
पोखरा- तनहुँको भीमाद नगरपालिका–८ अरौदीका गोविन्द अधिकारीले ६ वर्षदेखि तिहारलक्षित सयपत्री फूलको खेती गर्दै आइरहेका छन् ।
बजारबाट दिदीले किनेर ल्याएको मालाबाट प्रेरित भइ सयपत्री फूल खेतीमा लागेका उनले यसपाली टिटी प्रजातिको फूल लगाएका छन् ।
उनको बारीमा तीन हजार सयपत्री ढकमक्क फुलेका छन् । ढकमक्क सयपत्री फूलेर मुस्कुराउँदा पनि गोविन्द अझै खुल्न सकेका छैनन् । किनकी पोहोर फूलको थुंगाले हिर्काएर लागेको उनको मनको घाउ अझै खाटो बसेको छैन ।
अघिल्ला बर्षहरुमा बजार ठिकठाक रहेपछि गोविन्दले गतवर्ष ५ रोपनी खेतमा त धान नरोपेर सयपत्री फूलाए । खेतबारीमा लगाएको १३ हजार कलकत्ते प्रजातिको सयपत्री विरुवा फुलेर खेर गए ।
दिदीबहिनीले दाजुभाइको गलामा माला बनाएर लगाइदिनुपर्ने सयपत्री बिक्री नभएर गोविन्दलाई निराश बनाइदियो । भारतीय बजारबाट सस्तोमा मूल्यमा भित्रिएपछि गोविन्दको श्रम पसिना सिञ्चित सयपत्री फूलले बजारै पाएन ।
फूल रोपेको खेतलाको पैसा पनि नउठेपछि उनको चाख मर्यो । ‘फूल बेचेर बिउको त कुरा छाडौं खेतलाको मूल्य नै उठेन’, उनले सुनाए । खनजोत, गोडमेलको मूल्य पनि नपाएपछि उनले फूलखेती नगर्ने सोच बनाए ।
तर, मन नमानेपछि निकै थोरै लगाएका उनले यो वर्ष बजार भने राम्रो देखेका छन् । ‘यो साल अलि आशावादी छु गतवर्षको घाटाबाट केही उठिन्छ की भन्नेमा’, उनले भने ।
किसानलाई टिकाउन स्थानीय सरकारले प्रयास नै नगरेको उनको गुनासो छ । गत वर्ष गोविन्दको जस्तै अनुभव रह्यो अर्का किसान शुसन पौडेलको ।
म्याग्दे गाउँपालिका–५ मा उनले फुलाएको फूलले बजार पाउनुको सट्टा बारीमै सुकेर गयो । सयपत्रीको सम्भावना देखेर होमिएका उनलाई बजारले पहिलो गाँसमा ढुंगा उपहार दियो ।
पहिलो पटक नै फूल खेर फालेका उनले चटक्कै छोडेनन् । म्याग्दे गाउँपालिकाकाले हौस्याएपछि यसपालि पनि सुसनले सयपत्री फूलाएका छन् ।
‘यो वर्ष बजार राम्रो भएकाले फूल सबै बेचेर मनग्य आम्दानी लिन सक्छु’, उनको विश्वास छ । भारतीय बजारबाट ल्याइने सयपत्रीको प्रतिबन्ध लगाइने हो भने सम्भावना राम्रो रहेको उनको भनाइ छ ।
‘भारतबाट आउने र प्लाष्टिकका फूलहरुलाई प्रतिबन्ध लगाउनुपर्छ । स्थानीय उत्पादनलाई किसानको मर्म बुझेर प्रयोग गर्दिनुभयो भने उत्पादनमा लाग्न प्रेरित गर्छ’, उनले भने ।
पाँच वर्षदेखि व्यवसायिक सयपत्री फूल रोपेकी शुक्लागण्डकी नगरपालिका–८ डहरेकी मञ्जुकुमारी श्रेष्ठलाई हतारो छ । तिहार नजिकिएसँगै फूल टिप्ने, माला गाँस्ने र अर्डर पु¥याउन उनलाई भ्याइनभ्याइ देखिन्छ ।
आफैंले काम गर्दा फूल बिक्री नहुँदासमेत कम क्षति व्यहोर्नुपर्ने उनको अनुभव छ ।