अमेरिका कि चीन? कि चीन र अमेरिका?

अमेरिका कि चीन? कि चीन र अमेरिका?
+
-

रोचक व्यक्तित्वका स्वामी हुन् केभिन रड। अस्ट्रेलियाका दुई पटकका प्रधानमन्त्री र हाल अमेरिकाका लागि अस्ट्रेलियाका राजदूत।

प्रधानमन्त्री भए, त्यसपछि विदेश मन्त्री भए। अनि फेरि प्रधानमन्त्री भए र वर्तमानमा राजदूत। दुई गहन पुस्तकका लेखक उनी अन्तर्राष्ट्रिय अखबारहरूमा लेखिरहन्छन् र चीन मामिलाका विज्ञ मानिन्छन्। अस्ट्रेलियाका चीनप्रति विशेष झुकाव राख्ने राजनीतिज्ञ र कूटनीतिज्ञ हुन् उनी।

सेप्टेम्बर २००७ मा अमेरिकी राष्ट्रपति जर्ज बुश अस्ट्रेलिया भ्रमणमा थिए। त्यसै बखत आफ्नो भेटको अवसरमा अमेरिकी राष्ट्रपतिलाई उनले दुई पुस्तक उपहार दिए। एउटा पुस्तक त अस्ट्रेलियाका दोस्रो विश्वयुद्ध ताकाका अत्यन्त लोकप्रिय र अमेरिका-अस्टेलिया मित्रताका ठूला समर्थक पूर्वप्रधानमन्त्रीको बारेमा थियो र अर्को पुस्तक एक विख्यात अमेरिकी पत्रकार जोसुवा कुर्लन्जिक लिखित चीनले कसरी आफ्नो आकर्षण र मोहक आक्रमणद्वारा विश्वलाई कसरी परिवर्तन गर्दैछ भन्नेबारे थियो। (१)

पुस्तकको मर्म थियो- शक्ति र सामर्थ्यलाई बुझ्ने-बुझिने परम्परागत मानदण्डमा अमेरिकाको तुलनामा चीन धेरै कमजोर राष्ट्र हो तर चीनले विश्वभरी आफ्नो आकर्षणको प्रभाव विस्तार गरेर अमेरिकालाई पछि पारिरहेको छ। कुर्लन्जिकले यहाँ सफ्ट पावर अर्थात् आकर्षण र प्रभावको शक्तिको प्रसङ्ग झिकेका छन्। (२)

तर अन्तर्राष्ट्रिय राजनीतिमा “सफ्ट पावर”को अवधारणालाई प्रतिपादन गर्ने हार्वर्ड प्राध्यापक र क्लिन्टन प्रशासनका सहायक रक्षामन्त्री जोसेफ स्यामुएल नाई ( जुनियर) (३) हुन्।

आफ्ना गहन लेखहरूमा र पुस्तकमा नाईले कुनै मुलुकको सैन्य शक्ति – बन्दुक, तोप, लडाकु जहाज, विमान र सेना, सुरक्षा एजेन्सीहरू र आर्थिक सामर्थ्यलाई हार्ड पावर भनेर उल्लेख गरे। अर्थात् त्यस्तो हार्ड पावर भनेको सैन्य र आर्थिक शक्तिको बलमा धम्की र प्रलोभनमा पारेर अर्को राज्यलाई आफ्नो निर्णय, स्वार्थ वा सरोकारमा सहमत बनाउने वा आफ्नो पक्षमा उभ्याउने शक्ति भनेर बुझिन्छ।

विश्व राजनीतिमा अर्को मुलुकलाई आफ्नो पक्षमा ल्याउने वा आफ्ना रणनीतिक, आर्थिक, राजनीतिक वा कूटनीतिक लक्ष्य प्राप्तिमा अर्को मुलुकको समर्थन, सहयोग वा साझेदारी जुटाउन शक्ति प्रयोग वा त्यसको धम्की, आर्थिक प्रतिबन्धहरूबाहेकको अर्को बाटो पनि छ।

त्यो भनेको राजनीतिक, सामाजिक र आर्थिक तथा सांस्कृतिक क्षेत्रमा, समग्र मानव समुदायको हितका सवालमा कुनै मुलुकले अवलम्वन गरेका मूल्य र विश्वासहरूको बलमा, मुलुकहरूबीचका साझा हित र सरोकारका क्षेत्रहरूमा, आपतविपदमा परस्पर सहयोग आदि गरेर अर्को मुलुकको मित्रता र हार्दिकता आर्जन गर्ने नीतिद्वारा विश्वास, सम्मान र सहयोग आर्जन गर्ने बाटो वा रणनीति।

सङ्क्षेपमा त्यसलाई भन्दा आकर्षण वा प्रलोभनको शक्ति भनिन्छ। यहाँ के बुझ्नु पर्दछ भने त्यस्तो आकर्षण र प्रलोभनको शक्ति ठूला सैनिक र आर्थिक शक्ति सङ्ग मात्र हुँदैनन् अपेक्षाकृत साना र कमजोर राष्ट्रहरू पनि त्यस्तो आकर्षण र प्रलोभन शक्तिका स्वामी हुन्छन्।

राष्ट्र मात्रै नभएर व्यक्ति पनि त्यस्तो आकर्षण शक्तिका स्वामी हुन्छन् र राज्यहरूको व्यवहार र आपसी सम्बन्धमा व्यक्तिको त्यस्तो शक्तिले भूमिका निर्वाह गरेको हुन्छ – जस्तो दलाई लामा।

भारतमा निर्वासित जीवन बिताइरहेका उनी पोपपछिका विश्वका सर्वाधिक सम्मानित धार्मिक नेता त मानिन्छन् नै। उनको व्यक्तित्वले चीनको भारत र अमेरिका लगायतका मुलुकहरूसँगको सम्बन्धमा प्रभाव पारिरहेको छ र यहाँसम्म कि १९६२ को चीनले भारतमाथि गरेको आक्रमणमा दलाई लामाको भारतमा भएको निर्वासन र त्यहाँ उनले पाएको सम्मान र सुरक्षाका कारण दुई मुलुकवीच उत्पन्न तनावको पनि भूमिका रहेको मानिन्छ। (४)

उदाहरण नेपालकै पनि दिन सकिन्छ- यहाँको विशिष्ट धार्मिक र सांस्कृतिक परम्परा, धार्मिक र सांस्कृतिक, प्राकृतिक पर्यावरण, मानिसहरूका विविध जीवन शैली, भेष-भूषा, खानपान, पशुपतिनाथ, स्वयम्भुनाथ लगायतका सयौँ मन्दिरहरू, यहाँका खास गरेर नेवार समुदायले हजारौँ वर्षदेखि संरक्षण गर्दै आएका विराट धार्मिक र सांस्कृतिक परम्पराहरू, जनकपुर धाम, लुम्बिनी, मुक्तिनाथ, हिमाली क्षेत्र – त्यहाँका जल साधन, नेपालका विभिन्न क्षेत्रका र विविध जीवजन्तु र वनस्पतीहरूको बासस्थान रहेका संरक्षण क्षेत्रहरू नेपालका प्रमुख आकर्षणका केन्द्र हुन्।

त्यस्तै, एक मात्र यहुदी राष्ट्रको रुपमा संसारभरीका यहुदीहरूको आकर्षण र सम्मानको केन्द्र इजरायल छ र उसको सुरक्षा, शक्ति र र समृद्धिको सबैभन्दा शक्तिशाली आधार भनेको ऊ विश्वको एक मात्र यहुदी राष्ट्र हुनु हो।

संसारभरका क्रिश्चियनहरूको आस्थाको केन्द्र भेटिकन र इस्लामको केन्द्र साउदी अरबको मक्का भएजस्तै विश्वको एक मात्र हिन्दु राष्ट्र्को रूपमा नेपाल संसारभरीका हिन्दुहरूको आस्था र सम्मानको केन्द्र थियो र त्यो एक किसिमले नेपालको बलियो सुरक्षा कवच थियो।

यस्ता धार्मिक र सांस्कृतिक केन्द्रहरू र त्यसका मूख्य प्रवर्तक तथा प्रतिनिधि पात्रहरूका जन्म-स्थलहरू पनि स्वयंमा आकर्षण शक्ति अर्थात् सफ्ट पावरको विशाल भण्डार हुन्।

१.’पानीले आफू बग्ने बाटो आफैं बनाउँछ’


पुनः मूल विषयमै प्रवेश गरौँ, समसामयिक विश्व राजनीतिमा रूस अमेरिकाको प्रतिद्वन्द्वी राष्ट्र देखिएको भएता पनि त्यो अल्पकालीक प्रतिद्वन्द्विता मात्रै हो।

दुई मुलुकबीच ठूलो सैद्धान्तिक र वैचारिक मतभेद नभएकोले अमेरिका वा रूसमा मूल नेतृत्व परिवर्तन हुनेबित्तिकै त्यस्तो प्रतिद्वन्द्विता समाप्त हुने प्रवल सम्भावना छ तर चीनको हकमा त्यो सम्भव छैन। किन कि वैचारिक, रणनीतिक र भूराजनीतिक सबै सवालमा चीन अमेरिकाको प्रमुख प्रतिद्वन्द्वी राष्ट्र हो।

दुइटा सन्दर्भमा ध्यान दिऔं, एउटा हो – चीनमा नेतृत्वमा द्वन्द्व र ठूलो वैचारिक उथलपुथल चलिरहेकै थियो। त्यसैबीच माओको निधन भयो। माओपछि हुवा गो फेङ्ग नेतृत्वमा आए। उनी माओको नेतृत्वबाट देङ् सियाओ पेङ्गमा नेतृत्व हस्तान्तरण गर्ने सङ्क्रमणकालीन नेता थिए। यहाँ के स्मरणीय छ भने जनवरी १९७६मा चीनमा कम्युनिस्ट शासन व्यवस्थाको मूल स्तम्भको रूपमा रहेका चाउ एनलाईको निधन भएको थियो। त्यसको आठ महिनापछि चीनको कम्युनिस्ट व्यवस्थाका एकछत्र नायक मात्र नभएर विश्व कम्युनिस्ट आन्दोलनकै एक प्रमुख नेता माओको पनि निधन भयो।

चाउ एनलाई ( झाओ ऐनलाई ) र माओ झेदोङ्गको निधनको बीचको अवधिमा चीनमा माओ कि कान्छी पत्नी जियाङ् क्विङ्को नेतृत्वमा अन्य तीन जना कम्युनिस्ट अधिकारीहरूको अराजक शासन चरम सीमामा पुगेको थियो।

हुन त ‘ग्याङ्ग अफ फोर’को नामले चिनिने उक्त समूहले माओको सांस्कृतिक क्रान्ति (१९६६-७६) को अवधिभर नै चाउ ऐनलाई नेतृत्वको मध्यमार्गी वैध शासन सत्तालाई छेउमा धकेलेर चीनको वास्तविक शासक मण्डलको रूपमा मनपरी गरिरहेको थियो तर पनि चाउ एन लाईको व्यक्तित्वले त्यो समूहको उग्रतालाई केही नियन्त्रणमा राखेको थियो।

माओको निधनका कारण संरक्षणविहीन जस्तै रहेको त्यो कट्टरपन्थी समूह र उदारवादी समूहवीचमा भएको सत्तासङ्घर्षमा उदारवादी समूहका नेता र सांकृतिक क्रान्तिको अवधिमा दण्डित नेता देङ् सियाओ पेङ्गलाई पार्टीमा पुनर्स्थापना गर्ने कुरा उठ्दा माओपछि नेतृत्वमा आएका हुवा गो फेङ्ले पार्टीको एउटा महात्वपूर्ण सम्मेलनमा भनेका थिए – ‘पानी परेपछि पानी बग्ने बाटो पनि पानीले आफैं बनाएझैँ र कुनै फल पाकेपछि त्यो फल आफैँ झरे झैँ परिस्थिति निर्माण भएपछि देङ्गको पुनर्स्थापना पनि स्वाभाविक रूपमा हुन्छ।’ (५)

हुवा गो फ़ेङ्ले भने जस्तै देङ्को पुनर्स्थापना भयो, बाँकी इतिहास स्पष्ट छ।

देङ्ले एकैसाथ मुलुकमा आर्थिक उदारीकरण,पार्टी राजनीति, शासन व्यवस्था, विदेश र रक्षा रणनीतिमा व्यापक परिवर्तनको नेतृत्व गरे।

१५ वर्षअघि ब्राजिल, भारत, चीन र रूसको प्रथम अक्षरबाट बनेको एउटा खुकुलो संगठनमा दक्षिण अफ्रिकासमेत सम्मिलित भएर बनेको ब्रिक्समा हाल १० राष्ट्र सदस्य छन् र हालै उक्त संस्थाको रूसको कजान शहरमा सम्पन्न शिखर सम्मेलनमा सदस्य र आमन्त्रित गरी २५ राष्ट्र साहभागी थिए।

मूलत: विश्व व्यवस्थामा अमेरिका र अन्य पश्चिमी मुलुकहरूको राजनीतिक, कूटनीतिक र आर्थिक प्रभुत्व र अन्तर्राष्ट्रिय मामिलामा आफूहरूविरूद्ध निर्माणहुने दबाबलाई छेक्ने र त्यसलाई चुनौती दिने उद्देश्यले गठित उक्त संगठनमा रूस र चीनको विशेष लक्ष्य र महत्वाकांक्षा रहने गरेको छ।

पश्चिमी मुलुकहरूको प्रभुत्व रहेको विश्व बैंक अन्तर्राष्ट्रिय मुद्रा कोषको विकल्पमा नयाँ विकास बैंक र आफ्ना अन्तर्राष्ट्रिय कारोवारहरूमा डलरलाई विस्थापित गर्न छुट्टै मुद्रा प्रचलनमा ल्याउने र त्यो नहुञ्जेल रूस, चीन र भारतजस्ता मुलुकका मुद्रालाई नै त्यस्तो अन्तर्राष्ट्रिय कारोबारमा प्रचलनमा ल्याउने उद्देश्य उक्त समूहको भएता पनि अन्तर्राष्ट्रिय व्यापारिक र आर्थिक कारोबारका जटिल बैंकिङ र मौद्रिक प्रणालीका साथै अन्तर्राष्ट्रिय विश्वसनीयताको सवालका कारण त्यो सम्भव बनिरहेको छैन।

एसियामा चीनको नेतृत्व र प्रभुत्व स्थापना गर्ने उसको महत्वाकांक्षामा अमेरिका बाधक रहेको अवस्थामा आफ्नै नेतृत्वको नयाँ विश्व व्यवस्थालाई स्थापना गर्ने उद्देस्यले चीनले बहुचर्चित बेल्ट रोड इनिसिएटिभ (बि.आर.आई) का साथै ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जि.एस.आई) ग्लोबल डिभेलपमेन्ट इनिसिएटिभ (जि.डि.आई) र ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ (जि.सि.आई) जस्ता रणनीतिक कार्यक्रमहरू जारी गरेको छ।

एक किसिमले यसैको निरन्तरताको क्रममा अक्टोबर २२-२४ मा सम्पन्न ब्रिक्स शिखर सम्मेलनका विविध विषय सूची थिए, तर मूख्य चर्चामा तीन विषय रहे –

पहिलो, चीन र रूसको नेतृत्वमा एउटा नयाँ विश्व व्यवस्थाको परिकल्पनाको अवस्था, दोस्रो, रूसलाई अन्तर्राष्ट्रिय समुदायबाट अलग थलग राख्ने अमेरिका र पश्चिमी राष्ट्रहरूको प्रयासको सफलता/असफलता र तेस्रो, चीन र भारतका सर्वोच्च नेतृत्वहरू अर्थात् सी जीनपिङ र नरेन्द्र मोदीबीचको चार वर्षपछिको भेटघाट।

स्मरणीय छ, २०२० को जुन महिनामा लद्दाखको गल्वान उपत्यकाको भारत र चीनको सीमानाको वास्तविक नियन्त्रण रेखामा दुई मुलुकबीच गैरपारम्परिक हतियारसहित चिनियाँ पक्षले गरेको आक्रमणमा २० भारतीय र पाँच चिनियाँ सैनिकको हत्या भएको थियो। उक्त घटनापछि भारत र चीनका नेताहरूबीच भएको यो नै पहिलो भेटवार्ता थियो।

२. “सर नपरुञ्जेल आफ्ना क्षमता र सामर्थ्यको प्रदर्शन नगर र उचित समयको प्रतीक्षा गर “


यहाँ अर्को महत्वपूर्ण विषय के रहेको छ भने विश्वका प्रमुख शक्ति राष्ट्रहरूमा भारतको गणना हुने भए पनि आजको विश्वका दुई ध्रुव भनेका अमेरिका र चीन नै हुन्।

सैन्य शक्तिको आधारमा रूस संसारको दोस्रो ठूलो शक्ति भए पनि आर्थिक क्षमताको आधारमा ऊ संसारको आठौँ ठूलो राष्ट्र भएकोले रूसले चीनसँग मिलेर, उत्तर कोरिया र इरानजस्ता मुलुकसँग रणनीतिक साझेदारी गरेर आफ्नो शक्ति र प्रभाव विस्तार र प्रदर्शन गरिरहेको छ।

अर्कोतिर सैन्य शक्तिको आधारमा संसारको तेस्रो र अर्थतन्त्रको आधारमा पाँचौ ठूलो शक्ति भएको र विश्वका प्रमुख आर्थिक र वित्तीय संगठनहरूले अर्को २५ वर्ष विश्वको दोस्रो ठूलो शक्ति हुने प्रक्षेपण गरिएको भारत छ। (६)

आफ्नो नेतृत्वको साविकको विश्व व्यवस्थालाई यथावत राखिरहन चाहने अमेरिका र आफ्नै रूची र स्वार्थ अनुरूपको र आफ्नै नेतृत्वको नयाँ विश्व व्यवस्थाको लागि ठूलो रणनीतिक लगानी गरिरहेको चीन दुवै भारतलाई आफ्नो पक्षमा पारेर एकअर्काविरूद्ध आफ्ना रणनीतिक लक्ष प्राप्त गर्न प्रतिबद्ध रहेको परिवेशमा ब्रिक्स शिखर सम्मेलनमा भारत र चीनका सर्वोच्च नेताहरूवीच वार्ता (७) हुनु ठीकअघि सीमा क्षेत्रमा तनाव शिथिल पार्न र आफ्नो आफ्नो पक्षबाट सीमाको निगरानीको विधि र प्रक्रिया सम्बन्धमा दुई मुलुकबीच सहमति (८) भएको सन्दर्भ यहाँ बुझ्न सकिन्छ।

आफ्नो नेतृत्वको नयाँ विश्व व्यवस्था स्थापना गर्ने चिनियाँ रणनीतिक लक्ष्यले आज आएर प्रखर चरित्र ग्रहण गरिरहेको भएको भए पनि त्यसबारे प्राज्ञिक क्षेत्र पहिलेदेखि नै जानकार थियो।

जोसुवा कुर्लन्जिकको पुस्तकको चर्चा माथि गरियो। सन् २००९ मा मार्टिन ज्याक्स लिखित अर्को एक पुस्तक प्रकाशित भयो – पुस्तकको शीर्षक थियो जब विश्वमाथि चीनले शासन गर्दछ (९)

त्यतिखेर चीन आर्थिक र सैनिक रूपमा निकै सवल र सशक्त रूपमा अघि बढिरहेको थियो तर साविकको अमेरिकी नेतृत्वको विश्व व्यवस्थालाई उल्ट्याएर आफ्नो नेतृत्वमा नयाँ विश्व व्यवस्था स्थापना गर्न चाहन्छ भन्नेमा विश्व त्यति विश्वस्त थिएन।

तर सन् २०१२ मा सी जीनपिङ चिनियाँ कम्युनिस्ट पार्टी र २०१३ मा राष्ट्रको सर्वोच्च नेतृत्वमा पुगेपछि उनका एकपछि अर्को आक्रामक र महत्वपूर्ण रणनीतिक नीति र कार्यक्रम अख्तियार हुँदै आएपछि विश्व राजनीतिमा त्यसले ल्याएको तरङ्गको सन्दर्भमा चिनियाँ भाषामा प्रकाशित त्यस्ता रणनीतिक, कूटनीतिक र अन्तर्राष्ट्रिय राजनीति र चीनियाँ इतिहाससम्बन्धी सामग्रीहरूको गहन अध्ययनपछि प्रकाशित दुई पुस्तकले लामो समदेखि चीनले त्यो रणनीतिक तयारी गरिरहेको जानकारी नीति निर्माताको तहदेखि आम पाठकसमक्ष समेत ल्यायो। (१०)

यहाँ बिर्सनै नसकिने तथ्य के रहेको छ भने, चीनले कुनै पनि बेला अमेरिकासँग युद्ध हुन्छ र चीन कमजोर र शक्तिहीन रहेकै बेलामा विश्वको सर्वाधिक शक्तिशाली मुलुकसँग त्यस्तो युद्ध गर्नुपर्‍यो अर्थात् असमान शक्तिको अवस्थामा प्रत्यक्ष भीडन्तमा संलग्न नभई कस्तो युद्ध नीति र रणनीतिद्वारा विजय प्राप्त गर्न सकिन्छ भनेर त्यसका दुई वरिष्ठ सैन्य अधिकारीहरूले चिनियाँ सेनाको अध्ययन र प्रशिक्षणको लागि एउटा प्रशिक्षण म्यानुयल जस्तै पुस्तक तयार गरेका थिए।

चिनियाँ भाषामा लेखिएको उक्त पुस्तक धेरै पछि मात्र अङ्ग्रेजी भाषामा प्रकाशित भयो र विश्वको जानकारीमा आयो। (११)

सन् १९४९मा चीनमा साम्यवादी सत्ता स्थापना भएदेखि चीन र अमेरिकाबीच कुनै पनि किसिमको प्रत्यक्ष वा परोक्ष सम्पर्क र भेटघाट नभइरहेको अवस्थामा सन् १९६९मा परोक्ष सम्पर्कका केही सूत्रहरूमार्फत सन् १९६९ देखि अमेरिकाले चीनसँग सम्बन्ध सुधारका लागि गरिरहेको प्रयासकै (१२) परिणाम १९७१ मा चीन अमेरिका सम्बन्धमा नयाँ युग प्रारम्भ भएको थियो।

त्यस्तो नयाँ युगको आरम्भपछाडि मूलत: सोभियत सङ्घको बढ्दो शक्ति र प्रभाव, विश्वका कम्युनिस्ट मुलुकहरू र अन्य मुलुकका कम्युनिस्ट पार्टीहरूमा प्रभाव र प्रभुत्वको लागि चीन र सोभियत सङ्घको कटु राजनीतिक र रणनीतिक प्रतिष्पर्धा, सीमा क्षेत्रमा ठूलो सैन्य उपस्थितिका कारण बढ्दो तनाव र सीमित सैनिक झडपसमेत थियो।

त्यस्तो स्थितिलाई सङ्केत गर्दै चीनका सर्वोच्च नेता देङ्ग सियाओ पेङ्गले सोभियत सङ्घको विस्तारवाद र प्रभुत्ववादका कारण आफ्नो सुरक्षाको लागि चीनले जापानदेखि युरोप र अमेरिकासम्म प्रतिरक्षा रेखा विस्तार गरिएको बताएका थिए। (१३)

तर देङ्ग के कुरामा पनि स्पष्ट थिए भने तत्काललाई चीनबाट अमेरिकालाई कुनै चुनौती छैन। चीनसँग त्यो क्षमता नै छैन। तर भविष्यमा चीन आर्थिक रूपमा सवल हुँदै गएर त्यसले चीनको राजनीतिक, कूटनीतिक, सैनिक र रणनीतिक प्रभाव र स्वार्थमा विस्तार हुँदै गएर विश्वको शक्ति सन्तुलनमा त्यसको असर अनुभव गर्न थालेपछि चीनको शक्ति र प्रभावलाई रोक्न अमेरिकाले हरसम्भव गर्नेछ।

तर तत्कालै अमेरिकी स्वार्थ र प्रभावलाई चुनौती दिन थालियो भने चीनको आर्थिक विकास र समृद्धिको मार्ग अवरूद्ध हुने र आफ्नो मुलुकको समृद्धिको सपना त्यत्तिकै तुहिने भएकोले आफू हरतरिकाले अमेरिकी प्रभुत्वलाई चुनौती दिने स्थितिमा नपुगुञ्जेल विश्व राजनीतिमा सानो, नदेखिने र कमजोर भूमिकामा रहने – देखिने नीति चीनले अवलम्वन गर्नुपर्छ भन्ने देङ्गको विश्वास थियो।

चिनियाँ भाषामा देङ्गको उक्त रणनीतिलाई “ताओ गुवाङ् याङ्ग हुई” अर्थात् “सर नपरुञ्जेल आफ्ना क्षमता र सामर्थ्यको प्रदर्शन नगर र उचित समयको प्रतीक्षा गर ” भनेर बुझिन्छ!

त्यस्तै “शान्त भएर परिस्थितिको आँकलन गर! शान्त भएर सम्झोता सहमति गर! अगाडि अगाडि देखिने र नेतृत्वको इच्छा नगर तर आफ्नो काम सफल बनाउँदै लैजाऊ र समय आएपछि झम्ट” भन्ने उनको रणनीतिक मार्गदर्शनलाई (१४ ) राष्ट्रपति जियाङ्ग जेमिन र हु जिन्ताओले अक्षरश अनुशरण गरे।

क्रमश:

सन्दर्भ सूची

(१) Peter Hartcher:Rudd offers a cheeky lesson in soft power,The Sydney Morning Herald,September 7, 2007. https://www.smh.com.au/national/rudd-offers-a-cheeky-lesson-in-soft-power-20070907-gdr1vs.html

 (२) Joshua Kurlantzick: Charm Offensive: How China’s Soft Power Is Transforming the World, A New Republic Book, Yale University Press,New Haven and London,2007.

(३) The Changing Nature of World Power,Political Science Quarterly, Vol. 105, No. 2 (Summer, 1990), pp. 177-192,The Academy of Political Science,New York. https://doi.org/10.2307/2151022-Public Diplomacy and Soft Power, Sage Publications, Inc. in association with the American Academy of Political and Social Science,March 2008. https://doi.org/10.1177/0002716207311699

(४) Aldo D. Abitbol, “Causes of the 1962 Sino-Indian War: A systems Level Approach,” Josef Korbel Journal of Advanced International Studies 1 (Summer 2009): 74-88. https://digitalcommons.du.edu/advancedintlstudies/23/

 – Garver, John W. “China’s Decision for War With India in 1962,” in Robert S. Ross and Alastair Iain Johnston, New Directions in the Study of Chinese Foreign Policy, Stanford University Press, 2006, page 93.

(५) Ezra F. Vogel: Deng Xiaping and the Transformation of China, The Belknap… Harvard University Press, 2011, page 195.

(६) PWC: The Long View,February 2017. https://www.pwc.com/gx/en/world-2050/assets/pwc-world-in-2050-summary-report-feb-2017.pdf

(७) Antara Ghosal Singh:Opinion: Decoding Chinese chatter on Modi-Xi diplomacy in Kazan, India Today,October 24, 2024 https://www.indiatoday.in/opinion/story/decoding-chinese-chatter-on-modi-xi-diplomacy-in-kazan-opinion-2622362-2024-10-24

(८) Simone McCarthy and Aishwarya S Iyer: India and China have struck a deal that could ease border tensions ahead of expected leader meeting, CNN, October 23, 2024. https://edition.cnn.com/2024/10/22/asia/india-china-border-agreement-intl-hnk/index.html.

Krishn KaushikFayaz Bukhari and Shilpa Jamkhandikar: India, China reach pact to resolve border conflict, Indian foreign minister says, Reuters, October 21, 20247 https://www.reuters.com/world/asia-pacific/india-china-have-arrived-border-patrolling-pact-indias-top-diplomat-says-2024-10-21/

(९) Martin Jacques: When China Rules the World- The Middle Kingdom and the End of the Western World, Allen Lane, 2009.

(१०) Michael Pillsbury: The hundred-year marathon : China’s secret strategy to replace America as the global superpower,Henry Holt and Company, New York,2015.

-Rush Doshi: Long Game- China’s Grand Strategy to displace American Order,Oxford University Press,2021.

-US Brigediar General (Retd.) Robert S. Spalding III: War Without Rules, Sentinel, 2022.

(११) Qiao Liang and Wang Xiangsui: Unrestricted Warfare,PLA Literature and Arts Publishing House,Beijing  February 1999)

(१२) William Burr (edited) The Beijing-Washington Back-channel and Henry Kissinger’s Secret Trip to China, National Security Archive Electronic Briefing Book No. 66, September 1970-July 1971.

https://nsarchive2.gwu.edu/NSAEBB/NSAEBB66/ch-16.pdf

(१३) Deng Xioping Selected Works vol 3, 127-128 बाट Rush Doshi: The Long Game- China’s Grand Strategy to displace American Order,Oxford University Press,2021, page 47 मा उद्धृत

(१४) Rush Doshi, ibid, page 61-62.

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?