमाण्डर, सेल्टर, हतियार डिपो, सुरुङ तथा अन्य महत्वपूर्ण स्थानमा आक्रमण गरेको जनाएको छ। आइडिएफले ३० सेप्टेम्बर मा लेबनानमा ग्राउन्ड अप्रेसन शुरु गरेयता अहिले सम्म ४ सय ४० हिजबुल्लाह सदस्यको हत्या गरेको जनाएको छ।