
काठमाडौँ – निर्मला कुर्मीको न्यायका लागि आज पनि माइतीघर मण्डलामा प्रदर्शन भएको छ। ७३ दिनदेखि निर्मला कुर्मीका लागि न्याय माग्दै पीडित पक्षले धर्ना दिँदै आएका छन्।
माइतीघरमा धर्ना बस्दै आएका उनीहरु आइतबार साँझ सिंहदरबारतर्फको निषेधित क्षेत्रमा जान खोजेपछि ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसअघि कुर्मीको हत्याका मुख्य आरोपी बादशाह कुर्मीलाई लुम्बिनी प्रदेशमन्त्री बनाएकाे भन्दै उनीहरूले विरोध गर्दै आएका थिए। तर अहिले भने शाहले पदबाट राजिनामा दिइसकेका छन्।
बाँकेको नेपालगञ्ज–१७ की निर्मलाका श्रीमान्को २०६२ मा मृत्यु भएको थियो। श्रीमान्को मृत्युको चार वर्षपछि २०६६ मंसिरमा कुर्मीका दुई छोराको १० दिनको अन्तरालमा रहस्यमय तवरमा मृत्यु भएको थियो। श्रीमान् र छोराको मृत्युपछि कुर्मीको घरजग्गा सुरक्षित राखिदिन्छु भन्दै बादशाह कुर्मीले लालपूर्जा र निर्मलाको नागरिकता लिएका थिए।
त्यसपछि ०७५ मा निर्मला बेपत्ता भइन् र उनको नाममा रहेको घरजग्गा पनि अरुको नाममा सारिएको थियो। अपहरणपछि कुर्मीको हत्या गरेको भन्दै नेपाली कांग्रेसका नेतासमेत रहेका बादशाह कुर्मीविरुद्ध उजुरीसमेत परेको छ।
अधिकारकर्मी रुबी खानसहितले निर्मला कुर्मीले न्याय पाउनुपर्ने मागसहित ०७८ असोजमा नेपालगञ्जदेखि काठमाडौँसम्म पैदल यात्रा गरेका थिए।