
प्युठान- पुरुषहरूले मात्र बाजा बजाएर नाचगान गरिने ऐतिहासिक मेलामा पहिलो पटक महिलाहरूले बाजा बजाएका छन्।
प्युठानको नौबहिनी गाउँपालिका- ६ मा पर्ने माक्रे मन्दिरको उद्घाटन तथा ऐतिहासिक पूर्णिमा मेलामा पुरुष वाद्यवादकसँगै महिलाले पनि बाजा बजाएका हुन्।
पालिकाको सहयोग तथा अन्य माध्यमबाट तालिम लिएका महिलाहरूले बाजा बजाएको देख्दा स्थानीय अन्य महिलाहरूले पनि खुसी व्यक्त गरेका छन्। ‘छोरी मान्छेहरू बोल्न, नाच्नसमेत धक मान्ने हुन्थ्यो कुनैबेला। अब त यसरी नाच्ने भए। खुसी लाग्छ,’ स्थानीय शिक्षक गंगा घिमिरेले भनिन्।
बाजा बजाउने महिलाहरूलाई पालिका उपाध्यक्ष विस्ना थापा (केसी)ले खादामालाले सम्मान गरेकी थिइन्।
तत्कालीन पालिका अध्यक्ष शिव रिजात र वडा नम्बर ६ का अध्यक्ष माधवसिंह केसीको परिकल्पनामा निर्माण भएको उक्त मन्दिरको उद्घाटन लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)ले गर्ने भनिए पनि व्यस्तताका कारण उनी उपस्थित हुन सकेनन्।
पालिका अध्यक्ष दिलबहादुर थापा र उपाध्यक्ष विस्नालगायतको उपस्थितिमा मन्दिरको उद्घाटन गरिएको हो।
मेलामा स्थानीय बाजागाजा, सरायनाच, देउसीभैलो, भजनलगायत साँस्कृतिक प्रस्तुतिसमेत गरिएको थियो।
थप तस्बिरहरूः