
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा जनकपुर बोल्ट्सले विराटनगर किंग्समाथि सहज जित हासिल गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। शनिबार टियू मैदान कीर्तिपुरमा भएको उद्घाटन खेलमा विराटनगरले दिएको १ सय २८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले जनकपुर बोल्ट्ससमक्ष १ सय २८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। विराटनगरका लागि ओपनरका रुपमा मैदान आएका स्टार न्युजिल्यान्ड स्टार मार्टिन गुप्टिल ५५ रन बनाउनु सर्वाधिक रनका रुपमा रह्यो। उनले ४३ बलको सामना गर्दै ५५ रन बनाउँदा ७ चौका र १ छक्का प्रहार गरेका थिए। उनीबाहेक थप दोहोरो स्कोरका रुपमा अकिब इलियासको १५ रन रह्यो।
विराटनगरका ८ ब्याटरले दोहोरो स्कोरमा रन बनाउन सकेनन्। ओपनर लोकेश बम ५ रनमा आउट हुँदा निकोलश कीर्टन ९ रनमा आउट भए। त्यस्तै, बसिर अहमदले ७ रन बनाएका थिए। त्यस्तै, राजेश पुलामी १ रनमा रनआउट हुँदा प्रतिश जिसीले २ र सन्दीप लामिछानेले ७ रन बनाए। त्यस्तै, जितेन्द्र मुखिया शुन्य रनमा आउट हुँदा अनिल खरेल ७ रनमा अविजित रहँदा क्रिस सोले ४ रनमा आउट भए।
जनकपुरका लागि ललित राजवंशीले ३ विकेट लिँदा किशोर महतो र हर्ष थकरले २–२ विकेट लिए। त्यस्तै, बेन माइक र मोहम्मद मोसिनले १–१ विकेट लिएका थिए।
१ सय २८ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले उक्त लक्ष्य १५.३ ओभरमा पूरा गरेको थियो। जनकपुरको जितमा दुई ओभर्सिस खेलाडीले सानदार इनिङ्स खेले।
श्रीलंकामा जन्मिएका अमेरिकी खेलाडी लाहिरु मिलन्थाले ५३ बलमा ९ चौका र ३ छक्काको सहयोगमा ७५ रनको स्कोर खेल्दा क्यानडाका हर्ष थकरले ३३ बलमा २ चौकाको सहयोगमा २९ रनको अविजित इनिङ्स खेले। यी दुईले तेस्रो विकेटका लागि ८७ बलमा १ सय १६ रनको अविजित साझेदारी गरेका थिए। विराटनगरका प्रतिश जिसी र क्रिस सोलले १–१ विकेट लिएका थिए।