
काठमाडौँ – कोटेश्वरमा रहेको सरस्वती बाटिकानजिक भीड देख्न सकिन्छ। त्यो भीड हो, नेपाली महिला राष्ट्रिय टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’काे चित्रसँग फोटो खिच्नेहरुको।
सरस्वती युवा क्लबले निर्माण गरेको सरस्वती बाटिकामा बनाइएकाे त्याे साम्बाकाे चित्रमा फाेटाे खिच्नैका लागि बच्चादेखि युवासम्म त्यहाँ पुग्ने गरेका छन्।
साथै त्यही स्थानमा नेपाली म्याराडोना भनेर परिचित फुटबलर स्वर्गीय मणि शाहको पनि चित्र बनाइएकाे छ। उक्त ठाउँमा काठमाडाैँ महानगरपालिकाले अनुमति दिएपछि चित्रहरु बनाउन थालिएकाे हाे।
साम्बाको र शाहको चित्र बनाएका कलाकार डीबी भण्डारीले काठमाडौँ महानगरले आफूलाई यस कार्यका लागि खटाएको बताए।
उनले महानगरका अन्य स्थानमा पनि चित्रहरु बनाएका छन्। सरस्वती क्लबका अध्यक्ष उत्तम भण्डारीले आफूहरूले महानगरसँग आर्थिक सहयोगभन्दा पनि यस बाटिकाको लागि सहयोग माग गरेको बताए।
उनले भने, ‘हामीले मेयर सापलाई यस क्षेत्रलाई सरसफाइदेखि बिरुवा रङरोगनका आग्रह गरेका थियौँ। उहाँले पनि त्यसमा हामीलाई सहयोग गर्नुभयो।’
त्याे ठाउँमा पहिला झाडी थियाे। उक्त ठाउँमा फुटबलको चित्र थियो। सफाइ गर्ने क्रममा फुटबलकाे चित्र देखेपछि आफूहरुलाई साम्बाकाे पनि चित्र बनाउनपर्छ भने लागेकाे अध्यक्ष भण्डारीले बताए। उक्क कुरा महानगरका प्रमुख बालेन शाहसँग प्रस्ताव राखेकाे र शाहले पनि अनुमति दिएपछि चित्र बनाउन सुरु गरेकाे उनकाे भनाइ छ।
उनले पुरुष र महिलाकाे प्रतिनिधित्व गर्ने गरी चित्र बनाएकाे बताए।
उनले भने, ‘पहिला यहाँ तीन ठाउँमा फुटबलको चित्र थियो। यो साफमा साम्बाको गोलले नेपाल फाइनलमा पुग्न सफल भयो। हामीले उनको चित्र महिला फुटबल टिमलाई प्रतिनिधित्व हुने गरी बनाएका हौँ। अनि मणि शाह त नेपालको म्याराडोना नै हुनु भो। अहिलेलाई पुरुष र महिला प्रतिनिधित्व गर्ने गरी बनाएका छौँ। अब अरूको किन नबनाएकाे भनेर प्रश्नहरु पनि आएका छन्। तर, एक त यहाँ ठाउँ सानो। खासमा साम्बाले सेमिफाइनलमा जुन गोल गरिन्, त्यसले ठूलो अर्थ राख्यो।’