पोखरा- मान्छे बुडाउने तितेपाती, वनमारा, ऐंसेलुका झ्याङ। बर्षौदेखिको बज्जर। आँखै अगाडि थपक्क बसेको पोखरामा कमिलाका ताँती जस्तै घर थपिन थालेपछि पाटालाई जंगलले मिच्यो। थुप्रै बुट्यानले जरो गाडेर फैलनुसम्म फैलिए।
५/७ वर्ष बाँझिएको ३० रोपनी जग्गा हिजोआज चौपट्टै फेरिएको छ। तनहुँको शुक्लागण्डकी नगरपालिका–१ अर्चलेका सात जना जाँगरिला महिला मिलेर मान्छे बुडाउने झ्याङ हप्ता दिन लगाएर फाँडे। फाँडेको झ्याङलाई सर्लक्कै सुताए। सुकेपछि दनदनी आगो दन्काए। त्यसपछि बडो मेहनतले बाँझो फुटालेर पहिलाको जस्तै खेतीयोग्य स्वरुपमा फर्काए।
खेतीयोग्य बारी किन बाँझियो ? देशभरको कथा उस्तै न हो, शहर झर्ने र जहाज चढ्नेको लर्को। ६० वर्षीया रेनुमाया गुरुङ भन्छिन्, ‘बारीका धनीहरु सबै झरे फाँटमा। धनीले गाउँ छाडेर गइहाल्यो। लाखुँले मकै खान पनि दिएन। अनि खेती गर्नै छोड्यो।’
चार वर्षअघि बारीको बाँझो फोर्नलाई हातमा ठेला उठुन्जेल पसिना बगाउने आँट गर्नेहरुमा उनी पनि एक हुन्। ‘बाँझो फोर्न त बेस्सरी दुख भयो’, उनले दुःख सुनाइन्।
अहिले देख्दा ती गराहरु बाँझा थिए र ? झैं लाग्ने भएका छन्। पाखैभरी रहर लाग्ने गरेर पिँडालु र मास झ्याङगिएका छन्। देशैभर गाउँका खेतीयोग्य जमिन बाँझिदा पोखरा मास्तिरको अर्चलेमा हराभरा बनाउन भूमिका गुरुङ (४०) को भूमिका छ।
काम गर्न पाए एक छाक खान्कीले पनि भोक मेटिने भूमिकाले घरको बारीमा पिँडालु फलाएर वर्षेनी ३० हजारसम्मको आम्दानी लिन्थिन्। राम्ररी नपाक्दा कोक्याउँने पिँडालुको डल्लाले आम्दानीको स्वाद त गुलियो नै चखायो। गुलियो आम्दानीले उनको धित मरेन।
उनलाई लाग्यो ‘गाउँका सबै भाउजुबुहारीलाई पनि यो काममा सामेल गराउनुपर्छ। म मात्रै किन आर्यआर्जन गर्ने ? अरुले पनि गनुपर्छ।’ गाउँमा काम गर्नेहरु विस्तारै घट्दैछन्। बाँझो फोरेर खेतीकर्म गरौं भन्दा नमान्ने पो हुन की ? उनलाई दोधारे बनायो।
एक पटक त प्रस्ताव राख्नु नै थियो। भूमिकाले गाउँका भाउजुबुहारीलाई एक्लाएक्लै भेट्दै पिँडालुको आम्दानीबारे सुनाइन्। समूहमा मिलेर काम गर्ने प्रस्तावमा पनि सबैले इच्छा देखाए। त्यसपछि उनले एक दिन साँझ इच्छा देखाएका सबैलाई सँगै घरमा डाकेर समूह बनाइन्। नाम राखियो जलदेवी नमुना कृषक समूह।
सात जना मिलेर सामूहिक खेती गर्न सहमत भएका उनीहरुले गाउँको मून्तिर बषौँदेखि बाँझिएको बारी उपयुक्त देखें। ‘धनीसँग बारी मागें। हजुरहरुको बारी फाड्छु भनें। उनीहरुले हुन्छ भने’ भूमिकाले सुनाइन्।
३० रोपनी क्षेत्रफलमा सुरुको वर्षदेखि पिँडालु र मास लगाएका छन्। घरको बारीमा पनि उनीहरुले पिँडालु, कोदो, मास रोपेका छन्। घरको काम सिध्याएर मात्रै सामूहिक खेतीको काममा हाजिर हुन्छन्। टन्टलापूर चर्को काममा छाताको ओत लागेर गोडमेल गर्छन्। साँझ फेरी थाकेको ज्यानले वस्तुभाउलाई घाँसको भारी बोकेर उक्लन्छन्।
सुरुमा त घरैको बारीको काम सक्ने भूमिकाले बताइन्। ‘घरको काम भ्याएपछि मात्रै यहाँको काम गर्छौं हामी। पहिला यहाँ आयो भने सायद घरको मान्छेहरु रिसाउँछ की भनेर घरको काम भ्याँउछ अनि यहाँ आउँछ’, गुरुङसेनी लवजमा उनी बोल्छिन्।
पाखैभरी मास र पिँडालुले डम्मै छन्। बेलबखत भूमिकाले फेसबुकमा काम गरेको फोटो भिडियो पोस्ट्याँछिन्। पोखरा झरेका बारी धनी हराभरा देखेर खुशी हुन्छन्। सामूहिक खेती सुरु गरुन्जेलसम्म पनि नगरपालिका, वडा र कृषि ज्ञान केन्द्र लगायतबाट सहयोग पाइन्छ भन्ने उनीहरुलाई मेसै थिएन। उसो त उनीहरुले अनुदानको लोभमा खेती गरेका पनि होइनन्। उनीहरुको मेहनतकै कारण अहिले अनुदानमा हाते ट्याक्टर, कुटानी पिसानी मेसिन, सिंचाइका लागि पानी ट्यांकी पाएका छन्।
विषादी नराखिकन उत्पादन गरेको पिँडालु र मास सुरुमा आफूलाई घरमा उपयोग गर्न समूहका सदस्यलाई बराबरी बाँड्छन्। त्यसपछि बाँकी रहेको सबै उत्पादन बिक्री गर्ने भूमिकाले बताइन्। बिक्रीका लागि बजारको समस्या नरहेको उनको भनाइ छ।
पहिलो वर्ष बजारबारे अनविज्ञ हुँदा मास बिक्री गर्न धौं भएको थियो। उत्पादन भएको मास गाउँमा थन्किएको भूमिका बताउँछिन्। त्यसपछिको वर्षमा त खोसाखोस नै हुन्छ। ‘पोहोर त हामीले पुर्याइसक्नु भएन। ग्राहकलाई जति माग थियो त्यति पुर्याउन सकिएन। अर्गानिक मास भनेर खोसाखोस हुन्छ। आफैंले नम्बर पत्ता लगाएर मास किन्नलाई फोन त कति आउँछ कति। बजार नपाउने पीरै छैन’, उनले भनिन्।
पिँडालुको पनि सुरुमा मन्डी नचिन्दा बेच्नै मुस्किल थियो। बजार पुर्याएर के भनेर बिक्री गर्ने आफैंसँग प्रश्न गरेकी थिइन्। जसोतसो पोखरा लगेर बेचिन्। अहिले त पोखराका मन्डीले भूमिकाले ल्याएको भनेपछि सजिलै किन्छन्। उसैगरी उनलाई चिन्छन्।
अहिले उनी आफन्तको जाँदा समेत केही न केही उत्पादन कोशेलीमा आश गरेको हुन्छन् रे। झरी, बादल, चर्को घाम नभनिकन घरको काम सकाएर सामूहिक खेती गरेकी भूमिका औंधि खुशी छन्।
‘काम गरेर एकदमै खुशी छु। मेरा दुईटा भाइ विदेश छन्। उनीहरुलाई नि मेरो काममा सामेल गर्न पाए अझै खुशी हुन्थे’, समूहको अध्यक्षसमेत रहेकी भूमिका थप्छिन्, ‘झगडा गरेनप् आफुसँगै झगडा हुन्थ्यो। टाढा कता हो कता ? अर्काको देशमा काम गर्दा खाछ कि खाछैन भन्ने पीर हुन्छ।’
घरको काम सकाउने वित्तिकै सामूहिक खेती गरेको ठाउँमा ओर्लनुपर्दा लक्ष्मी गुरुङसँग थकान र दुखेसो एकरत्ति छैन। ‘घरमा पनि कोदो रोप्ने मकै रोप्ने काम गर्छ। त्यताको सकेर तल झर्ने हो। दिनभर काम गर्यो बेलुका एक भारी घाँस लाने’, दैनिकबारे उनी बताउँछिन्।
समूहमा गरेको कामले आम्दानी समेत दिएपछि उनलाई सन्तृष्टि मिलेको छ। ‘काम गरे अनुसार दिनको घण्टाको त कहाँ हिसाब हुन्छ र। तर, मनमा चाहिँ सन्तोक हुन्छ’, सन्तृष्टिको पोकोपुन्तुरो वार्तामा खोतल्छिन्।
आफ्ना लागि आफ्नो कमाइ खर्चन पाएपछि उनको स्वाभिमान अग्लिएको छ। ‘आफूले कमाएको पैसा जेमा लगानी गरेपनि पाइयो । श्रीमानको पैसा दिनुन दिनु भनेर माग्नुपर्यो’, उनले भनिन्, ‘लौ मैले कमाइ गरेको पैसा भनेर श्रीमानलाई दिन पनि पाइयो। खुशी छु।’
गाउँघरका सबै विदेशिएर अर्मपर्म गर्ने मान्छे पाउन छाडेपछि भने उनलाई न्यास्रो लागेको छ। बाँझिएका गाउँका पाखापखेरा फाँडेर रमाउँदै कमाउन उनको सुझाव छ।
भिडियो: