‘सुन्तलाको हाँगैहाँगामा पैसा देखिन्छ’ ( भिडियो )

+
-

पोखरा – लौरीको सहाराले बगान चहार्दा उनलाई ठ्याक्कै एक घण्टा लाग्यो। लटरम्म फलेका सुन्तलाको दानालाई सुम्सुमाउँदै निहुँरिएर उकाली ओराली गर्न सुकनारायाण श्रेष्ठलाई धौं हुन्छ। बगान चहार्न लौरीले सहारा दिएजस्तै सुन्तलाको दानाले दिने आम्दानी पनि सुकनारायणको बुढेसकालको सहारा बनिरहेको छ। रसिला सुन्तलाको दानाले उनलाई गुलियो आम्दानी चखाइरहेको छ।

एक नजरले नभ्याइने बगानको सुन्तलाका हाँगामा, दानामा उनी पैसाका नोटहरु देख्छन्। ‘यो सुन्तलाको हाँगैहाँगामा भनौँ न पैसा देखिन्छ। यही सुन्तलालाई त हो पैसा हाल्ने!’, बगानको एक फन्को लगाएपछि थाकेको मुहारमा हाँसोको बहार ल्याउँदै सुकाारायणले सुनाए।

पोहोर साल उनले सुन्तला बिक्री गरेर ७० लाख रुपैयाँ आम्दानी गरे। यसपालि ३५ देखि ४० लाख रुपैयाँको हाराहारीमा बिक्री हुने उनको अनुमान छ। फूल खेल्ने बेला पानी नपरेर सुन्तला कम फलेको उनले बताए।

सुकनारायणले लिइरहेको रसिला सुन्तलाको गुलियो आम्दानी जिन्दगीको नमिठो कथाबाट सुरु भएको हो। कथा सुन्न सुकनारायणको जिन्दगीको ३५ वर्षअगाडिको पाना फर्काउनुपर्छ।

जतिबेला उनी सरकारी विद्यालयमा शिक्षणसँगै खेती किसान पनि गर्थे, निर्वाहमुखी नभई व्यवसायिक तरिकाले। तरकारी, केरा हुँदै बोइलर कुखुरापालनमा लागेका उनलाई २०४५ सालको नाकाबन्दीले बर्बाद पारिदियो। पोल्ट्रीफार्मबाट उठ्नै नसक्ने गरेर निकै क्षति व्यहोर्नुपरेपछि उनले विकल्पको बाटोहरु खोज्न थाले।

खोजेका विकल्पमध्ये उनले छाने सुन्तला खेती  सुन्तला खेतीको बारे अध्ययन गर्नलाई उनी बन्दीपुरको विमलनगर धाइरहन्थे। विमलनगरका किसानलाई वाक्कै लाग्ने गरेर सुन्तलाबारे उनले सयौं प्रश्नहरु तेर्स्याए। पाएको जवाफलाई निष्कर्षमा बदले, ‘सुन्तलाबाट भविष्य राम्रो हुन्छ।’

उनले सुन्तला खेती बुढेसकालको साहरा बन्ने ठम्याएर डाँडामा जग्गा खोज्न थाले। जामुनेका सुकनारायणले हालको म्याग्दे गाउँपालिका–२ उमाचोकमा ३६ रोपनी जग्गा किने। डाँडामा चार सय रुपैयाँ रोपनीमा खरिदेको जग्गा पास गर्दासम्म ६ सय रुपैयाँ परेको उनलाई सम्झना छ।

लस्करै देखिने उत्तरको हिमालतर्फ नजर जुधाएर थपक्क बसेको उमाचोकको डाँडामा सुकनारायणले २०४६ सालमा सुन्तलाका विरुवाहरु रोप्न थाले। ‘४६ र ४७ सालमा दुई वर्ष लगाएर सात सय बेर्ना लगाएको हो। पछि एक दुई रोपनी थप्दै अहिले हजार जति रुख छन्’, उनले भने।

सुन्तला रोपेको दुई वर्षपछि उनी शिक्षण पेशाबाट रिटायर्ड भए। सुन्तलाका बिरुवा हुर्कँदै थिए। रिटायर्ड भएपछि सुकनारायण राजनीतिमा भिज्दै गए। राजनीतिक भविष्यको अंकुर पनि सुन्तलाको बिरुवासँगै हुर्किरह्यो।

२०५४ सालमा भएको निर्वाचनमा उनी जामुने गाविसको अध्यक्षमा नेकपा एमालेकोतर्फबाट उम्मेदवार बनेर निर्वाचित भए। जनप्रतिनिधि भएर जनताको सेवामा मग्न उनले डाँडामा रोपेका सुन्तलाको बिरुवालाई चटक्कै बिर्सिए। सुन्तलाको बिरुवालाई झाँडीले जित्यो। झाँडीको बीचमा सुन्तलाका बिरुवा सप्रनै सकेनन्।

६० सालपछि उनी निरन्तर सुन्तला खेतीमा फर्किए। ‘पहिला सय बोटमा मल दिएँ। अर्को वर्ष दुई सय बोट गरेर तीन सय बोटलाई मल दिएँ। मल दिएर हेरेपछि सुन्तला धेरै परिवर्तन भयो। यो खाद्य तत्व नै दिनपर्दो रैछ भन्ने सोचेर ऋणधन के गरेर हुन्छ सबै सुन्तलालाई मल हाल्न थालेँ’, सुन्तलाको फेदमा बसेर गफिँदै भने।

मलजलसँगै स्याहारसुसार पाएपछि सुन्तलाले फल दिन थाल्यो। सुन्तलाले फलसँगै आम्दानी चखायो। सुरुमा २२ हजार रुपैयाँ लिएका सुकनारायणको आम्दानीको ग्राफ उकालो चढिरह्यो। हजारबाट लाख १० लाख हुँदै ७० लाख रुपैयाँसम्म उनले सुन्तला बिक्रीबाट हात पारेका छन्। ‘सुन्तलाको आम्दानीले परिवार धान्न धेरै सहज भएको छ’, उनले भने।

सुन्तला बिक्रीका लागि उनले ग्राहक खोज्नुपर्दैन। सुन्तला खरिद गर्न व्यापारी बगानमै आउँछन्। मोलमोलाइ गरेर टिपेर काठमाडौँसम्म पुर्‍याउँछन्।

वर्षेनी एउटै व्यापारीले बगानको ठेक्का लिने उनले बताए। ती व्यापारीले सुन्तला नफुल्दै सुकनारायणलाई बैना रकम थमाउँछन् रे। उनले भने, ‘दश आठ लाख रुपैयाँ पैसा चाहियो भने उसँग मलाई खाँचो पर्‍यो भनेसी पहिल्यै पाइन्छ। चैत वैशाखदेखि नै दिन्छ।’

सुन्तलाको गोडमेल, औषधि उपचारमा वार्षिक १८ लाखको हाराहारीमा खर्च हुने उनले बताए। सुकनारायणको सुन्तला खेतीले उनलाई मात्रै आम्दानी दिएको छैन। गाउँलेलाई पनि व्यवसायिक सुन्तला किसान बनाएको छ। उमाचोकको डाँडा कतै खाली छैन। जता हेर्‍यो सुन्तलाको बगान देखिन्छ।

‘पहिला धेरै समयसम्म गाउँलेले सुन्तला लगाएका थिएनन्। जब हामीहरुले २२/२५ लाख, ५० लाख लिन थाल्यौँ, तब ए ५० लाख लियो भन्ने चर्चा चल्न थाल्यो’, उनी भन्छन्, ‘सबैले सुन्तला लगाएर हुने रैछ बुझे। अहिले जति पनि जमिन जग्गा छन् त्यहाँ बाँझो नराखी सुन्तला लगाएका छन्।’

सुकनारायणले थपे, ‘जग्गा भन्ने हो भने मैले चार सय रुपैयाँ रोपनीमा लिएको हो। पास गर्दा ६ सय पर्‍या हो। अहिले आएर चार लाख पाँच लाख रुपैयाँ भन्न थाल्याछ रोपनीको। यो सुन्तलाकै कारणले गर्दा डाँडाको जग्गाको मूल्य पनि वृद्धि हुँदै गा’को हो। जग्गा किन्न खोजेर नि पाइँदैन।’

सुकनारायणको लोभलाग्दो सुन्तला खेतीमा दरिलो साथ दिएकी छन् उनकी जीवनसंगीनी युक्तकुमारी श्रेष्ठले। भिरालो जमिन सम्माएर खनजोत गर्नेदेखि मलका डोको बोक्नेसम्मको दुःख गरेर सुन्तलालाई सिञ्चित गरिन्। त्यतिबेला गाउँलेको घरमा फलेको लटरम्म सुन्तला देख्दा उनी सोच्थिन्, ‘हाम्रो कहिले यस्तो होला।’ बगान घुमेर हर्षविभोर उनी भन्छिन्, ‘हाम्रो कुन जुगमा होला त यस्तो भन्याथेँ। यही जुगमा भयो।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?