
काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले शनिबारबाट नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गर्दै छ। आठ टोली सहभागी रहने प्रतियोगितामा सबै टिमले जित्ने दाबी गरिरहेका छन्।
प्रतियोगिता पहिलो पटक क्यानले आयोजना गर्न लागेकाले धेरैले यो प्रतियोगितालाई नजिकबाट हेरिरहेका छन्। प्रतियोगिताअघि नै एनपिएलको चर्चा उत्कर्षमा छ। उद्घाटन खेलको टिकट तीन दिनअघि नै ‘सोल्ड आउट’ भइसकेको छ। यस्तोमा यो पटक एनपिएलमा के छ खास?
क्यानको पहिलो बहुप्रतिक्षित प्रतियोगिता
एनपिएल नेपाल क्रिकेट संघ क्यानको पहिलो बहुप्रतिक्षित प्रतियोगिता हो। यसअघि क्यानको अघिल्लो कार्यसमितिले नेपाल टी-२० लिगका नाममा प्रतियोगिता आयोजना गरे पनि एक भारतीय कम्पनीलाई त्यसको जिम्मेवारी दिँदा ‘स्पट फिक्सिङ’ का घटनाहरु सार्वजानिक भएका थिए भने क्यान आलोचित बनेको थियो।
तर, यो पटकको नेपाल प्रिमियर लिग क्यान आफैले आयोजना गरेको पहिलो र ठूलो फ्रेन्चाइज टी-२० प्रतियोगिता हो। यो प्रतियोगिताका लागि क्यानले निजी क्षेत्रका व्यवसायीहरुका साथै सरकारको पनि गतिलो साथ पाएको छ। आयोजनाअघि निर्विवाद रुपमा ठूलो जिम्मेवारी निर्वाह गर्दै प्रतियोगिता उद्घाटन समारोहसम्म आइपुग्दा क्यानले प्रतियोगिताअघि नै उल्लेख्य रुपमा आर्थिक लाभ प्राप्त गरिसकेको छ।
एनपिएलमा नेपाली खेलकुदकै उच्च प्रायोजन
एनपिएल नेपाली खेलकुदका लागि सर्वाधिक उच्च प्रायोजन प्राप्त प्रतियोगिताका रुपमा रह्यो। सिद्दार्थ बैंकले एनपिएलका लागि पाँच वर्ष प्रायोजन सम्झौता हस्ताक्षर गर्यो।
क्यानका सचिव पारस खड्काले नेपाली खेलकुदकै उच्च प्रायोजन सम्झौता भएको समारोहमा बताएका थिए। यद्यपि, सिद्दार्थ बैंकले वार्षिक ४ करोडका दरले ५ वर्षमा २० करोड रकम दिने गरी सम्झौता गरिएको दाबी गरिएको छ। जुन नेपाली खेलकुद इतिहासकै उच्च प्रायोजन हो।
सिँगारियो टियू मैदान कीर्तिपुर
एनपिएलमा खेलाडी र खेल हेर्ने दर्शकका लागि यो पटक टियू मैदानलाई फरक स्वरुप दिने प्रयास गरिएको छ। यो पटक ८ वटा पिचलाई बंगलादेशी एक्सपर्ट क्युरेटरको सहायतामा नयाँ तरिकाले निर्माण गरिएको छ। साथै दर्शकले पहिलो पटक डिजिटल स्कोर बोर्डको आन्नद उठाउन पाउने छन्।
त्यस्तै, मैदानमा बाउण्ड्री पनि बढाइएको छ। दर्शकहरूका लागि भीआईपी र साधारण दुवैतर्फ बस्ने व्यवस्था गरिएको छ। त्यस्तै, फिक्स्ड साइड स्क्रिन, मिडिया बक्स, प्राक्टिस पिचहरुमा समेत राम्रो मिहिनेत गरिएको छ। त्यसो त दर्शकका लागि सिट नभएको त्रिवि क्रिकेट मैदानमा महत्वपूर्ण खेल हुँदा अत्यधिक दर्शक व्यवस्थापन चुनौती मानिने गर्छ।
यसपटक क्यानले दर्शकका लागि जोन छुट्याएर निश्चित संख्यामा मात्र राख्ने गरी निर्माण सम्पन्न गरेको छ। सधैँ दर्शकका लागि शौचालय नभएको समस्या यसपाली समाधान भएको छ। महिला र पुरुष दर्शकका लागि अलग–अलग बाथरुम व्यवस्था भएको छ।
पहिलो पटक उत्कृष्ट नेपाली खेलाडीलाई कार
यो पटक एनपिएलमा सर्वोत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउँदै छन्। ओमोडा एन्ड जेइकोले एनपिएलको पहिलो संस्करणमा सहप्रायोजकको रूपमा साझेदारीसमेत गरेको छ। एनपिएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र क्यानको संयुक्त पहलमा प्रतियोगिता भरी उत्कृष्ट प्रदर्शन गर्ने एक नेपाली खेलाडीलाई कार पुरस्कार दिइँदै छ।
सम्झौतापत्रमा ब्रान्ड डिजिटल लजिक प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूहअन्तर्गतको एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गरे।
कस्तो कार भन्ने आधिकारी घोषणा नगरिए पनि विजेताले ओमोडा इ-५ मोडलको इलेक्ट्रोनिक कार पाउने बताइएको छ। जसको नेपाली मूल्य ६१ लाखा ९९ हजार रहेको छ।
के मा हेर्न पाइन्छ एनपिएल?
एनपिएल पहिलो पटक विश्वचर्चित स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्समा लाइभ हुनेछ। क्यानले अघिल्लो साता स्टार स्पोर्ट्ससँग सम्झौता भएको जानकारी दिएको थियो।
क्यानले यो पटक स्टार स्पोर्ट्लाई पैसा तिरेर नै लाइभ देखाउन लागेको जनाइएको छ। यद्यपि, आधिकारिक रुपमा कति रकममा सम्झौता भएको भनेर खुलाइएको छैन्।
त्यस्तै, टिभी नहुनेहरुले पनि एनपिएल सहज रुपमा युट्युबमा समेत हेर्न पाउने छन्। यो पटक एनपिएलको युट्युब राइट डिश मिडिया नेटवर्कले लिएको छ। एनपिएलको सबै खेल युट्युबमा डिश होमको एक्सन स्पोर्ट्सबाट लाइभ हुनेछ।
खेल हेर्न टिकट कसरी काट्ने?
एनपिएलका लागि यो पटक नेपाल क्रिकेट संघ (क्यान) ले साधारण, भीआइपी तथा सिजनलअनुसार फरक-फरक मूल्य निर्धारण गरेको छ।
क्यानका अनुसार पहिलो दिन अर्थात् उद्घाटनको दिनमा जनरलतर्फको टिकट मूल्य ३०० रुपैंयाँ तोकिएको छ भने भीआईपीतर्फको टिकट मूल्य ७०० रुपैयाँ तोकिएको छ। उद्घाटन खेलका सबै टिकट ‘सोल्डआउट’ भइसकेका छन्।
त्यसैगरी लिग चरणको अन्य दिनका खेलहरूमा जनरलतर्फको टिकट मूल्य ३०० र भीआईपी टिकटको मूल्य ५०० रुपैयाँ तोकिएको छ। प्लेअफका खेलहरूमा जनरल टिकट ५०० रुपैयाँ र भीआईपी टिकट ७०० रुपैयाँको हुनेछ।
त्यस्तै, फाइनल खेलमा जनरल टिकट ५०० र भीआईपी टिकट १००० रुपैयाँको हुने जनाइएको छ। त्यसै गरी प्रतियोगिताभरी सबै खेल हेर्न चाहने दर्शकका लागि क्यानले सिजनल पासको पनि व्यवस्था गरेको छ, जसमा २० प्रतिशत छुट दिइएको छ।
प्रतियोगिता भरीलाई हुने उक्त टिकटको जनरलतर्फ ४ हजार ४८० रुपैयाँ र भीआईपीतर्फ ८ हजार २४० रुपैयाँ तोकिएको छ।
ट्रफीमा कालापथ्थरको ढुङ्गा
एनपिएलको विजेताले यो पटक प्राप्त गर्ने ट्रफीमा कालापत्थरको दुर्लभ ढुङ्गा ट्रफीको शिरमा राखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र आठ फ्रेन्चाइज टिमका टिमका मार्की खेलाडीले संयुक्त रुपमा अनावरण गरेको ट्रफीमा पर्वतआरोही निमा शेर्षा र मिङ्गमा शेर्पाले कालापत्थरबाट ल्याएको ढुङ्गालाई ट्रफीको सबैभन्दा माथिल्लो भागमा राखिएको हो।
कहिलेदेखि कहिले सम्म हुँदै छ प्रतियोगिता?
एनपिएल प्रतियोगिता शनिबार अर्थात १५ मंसिरबाट सुरु भएर ६ पुस सम्म सञ्चालन हुनेछ। १५ गते विराटनगर र जनकपुर बोल्ट्सबीच उद्घाटन खेल हुँदै छ। १६ गते उपनिर्वाचन भएकाले कुनै पनि खेलको कार्यतालिका रहेको छैन।
१७ गतेदेखि ३० गतेसम्म हरेक दिन दुई खेल हुनेछन्। समूह चरणको अन्तिम खेल १ पुसमा हुनेछ। त्यसपछि ३ पुसमा इलिमिनेटरको पहिलो खेल हुँदा सोही दिन दिउँसो पहिलो क्वालिफायरको खेल हुनेछ। दोस्रो क्वालिफायर ४ पुसमा हुँदा प्रतियोगिताको फाइनल ६ पुसमा हुनेछ।