
सिमकोट – तिहारपछि खुलेका विद्यालयमा चौरमा पठनपाठन हुँदै आएको छ। कक्षामा निकै चिसो हुने भएकाले चौरमा घाम तापेर पठनपाठन गरिएको हिमज्योति माविका प्रधानाध्यापक जयबहादुर धामीले जानकारी दिए।
विद्यालय पोसाक अनिवार्य गरिएका कारण कक्षामा बस्दा चिसो बढी हुने भएकाले चौरमा बसेर पठनपाठन गर्दा सहज भएको कक्षा आठका छात्र सन्तोस शाहीले बताए। उक्त विद्यालयमा पहिलो कक्षाबाहेक अन्य सबै कक्षा चौरमै सञ्चालन हुने गरेको छ।
कक्षाबाहिर पठनपाठन गर्दा हल्ला बढी हुने भए पनि चिसोका कारण बाहिरै बस्न बाध्यता रहेको उनको भनाइ छ।
बिहान नौ बजे लाग्ने घाम दिउँसो दुई बजेपछि अस्ताउने गरेकाले पनि चिसो निकै बढेको छ। बालबिकास अन्य साना कक्षाका विद्यार्थीलाई पहिलो कक्षाबाटै चौरमा पठनपाठन गरिँदै आएको छ।
यता, दिनमा तीन घण्टा मात्र घाम लाग्ने लालीगुराँस मावि लिप्नेले चौरमा आगोसमेत तापेर पठनपाठन गर्दै आएको छ। उक्त विद्यालयका प्रधानाध्यापक कालीबहादुर महताराले विद्यालय क्षेत्रमा बिहान नौ बजे लाग्ने घाम बाह्र बजेपछि अस्ताउने गर्छ। कर्णाली नदी किनारमा विद्यालय भएकाले हिउँदमा लिप्नेमा थोरै समय घाम लाग्छ।
उनले आफ्नो विद्यालयमा पनि सबै कक्षा बिहानबाटै चौर र खेतमा पढाइ भइरहेको बताए। कक्षामा चिसो हुने भएपछि बाहिर आगो बाल्ने ब्यवस्था भने विद्यार्थी आफैँले गर्दै आएका छन्।
हिउँदमा कक्षाबाहिर चौरमा पठनपाठन गर्ने विद्यालयको संख्या ४५ भन्दा बढी रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ।