
काठमाडौँ- दशरथ रङ्गशाला लामो समयपछि भरिभराउ समर्थकले ढपक्क ढाकिएको थियो। भारत र नेपालको फुटबल मात्र होइन जुनसुकै खेलमा दर्शकहरु तुलनात्मक रुपमा अलि बढी पछ्याउँछन्। कम्तिमा भारतलाई नेपालले हराएको जस्ता खेलमा दर्शनले बढी नै रुची राख्छन्।
यस्तोमा लगातार दोस्रो पटक दशरथ रङ्गशालाले साफ महिला फुटबल आयोजनाको जिम्मा पाउँदै गर्दा भारत, बंगलादेश र नेपालबीच कुनै न कुनै स्टेजमा भेट हुने पक्का थियो। यस्तोमा नेपालले यो पटक पनि सेमिफाइनलमै भारतविरुद्ध प्रतिस्पर्धाको समीकरण बन्यो।
पछिल्लो समय घट्दो फुटबल साख र दर्शक क्रिकेटमा ‘सिफ्ट’ भएका हल्लाबीच महिला फुटबललाई समर्थन गर्न आउने दर्शकको ‘फ्लो’ रोक्न आयोजकलाई हम्मे परेको थियो। अत्याधिक दर्शकको चापले स्टेडियमका सिटमात्र हैन भर्याङहरु पनि भरिएका थिए।
जितपछि खुसि साट्ने क्रममा स्ट्राइकर सावित्रा भण्डारीले दर्शकलाई धन्यवाद दिन विर्सिनन्। उनले भनिन् ‘यति धेरै माया हामीलाई गर्दा स्वभाविक खेल खेल्न सकेनौं तर दोस्रो हाफमा दर्शकले हाम्रो जिउमा काँडा उमारिदिनु भयो। जसले गोल सम्भव भयो।’
यहि भरिभराउ मैदानमा अपेक्षित फुटबल हुन सकेन। अनपेक्षित घटनाका साक्षी तमाम दर्शकले पुन एकपटक नेपाली फुटबललाई जोगाए। हजारौं दर्शकमाझ भुटानी रेफ्री ओम चोकीले गरेका केही निर्णय विवादास्पद बने। जसले दर्शकलाई ‘उद्वेलित’ मात्र बनाएन पटक-पटक गरेर खेल घन्टौंसम्म रोकियो।
रेखाको कार्डले निम्त्याएको बबन्डर
दशरथ रङ्गशालामा पहिलो हाफ तुलनात्मक रुपमा शान्त बन्यो। खेल अपेक्षित रुपमा दुबै टिमले प्रतिस्पर्धात्मक खेले। पाएका सिमित अवसरमा दुवै टोली चुके। तर दोस्रो हाफमा रेफ्रीलेनै खेललाई अनावश्यक रुपमा ‘तनावपूर्ण’ बनाउने भूमिका खेल्दा रङ्गशालामा ‘दुर्घटना’ को जोखिम बढेको थियो। तर दर्शकको संयमताले रोकिएको खेलले पूर्णता पायो नतिजा नेपालको पक्षमा आयो।
तर, यो घटनाको टर्निङ प्वाइन्ट रेखालाई देखाइएको दोस्रो पहेँलो कार्ड थियो। तुलनात्मक रुपमा पहिलो पहेँलो कार्ड पाएपछि दोस्रो पहेँलो कार्ड गम्भीर गल्तीमा दिने गरिन्छ। तर सामान्य गल्तीमा दोस्रो पहेँलो कार्ड पाएर मैदान छोड्दै गर्दा दर्शकको हुटिङ र बोतल प्रहारले खेल केही समय रोकियो। तर पुन खेल सुरु भयो। १० खेलाडीमा समेटिएको नेपाल बलियो भारतसँग स्वभाविक दबाबमा पर्ने नै भयो। जारी प्रतियोगितामा नेपालको तर्फबाट सर्वाधिक गोलकर्ता रेखाको अभाव नेपालले फाइनलमा पनि महसुस गर्ने पक्का छ।
भारतको गोल, रेफ्रीको ‘ब्लन्डर’
१० खेलाडीमा सिमित भएको नेपाल विरुद्ध भारतले अपेक्षित अग्रता लियो। जब अग्रताको खुसिमा भारतीय खेलाडीहरु मैदानमा झुमेका थिए। त्यहिबेला रेफ्री चोकीले अर्को विवादास्पद निर्णय गर्न पुगिन्। गोलको सेलिब्रेसनका लागि ‘फिफा’ को नियमले पनि पर्याप्त समय दिने गर्छ। यस्तोमा भारतले सेलिव्रेसन गरेकै समयमा नेपाललाई बल चलाउन दिएर। रेफ्रीको अनुमतिले बल चलाएको नेपालले सहज रुपमा खाली पोस्टमा गोल गर्यो। प्रीति राईले लङ रेन्च सटमा कुनै गल्ती नगरी पोस्टको दिशा दिइन्। लगतै फिल्ड रेफ्री चोकीले नेपालको गोललाइ मान्यता दिइन्। तर यो विशुद्व फुटबल भावना विपरित थियो। जसको विरोध भारतले गर्यो। ‘फोर्थ अफिसियल र लायन्स म्यानहरु’ ले पनि यो निर्णयमा सहमति जनाउन सकेनन्। लगतै रेफ्रीले आफ्नो निर्णयबाट पछि हट्दै गोललाई ‘अयोग्य’ घोषित गरिन्। एकपछि अर्को रेफ्रीको गल्तीले भरीभराउ रङ्गशालामा दर्शकलाई उत्तेजित बनाउन के नै चाहिन्थ्यो र रेफ्रीको ह्युमन ‘इरर’ले खेल पुनः अवरुद्ध बन्यो। नेपाली खेलाडी र अफिसियल आक्रोशित नहुने कुरै भएन। जसले खेल पुन रेफ्रीको बन्धक बन्यो लामो समय।
खेल खेल्ने निर्णयले जोगिएको साख
स्वभाविक रुपमा नेपाल र नेपाली अफिसियलहरुले रेफ्रीले नेपालको गोललाई मान्यता नदिए खेल नखेल्ने बताएर करिब २ घन्टा मैदानमा खेल हुन सकेन्। तर आयोजक, फिफा र एएफसी जस्ता अन्तर्राष्ट्रिय फुटबल निकायको कानून र सम्भावित प्रतिबन्धबाट बच्न नेपालले रेफ्रीको निर्णय स्विकार्नुको विकल्प थिएन। यस्तोमा ढिलै भए पनि एन्फा पधाधिकारी र म्याच कमिसनर र रेफ्रीहरुले खेलाडीलाई खेलका लागि तयार पारे। जसले नेपालमा फुटबलको सामान्य इज्जत ध्वस्त हुन बाट जोगियो। आयोजक राष्ट्रनै खेल नखेल्ने निर्णयमा पुगेको भए दर्शकले जितको यो खुसी सेलिब्रेसन गर्न त पाउने थिएनन् नै साथमा सम्भावित प्रतिवन्धको जोखिममा नेपाल पर्ने सम्भावना थियो।
दर्शकको साथ र सावित्राको जोशले दिलाएको बदला
अधिकांश समय रोकिएको खेल सुरु हुन साथ सावित्रा भण्डारीले भारतका दुइ डिफेन्डर बिट गर्दै गरेको गोल दर्शनीय थियो। जसले दर्शकमा आशामात्र जगाएन नेपालको जितको आधार तयार गर्यो। निर्धारित समय १-१ गोलको बराबरी भएपछि । सिधै पेनाल्टी सुटआउटमा पुगेको खेलमा नेपालले कुनै गल्ती गरेन। भारतको भने पहिलो प्रहारनै बारमा लागेर फर्कियो। त्यतिकै निराश देखिएको भारतको अर्को एउटा प्रहारले अञ्जना रानाले बचाउँदै नेपाललाई पेनाल्टीमा ४-२ को जित निश्चित गरिन्।
संभवत दर्शकले जोगाएको नेपाली फुटबल बुधबार अर्को एउटा इतिहासका लागि मैदान उत्रिँदै छ। यो पटकको प्रतिद्वन्दी बंगलादेश हुने छ। गत संस्करणमा बंगलादेशसँगै फाइनल गुमाएको नेपाल यो पटक कम्तीमा घरेलु दर्शकलाई तिहारमा ‘ट्रफी’ उपहार दिन लालायित छ। तर बलियो बंगलादेश विरुद्ध फेरी पनि घरेलु दर्शकको यो उत्साह निरन्तर हुने विश्वास स्वभाविक अपेक्षित छ।