'दी फिरन्ते व्याण्ड'का भोकलिष्ट देबेन्द्र

फिरन्ते गायक देबेन्द्र जो गीत खोज्न गाउँ डुलिरहन्छन् (भिडियो)

+
-

नयाँ पुस्ता माझ निकै रुचाइएका गायकमा पर्छन्, देवेन्द्र बब्लु। चार पाँच वर्षकै अन्तरालमा गायनमा उम्दा छलाङ मारे उनले। यदि त्यसो हुँदैनथ्यो भने तीन दशक पुरानो पोखरेली ब्याण्ड ‘कन्दरा’सँग उनको सहकार्य हुँदैनथ्यो होला। यदि त्यसो हुँदैनथ्यो भने गए कार्तिक २६ गते ठमेलस्थित ‘एलओडी’मा उनले ‘व्याक टु व्याक’ आधा दर्जन गीत गाउँदैनथे होला। दर्शक मुग्ध भएर झुम्दैनथे होला।

सांगीतिक उचाइ चुम्नका लागि विभन्न संघर्ष गर्दै अघि बढिरहेका देबेन्द्रलाई कुनै बेला आफू सांगीतिक क्षेत्रको भेल ठान्थे। तर अहिले उनी भन्छन्, ‘अब सांगीतिक क्षेत्रबाट टाढिने कल्पना पनि गर्न सक्दिनँ। यो क्षेत्रमा राम्रो काम गर्दै जाने हो।’

२०७२ सालको अन्तिमतिर भिसा नरोकिएको भए यतिबेला देबेन्द्र बब्लु जापानको कुनै सहरमा व्यस्त हुन्थे। उनैसँग ‘अप्लाई’ गरेका दुई जना साथीको भिसा आयो तर उनको भिसा आएन। भाग्यले ठगेझैं लाग्यो त्यति बेला उनलाई। तर एउटा ढोका बन्द भएपनि निराश भएनन् उनी , बरु बाटो मोडिएर सांगीतिक यात्रामा लागे। अहिले त उनका ‘एकसे एक’ गीत हिट भइरहेका छन्।

‘मन माया,’ ‘मायालु,’ ‘म हाँसे हाँस्छौं र,’ ‘म त पर्खेको पर्खै छु,’ ‘सेती दोभाना,’ ‘तिमी मैसँग भैराख है,’ ‘भेटै हुन्न कि,’ ‘परान,’ जस्ता उनका गीत चर्चित छन्।

देबेन्द्रले ‘टिन एजर’ दर्शकको मनोभाव बुझेर काम गर्छन्। उनले निर्देशन गरेका म्युजिक भिडियो हेर्ने हो भने अहिले नेपाली म्युजिक क्षेत्रमा चलिरहेको धारभन्दा फरक छन्। त्यसैले नयाँ ‘टेस्ट’ पाउँदा दर्शकको नजरमा परेका छन्। देबेन्द्रको अहिलेको अवस्थामा बजारमा कुन किसिमको गीत ल्याउँदा राम्रो हुन्छ भनेर अध्ययन गर्ने शैली तारिफयोग्य छ। देबेन्द्रका सार्वजनिक भएका अधिकांश गीत ‘सेमी लोक’ छन्।

सांगीतिक उचाइ चुम्नका लागि विभन्न संघर्ष गर्दै अघि बढिरहेका देबेन्द्रलाई कुनै बेला आफू सांगीतिक क्षेत्रको भेल ठान्थे। तर अहिले उनी भन्छन्, ‘अब सांगीतिक क्षेत्रबाट टाढिने कल्पना पनि गर्न सक्दिनँ। यो क्षेत्रमा राम्रो काम गर्दै जाने हो।’

गाउँ-गाउँ डुलेर गीत ल्याउन रुचाउने गायक देबेन्द्र अहिले त ‘दी फिरन्ते ब्याण्ड’का भोकलिष्ट भएका छन्। यहीँ मंसिर तेस्रो साताबाट पश्चिम नेपालका विभिन्न सहरमा ‘कन्सर्ट’ गर्ने तयारीमा लागेका देबेन्द्रको ब्याण्डले भर्खर बामे सर्दैछ भन्दा फरक पर्दैन। ब्याण्डको करिब दुई वर्षे यात्रामा उनी टिम जुटाउन लागे। भइरहेका सांगीतिक ब्याण्डहरू सुस्ताएको या हराएको अवस्थामा उनले ‘दी फिरन्ते’ ब्याण्ड जन्माएर अर्को चुनाती मोलेका छन्। ‘राम्रो गीत संगीत एक्लैले चाहेर हुँदोरहेनछ। गीत राम्रा जन्मिन टिम राम्रो हुन आवश्यक छ। त्यसैले टिम बनाउनका लागि ब्याण्ड बनाएको हुँ,’ उनले भने, ‘अहिले पश्चिमतिर सांगीतिक कन्सर्ट गर्न दी फिरन्ते ब्याण्ड जाँदै छ। टीम अर्थात् ब्याण्डनै नभएको भए यो अवसर पाउँदिन थिएँ।’

ब्याण्ड भनेको टिमले चलाउने हो। त्यो लामो कसरतपछि उनले सही टिम पाएको बताए।

देबेन्द्रसँग गीतका कुरा :

२९ वर्षीय देबेन्द्रले संगीतको कुनै कक्षा लिएका छैनन्। जे सिके ‘भेगीय हिसाब’ले सिके। सानो छँदा दाजुहरू गएको कार्यक्रममा उनी पनि पुग्थे। कसैको घरमा बच्चा जन्मियो भने गाउँले सबै मिलेर नाच्दै गाउँदै उत्सव मनाउँथे। कसैको घरमा शोक परे सबै मिलेर शोक गीत गएर दुःख व्यक्त गर्थे। कसैको बिहे हुन लाग्यो रत्यौली गाउने, नाच्ने गर्थे। घाँसदाउरा लिन जंगल जाँदा उतै घाँसी गीतहरू गाउने गर्थे, मेलापातमा पनि गाउँदै रमाइलो गर्दै काम गर्ने प्रचलन थियो। परिवारको साइलो छोरोको रूपमा जन्मिएका देवेन्द्रको बाल्यकाल परिवारसँगै धम्जाका खेतबारीमा मेलापात र जंगलमा घाँसदाउरा गर्दै, आफूभन्दा ठूला’ले गाएको सुन्दै गाउन सिक्दै बित्यो। देबेन्द्रकी आमा पनि घाँसदाउरा जाँदा मीठो गीत गाउँथिन्। भन्छन्, ‘मेरो पारिवारिक वातावरण गाउने बजाउने थियो। आमा पनि अत्यन्तै मीठो गाउनुहुन्थ्यो।’

उनले हजूरबाको नाम पनि सँगै जोडे- ‘गाउने बजाउनेमा हजुरबा पनि उम्दा गजल गायक हुनुहुन्थ्यो । जहाँ-जहाँ भजन मण्डली हुन्थ्यो त्यहाँ त्यहाँ हजुरबा डाकिनुहुन्थ्यो। हजुरबाको हात समाएर पुग्थेँ, म। हजुरबाले गाएको र बजाएको देखेर उनी लोभिन्थे। त्यसैले मेरो बाल्यकालमा बढी प्रभाव हजुरबाको पर्‍यो। हाम्रो बालुङस्थित हाम्रो गाउँमा हजुरबाले नगाएको भजन थिएन। त्यो सिकाइले नै होला म गाउन सक्ने भएको।’

गायक देबेन्द्र बब्लु।

बतास बनी छुन आइदेऊ न

फेरि मेरो हुन आइदेऊ न

म त पर्खेको पर्खै छु….।

गीत खोज्दै हिँड्ने फिरन्ते देबेन्द्रलाई चिन्नेहरूले सम्झिरहने गीत हो, यो। सांगीतिक यात्रामा लागेपछि सफल बनाउने गीतको शब्द केर्दाको उनले स्मरण गरे, ‘२०७६-७७ को लकडाउनमा म बाग्लुङको धम्जा पोखरी डाँडामा थिएँ। मेरी छिमेकी आन्टीले फोनमा चर्कै कुराकानी गरेको सुनेँ। तीन महिना भइसक्यो अब त भेट पनि हुँदैन होला है। अनि मैले पनि यस्तै सोचेँ। साथीहरूलाई भेट्ने दिन पर्खेकै हो, तर कोरोना भयले नजिक हुने सम्भावना थिएन। उनको मनमा आयो-म त पर्खेको पर्खै छु।’

यी हरफलाई उनले आफ्नै मोबाइलको मेमोमा लेखे। लकडाउन खुलेपछि उनी काठमाडौँ आए। दुई वर्षपछि केही नयाँ गीत गरौं न भन्ने सोचले मोबाइलको मेमोतिर ध्यान दिए। मनमा आक्कलझुक्कल गीतका हरफ आउँदा उनी कोर्थे। र कुनै मोड या घुम्तीमा त्यसलाई गुनगुनाउँथे। उनले भेटे लकडाउनमा कोरेका हरफ। गुनगुनाउँदै उनले थप अन्तरा पनि लेखे।

जीवनमा मान्छे भेटिने र छुटिने नै दोभान हो। यो अनन्तकालदेखि चलेको रित हो। चलन हो। जीवनशैली पनि यस्तै हुन्छ। भन्छन्, ‘दोभानले कि भेटाउँछ कि छुटाउँछ। दोभान मौलिक विम्ब हो, जसले गाउँ सम्झाउँछ।’

‘पर्खेको पर्खै भएँ यार’ जस्ता संवाद जनजिब्रोमा सुन्न पाइन्छ। उनले तिनै कुरालाई गीतमा बुने। उनी भन्छन्, ‘कति पर्खें भन्छन्। अझै पर्खेको छु। यहीँ लय समाएको हुँ।’

यस्तै यादगार गीतमा पर्छ ‘सेती दोभान हो सेती दोभान यत्तिकै जान्छ क्या हो बैश जोवन ।’

जीवनमा मान्छे भेटिने र छुटिने नै दोभान हो। यो अनन्तकालदेखि चलेको रित हो। चलन हो। जीवनशैली पनि यस्तै हुन्छ। भन्छन्, ‘दोभानले कि भेटाउँछ कि छुटाउँछ। दोभान मौलिक बिम्ब हो, जसले गाउँ सम्झाउँछ।’

देबेन्द्र भिडियो कथामा पनि उत्तिकै मौलिकपन खोज्छन्। मौलिकताभन्दा पर जान नपरे हुन्थ्यो भन्ने लाग्छ उनलाई। शब्द पनि खोजीखोजी जुटाउँछन्। अनि भिडियो कथा पनि आफूले बाँचेको देखेको समाजकै कथा भन्न रुचाउँछन्। उनको गीत मनमायाको भिडियोमा यस्तै कथा भेटिन्छ।

आफूले सिर्जना गरेको गीतमध्ये उनलाई मन पर्ने ‘मनमाया’ हो। भन्छन्, ‘मलाई मनमायाले चिनायो।’

पशुपति राइ र उनी अभिनित मनमाया गीत जति मिठो छ त्यति नै आँखालाई शीतल दिन्छ भिडियोले। त्यो गीत बनाउनुको किस्सा यस्तो छ- देवेन्द्र सर्ट फिल्म बनाउन चाहन्थे। उनले स्क्रिप्ट लेखे। रंगकर्मी पशुपति राई र उनी आफैले अभिनय गरे। छायांकन गर्न कास्कीको एउटा गाउँमा पुगे। फर्केर स्क्रिप्टअनुसार सम्पादन गर्न थाले। यसै बेला दिमागमा गीतको भूत चढ्यो उनलाई। उनले भिडियो हेर्दै गीतको शब्द कोरे- डरै लागेजस्तो, लाजै लागेजस्तो, माया बसेजस्तो …

अनि देवी घर्ती र आफ्नै स्वरमा गीत रेकर्ड गराए। उनले सर्ट फिल्मको सपना बिर्सिएर गीतलाई युट्युबमा रिलिज गरे। सबैले रुचाइदिए। कथा, निर्देशन, गीत, संगीत, अभिनय सबै उनैले गरे गीत हिट पनि भयो।

विधागत विषय पढेका होइनन् उनले। सबै कामले सिकायो। भन्छन्, ‘कामले काम सिकाउँदोरहेछ।’

कैयौंपटक गीत कम्पोज गरेर उनी एरेन्जरसँग बसेका छन्। एरेन्जरको हप्की खाएका छन्। भन्छन्, ‘डुबेर महसुस गरेर बनाउँछु। कहीं न कहीं चिप्लिहाल्छ।’

सांगीतिक क्षेत्रमा आउनुअघि उनले पनि सहरमा अनेक दुःख गरे। दुःखलाई उनले जहिल्यै सिकाइका रूपमा लिए। उनको ‘परान’ बोलको गीतमा दुई विगाह जमिन राख्या छु मुटुको माझमा।

पहाडमा जन्मिए हुर्किए पनि गीतमा तराइकाे मेटाफर प्रयाेग गरे। उनी भन्छन्, ‘माया देखाउने तौरतरिका फरक हुन्छ। दुई विगाह जमिन धेरै ठूलो हो पहाडका लागि। त्यो फाँट नै हो। फराकिलो हो। त्यसैले त्यो फराकिलो मैदानमा स्वतन्त्रता पाउन सक्ने भएकाले दुई विगाह जमिन राख्या छु मुटुको माझमा भनेको हुँ।’

उनको गीतको मेलोडी एकनासै सुनिन्छ भन्नेहरु पनि छन्। तर केही न केही फरक दिँदै आएको बताउँछन् उनी । भन्छन्, ‘जुन समाजबाट आएँ त्यहाँ एकानासका गीत हुन्थे र पनि केही फरक हुन्थ्यो। कथा फरक हुन्थ्यो। कला फरक हुन्थ्यो। दुःख उस्तै भए पनि महसुस गर्ने पाटो फरक हुन्थ्यो। त्यसैले मेरो गीत उस्तै सुनिन सकेको होला। तर बजारमा आएका गीत केही न केही फरक चाहिँ छ।’

देवेन्द्रसँग मनका कुरा :

हिजोको दिनमा उनलाई गायक कलाकार प्रकाश सपूतको भाइ भन्थे र अहिले पनि। तर सांगीतिक क्षेत्रमा स्थापित नभइसकेको नकार्न सकिँदैन गायक देबेन्द्रलाई।

देबेन्द्र बब्लु प्रकाश सपूतको भाइ हो भनेरै चिन्नेहरू भेटिए पनि उनी खुसी नै छन्। एक सेलिब्रेटीको भाइ हुनुमा पनि उनी गौरवान्वित महसुस गर्छन्। भन्छन्, ‘मलाई देबेन्द्र बब्लु भनेर अहिले चिनेको हुन् पहिला त म प्रकाश सपूतको भाइ न हुँ। त्यसैले जसले जसरी चिने पनि खुसी ।’

गायक कलाकार प्रकाश सपुतका चार भाइ मध्ये देबेन्द्र साइँलो हुन्। माइलो दाइ वैदेशिक रोजगारीका कारण बाहिर छन् भने कान्छो सुनिल विक म्युजिक भिडियो निर्देशनमा राम्रो गरिरहेका छन्। तीन दाजुभाइ मिलेर सहकार्य पनि गर्दै आइरहेको बताउँछन्, उनी । हालै प्रकाश सपुत निर्देशित ‘बसन्त’ चलचित्रमा उनको एउटा गीत रहेको छ।

गायक देबेन्द्र बब्लुकाे फेसबुकबाट।

‘दाइले देखाएकै बाटो हिँडेको भएर यहाँसम्म आइपुगेको छु,’ उनले भने ।

देबेन्द्र १२ कक्षा पढ्दै गर्दा प्रकाशको दोहोरी ब्याटल गीत चलिरहेको थियो। उनले सम्झिए, ‘दाइ उकालो हिँड्दै हुनुहुन्थ्यो।’

गायक कलाकार प्रकाश सपुतका चार भाइमध्ये देवेन्द्र साइँलो हुन्। माइलो दाइ वैदेशिक रोजगारीका कारण बाहिर छन् भने कान्छो सुनिल विक म्युजिक भिडियो निर्देशनमा कमाल गरिरहेका छन्। तीन दाजुभाइ मिलेर सहकार्य पनि गर्दै आइरहेको बताउँछन्, उनी । हालै प्रकाश निर्देशित ‘बसन्त’ चलचित्रमा उनको एउटा गीत रहेको छ।

उनकै दाजु प्रकाशले पत्रकारिता पढ्न सुझाव दिएपछि काठमाडौँका एक विद्यालयमा भर्ना भएका थिए, उनी। बिहानको कक्षा लिएपछि दिनभरि के गर्ने? काम गर्ने मुड बनाए। काम खोजिदिन उनले दाजु (प्रकाश)लाई नै अनुरोध गरे। प्रकाशले ठमेलको ‘गामबेसी दोहोरी साँझ’मा काम लगाइदिए। जहाँ प्रकाश दोहोरी गाउँथे।

दाजु स्टेजमा गीत गाउँथे भने रेस्टुरेन्टमा काम गर्थे। राति एक बजेसम्म काम गरेर बिहान कलेज जान्थे। महिनाको ३५ सय रुपैयाँ तलब थाप्थे। ‘साहुले मेरो काम मन पराएर वेटर बनाइदिनुभयो,’ उनले भने।

वेटर गर्न थालेपछि उनले ६ हजार तलब पाउन थाले। पढाइ र कामलाई दुई वर्ष सँगसँगै अघि बढाए। ‘प्लस टु’ सकेर जापान उड्ने तयारीमा लागे। यसका लागि ६ महिना भाषा सिके। आवेदन दिए। भिसा नआएपछि उनी मोडिए, पत्रकारितातिर।

‘ती दिन दाजुु(प्रकाश)को पनि संघर्षका दिन थिए। ‘आफू त झनै जिरो थिएँ। खासै ठूलो आँट थिएन,’ देबेन्द्र भन्छन्, ‘आफूसँग खास उद्देश्य नभएपछि निकै अलमलमा परिने रहेछ। म खुबै अलमलिएको थिएँ।’

उनले गण्डकी प्रदेशका सबै गाउँ हिँडेका छन्। पूर्वपश्चिमका केही सहर गाउँ पनि घुमे। कहिले गीत खोज्न कहिले भिडियो खिच्न। उनी भन्छन्, ‘समाजमा खासै ठूलो परिवर्तन आएको छैन। जीवनशैली अझै उस्तै छन्। गीत अझै दुःखको गाइन्छ। अभावको गाइन्छ। प्रेमको गाइन्छ।’

उनलाई घुम्न मन लाग्नु र गीतको छनोटमा मौलिकता खोज्नको कारण रेडियो र नाटक पनि हो।

रेडियो र थिएटरलाई सँगसँगै जस्तो अगाडि बढाए। रेडियोमा छिर्ने माध्यम बाग्लुङका सुवास कँडेल थिए। सुवास सगरमाथा रेडियोमा टेक्निसियन थिए। २०७३ तिर टेक्निकल सिक्ने लोभले देबेन्द्र सगरमाथा रेडियोमा गए।

तीन वर्ष उनले रडियो सगरमाथामा बिताए तर टेक्निसिएन भएर होइन, रेडियो जकी भएर। ट्रेनी भएर गएका देबेन्द्र सगरमाथा रेडियोकै जागिरे भए। सगरमाथा रेडियोमा उनले तीनवटा कार्यक्रम चलाउन पाउँथें। ‘फिल्मी कार्यक्रम,’ ‘फोन इन कार्यक्रम,’ र बालबालिकासँग सम्बन्धित कार्यक्रम चलाउँथे।

उनले गण्डकी प्रदेशका सबै गाउँ हिँडेका छन्। पूर्वपश्चिमका केही सहर गाउँ पनि घुमे। कहिले गीत खोज्न कहिले भिडियो खिच्न। उनी भन्छन्, ‘समाजमा खासै ठूलो परिवर्तन आएको छैन। जीवनशैली अझै उस्तै छन्। गीत अझै दुःखको गाइन्छ। अभावको गाइन्छ। प्रेमको गाइन्छ।’

सगरमाथा रेडियोका इन्चार्ज नवराज बुढाथोकीसँग उनको राम्रै चिनजान भयो। उनै बुढाथोकीको संगतले देबेन्द्र पुगे-शैली थिएटर।

गम्भीर स्वभावका देबेन्द्रले थिएटरमा काम गर्दै जाँदा चार वर्ष बिताए। करिब डेढ वर्षजति त खाने-बस्ने सबै थिएटरमै गरे। शैली थिएटरसँग उनको गहिरो सम्बन्ध छ। हाल रातो पुलमा बनेको ‘शैली’ को थिएटर निर्माणमा पनि उनको पसिना-माया मिसिएको छ। थिएटर यात्राले उनीभित्र लुकेको गीतसंगीत झ्यागिँन थाल्यो।

गायक देबेन्द्र बब्लुकाे फेसबुकबाट ।

थिएटर घर नहुन्जेलसम्म देबेन्द्र प्रायः ‘रसियन कल्चर सेन्टरमा मञ्चन हुने शैलीका नाटकमा अभिनय गर्थे, गीत लेख्थे र म्युजिकदेखि लाइटसम्मका काम गर्न भ्याउँथे। एकअर्कासँग सिक्दै काम गर्दै जाँदा उनले ‘लिड एक्टर’ का रुपमा ‘माटोको फूल’ नामक नाटकमा अभिनय गरे। यहीँ नाटकले उनको सांगीतिक यात्रा तय गरिदियो। नाटकमा उनले एउटा गीत लेखेका थिए।

नाटक हेरिसकेपछि दर्शकले यो गीत गुनगुनाउँदै बाहिरिए। कसरी बोलको गीत रेकर्ड गर्न सुझाब दिए। उनी निकै हौसिए। भन्छन्, ‘दर्शकले भनेको कुरालाई सिरियस लिएर गीत रेकर्ड गरें।’

गीत रेकर्ड गरेपछि भिडियो पनि बनाए। प्रतिकृया राम्रै पाए। २०७४ सालमा रिलिज भएको ‘कसरी’ गीतले उनलाई अन्य गीत निकाल्न हौसाइरह्यो। उनले ‘साइँली साइँली,’ ‘मायालु,’ ‘दिल दुख्यो,’ ‘एक्लै जान सक्छ्यौ,’ ‘भेटै हुन्न कि,’ जस्ता गीत रचना गरे।

गीत हिट भए पनि आफूलाई हिट मान्दैनन्। ‘मलाई धेरैले प्रकाश सपूतको भाइ भनेर चिन्छन्,’ उनी भन्छन्, ‘मेरो सिर्जना मात्र चर्चित भएको हो। दाइ नाम र काम दुवैले चर्चित हुनुभएको हो।’

दाजु प्रकाश र नायक राजेश हमाललाई समेत उनले आफ्नो निर्देशकीय कलामा बाँधिसकेका छन्। दिग्गज व्यक्तिहरूसँग सहकार्य गर्न पाउनु आफ्ना लागि अहोभाग्य ठान्छन् उनी। तर, दाजु प्रकाशको सांगीतिक क्षेत्रमा देखिएको फरक सिर्जना बढ्दो चर्चाका बीच आफ्ना सिर्जनाले न्याय गर्न नसक्ने हो कि भन्ने उनलाई सधैंको चिन्ता छ।

वेटर, रेडियोकर्मी, रंगकर्मी, कलाकार, गीतकार, संगीतकार, निर्देशक जे भए पनि उनले आफ्नो परिचय गीतसंगीत र गायनमा फराकिलो बनाइरहेका छन्। उनी भन्छन्, ‘कामभित्रैको काम हो भनेर निर्देशनको काम गर्छु नत्र त मेरो त खास रुचि गायन र अभिनय नै हो।’

देबेन्द्र गाउँले परिवेशका लोभी छन्। त्यसैले त गाउँको माटो सुहाउने सिर्जनामा बढी सिर्जनशील छन्। देवेन्द्रमा संगीतको भोक छ अनि अभिनयको प्यास पनि। त्यसैले हरेक नयाँ सिर्जनामा नौलोपन पस्कन खोज्छन् र त्यो प्रयोग चल्दिन्छ। ‘भइरहेको सामान्य विषयलाई सिर्जनामा ढाल्न सक्नुपर्छ। काल्पनिक कुरा जसले त्यहाँसम्म सोच्न बाध्य बनाउँछ, त्यस्ता विषयबस्तु, शैलीले मात्र दर्शक स्रोताको मन अडिन्छ,’ कुराकानीको अन्तिममा आफ्नो सफलताको सुत्र पनि सुनाए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?