
पोखरा – तोरण तार्ने फूलको डोली। भजनकिर्तन, पञ्चेबाजामा नाचगान । सेती नदीमा स्नान र पुजाअर्चना। घरायसी सामाग्रीको किनमेल।
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ र ८ मा पर्ने पुल्चोकस्थित शुक्ला हिलेटारमा हरिबोधनी एकादशी मेलाको रौनक निकै देखिन्छ। गाउँगाउँबाट एकादशी मेला भर्न आएकाहरुको भीड ठेलमठेल भयो। मंगलबार दिनभर पुल्चोक क्षेत्र जाग्यो।
शुक्ला हिलेटार शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भण्डारीका अनुसार पछिल्लो वर्षमा एकादशी मेलाको रौनक फर्किँदै छ। यो वर्ष ५ वटा तोरण सेती नदीमा तारिएको उनले बताए। गतवर्ष पनि ५ वटा नै तोरण ल्याइएको थियो। ‘गतवर्षभन्दा पनि व्यस्थित तरिकाले मेला लाग्यो’, उनले भने।
विगतमा निकै गुल्जार हुने पुल्चोकको एकादशी मेला २०७० सालपछि भने सुस्ताएको थियो। केही वर्षयता शुक्लागण्डकी नगरपालिकाले मेला भर्नलाई सार्वजनिक बिदा नै दिने गरेको छ।