
काठमाडौँ – शनिबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) एनपिएल अघिको प्रि-म्याच प्रेस कन्फ्रेन्समा सबै ८ फ्रेन्चाइज टोलीका कप्तानहरूले एनपिएल खेलका लागि उत्साहित रहेको बताएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार टियू मैदानमा आयोजना गरेको कार्यक्रममा सबै फ्रेन्चाइज टोलीका कप्तानले एनपिएलको आयोजनालाई लिएर आफूहरू उत्साहित रहेको बताएका हुन्। ७ टिमले आफ्नो मार्की खेलाडीलाइनै कप्तान बनाएपनि आसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सले भने अनिल साहलाई कप्तान बनाएको छ।
शनिबार जनकपुर बोल्ट्स र विराटनगर किङ्सले एनपिएल उद्घाटन खेलमा प्रतिष्पर्धा गर्दैछन्। उद्घाटन अगाडि सबै फ्रेन्चाइज टोलीका कप्तानले एनपिएल आयोजना नेपाली क्रिकेटका लागि सुनौलो अवसर भएको बताए। उनीहरुले विदेशी खेलाडीहरुसँग घरेलु मैदानमा हुने खेलका लागि प्रतिक्षित रहेको बताएका थिए।
आफ्नै देशमा ठूलो फ्रेन्चाइज खेल खेल्ने सपना पूरा हुँदै छ: सन्दीप लामिछाने
विराटनगरको कप्तानी गरिरहेका तथा विश्वभरका फ्रेन्चाइजको अनुभव बोकेका सन्दीप लामिछानेले विभिन्न देशमा फ्रेन्चाइज खेल्दा आफ्नो देशमा पनि विश्वका स्टारसहित राम्रो फ्रेन्चाइज लिग होस् भन्ने चाहना पूरा हुन लाग्दा खुसी लागेको बताए।
उनले यसअघि नेपालमा भएका फ्रेन्चाइज क्रिकेटको योगदान पनि भुल्न नहुने उल्लेख गर्दै पहिलो खेलबाटै जित निकाल्ने गरी मैदानमा उत्रिने बताए।
आसिफकै सल्लाहमा कप्तान बनेँ: अनिल साह
जनकपुर बोल्ट्सका कप्तान अनिल साहले आसिफकै सल्लाहपछि आफू कप्तान बनेको स्पष्ट पारे। उनले केही दिन काठमाडौँमा तयारीसँगै अभ्यास खेल पनि खेलेको र टोली सन्तुलित रहेको भन्दै टिम जित्नकै लागि मैदानमा उत्रिने बताए।
उनले टिममा रहेका सबै खेलाडीहरु उत्साही रहेको भन्दै पहिलो खेलमा जित निकालेर अघि बढ्ने र उद्घाटन खेलमा दर्शकको अगाडी प्रमाणित गर्ने गरी मैदान उत्रिने बताए।
शिखर र बाबरको साथले हौसला बढेको छ: सोमपाल कामी
त्यस्तै, कर्णाली याक्सका कप्तान सोमपाल कामीले आफ्नो टोलीमा युवा खेलाडीको बाहुल्यतासँगै शिखर धवन र बाबर हयात स्टारको साथले हौसला बढेको बताए। उनले टोलीले राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरेका थिए।
उनले अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च सफलता प्राप्त खेलाडीसँग खेल्न पाउँदा स्वभाविक रुपमा धेरै कुरा सुधार हुने र टिमले समेत आत्माविश्वासी भएर प्रदर्शन गर्ने बताए।
एनपिएलले फरक उचाइ समाउँछ: रोहित पौडेल
लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले एकसाताको तयारीमा टोली सन्तुलित रहेको बताए। उनले राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे। साथै उनले देशमा एनपिएल आयोजनालाई लिएर राम्रो माहोल बनेको र भविष्यमा यसले छुट्टै उचाइ हासिल गर्ने बताए।
अन्तर्राष्ट्रिय ब्रोडकास्टर र अनुभवी खेलाडीको आगमनले एनपिएललाई नयाँ उचाइमा पुर्याउने उनको विश्वास छ।
एनपिएल युवा खेलाडीलाई ट्यालेन्ट देखाउने अवसर: करण केसी
काठमाडौँ गुर्खाजका कप्तान करण केसीले एनपिएल युवा खेलाडीहरूलाई आफ्नो ट्यालेन्ट देखाउने राम्रो माध्यम बन्ने विश्वास व्यक्त गरे।
साथै उनले आफ्नो टोलीले राम्रो तयारी गरिरहेको भन्दै एनपिएलमा आफ्नो तर्फबाट उपाधिकै लागि प्रतिस्पर्धा गर्ने बताए।
अभ्यासमा राम्रो भएको छ: दिपेन्द्र सिंह ऐरी
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले टोलीले प्रतियोगिताका लागि राम्रो गरेको बताए।
उनले १/२ वटा अभ्यास खेल पनि खेलेकाले राम्रो प्रदर्शन गर्ने बताए। साथै उनले एनपिएललाई लिएर सबै खेलाडी उत्साहित रहेको बताए।
हामी खेलका लागि उत्साही छौँ: कुशल मल्ल
चितवन राइनोजका कप्तान कुशल मल्लले आफूहरू खेलका लागि उत्साहित रहेको बताए। उनले टियू मैदानमा खेलका लागि चितवन राइनोज तयार रहेको भन्दै सबै टिम एकताबद्व भएर मैदानमा उत्रिने र सुरुवातबाटै जित निकालेर अघि बढ्ने लक्ष्यमा रहेको बताए।
उनले स्वदेशी र विदेशी खेलाडीको कम्बिनेशनबाट राम्रो नतिजा निकाल्ने विश्वास ब्यक्त गरे।
पोखराको अभ्यासमा विश्वास छ: कुशल भुर्तेल
पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले पोखरामा भएको ८/९ दिनको अभ्यासले टिमले राम्रो प्रदर्शन गर्ने विश्वास ब्यक्त गरे। साथै उनले अभ्यास खेलमा पनि राम्रो भएको र खेलका लागि सबै खेलाडी उत्साहित रहेको उल्लेख गरे।
सो अवसरमा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले एनपिएलको आयोजनासँगै नेपाली क्रिकेटले नयाँ उचाई लिने विश्वास व्यक्त गरे।
तस्बिरहरुः बर्षा शाह/देश सञ्चार।