सही चर्चा र ध्यान

सही चर्चा र ध्यान
+
-

बृहदारण्यकोपनिषद् अध्याय ३ ब्राह्मण १ मा एकपटक राजा जनकले ठूलो दक्षिणाको घोषणा गरी एउटा विशाल यज्ञ आयोजना गर्नुभएको प्रसङ्ग आउँछ । त्यस यज्ञमा राजाको निम्तालाई स्वीकार गरी कुरु र पाञ्चाल देशका विशिष्ट र विद्वान ब्राह्मणहरुले उत्साहका साथमा सहभागिता जनाए । राजा जनकलाई त्यहाँ उपस्थित ब्राह्मण तथा ज्ञानीहरु मध्ये सबैभन्दा उत्तम प्रवचन गर्न को सक्षम हुनुहुन्छ भनेर जान्ने इच्छा उत्पन्न भयो । यही प्रयोजनका लागि भनेर उहाँले एक हजार गाईहरुलाई आफ्नो गौशालामा बाँधेर राख्नुभएको थियो । ती प्रत्येक गाईहरु आफ्ना सीङ्मा बाँधिएका दश–दश वटा सुनका मोहोरहरुले शोभायमान थिए ।

सम्पूर्ण ज्ञानी ब्राह्मणहरुको सभामा राजा जनकले घोषणा गर्नुभयो, ‘हे पूज्य ब्राह्मण ! यहाँहरु सबैजना ब्रह्मवेत्ता हुनुहुन्छ । तपाईंहरुमध्येमा सर्वश्रेष्ठ ब्रह्मवेत्ताले यी गाईहरुलाई हाँकेर आफ्नो निवासमा लिएर जान सक्नुहुनेछ ।’

त्यहाँ उपस्थित कुनै ब्राह्मणले पनि यसरी गाईलाई गोठबाट फुकाएर लैजाने आँट गर्न सक्नुभएन । आफू नै श्रेष्ठ ब्रह्मवेता हुँ भनेर घोषित गर्ने त्यहाँ मध्ये कसैले पनि धृष्टता गर्न सकेन । कुनै पनि ब्राह्मणले साहस गर्न नसकेको देखेर ऋषि याज्ञवल्क्यले आफ्ना शिष्यलाई भन्नुभयो, ‘हे सोम्य ! हे सामश्रवा ! यी गाईहरुलाई हाम्रो गौशालामा लिएर जाऊ ।’ याज्ञवल्क्यको यति आदेश पाउनासाथ ती शिष्यले सम्पूर्ण गाईहरुलाई फुकाएर आफ्नो गौशालातिर लिएर गए ।

उपस्थित सम्पूर्ण ब्राह्मणहरुका बीचमा याज्ञवल्क्यको यो साहस देखेर अन्य ब्राह्मणहरु क्रुद्ध भए । त्यस सभामा राजा जनकका मूल पुरोहित अश्वल पनि उपस्थित थिए । राजा र राज्यको आश्रय पाएको हुँदा उनको स्वभावमा अभिमान देखिन्थ्यो । अश्वलले अब याज्ञवल्क्यलाई प्रश्न गर्दछन्, ‘के साँच्चै नै हामी सबैमा तिमी नै श्रेष्ठ ब्रह्मवेत्ता हौ त ?’

उत्तरमा याज्ञवल्क्य भन्दछन्– सम्पूर्ण ब्रह्मनिष्ठहरुलाई मेरो नमस्कार छ, यस समय मलाई गाईको खाँचो छ ।’

यसपछि त्यहाँ याज्ञवल्क्य र अश्वलका बीचमा प्रश्नउत्तर चल्दछ । ‘हे याज्ञवल्क्य !’ अश्वल सम्बोधन पश्चात प्रश्न गर्दछन्, ‘यो सम्पूर्ण संसार मृत्युले परिव्याप्त छ । यहाँ भएका सम्पूर्ण प्राणीहरु मृत्युको अधीनमा छन् । त्यो मृत्युको व्याप्तिलाई यजमानले कुन साधनले अतिक्रम गर्न सक्छन् ?’ अश्वलको यस प्रश्नको जवाफमा याज्ञवल्क्य भन्दछन् – वाक्द्वारा मृत्युको अधीनतलाई अतिक्रम गर्न सक्दछन् ….।’

झट्ट सुन्दा यो उत्तर अनौठो जस्तो लाग्दछ । कसरी मानिसले आफ्नो वाक्शक्तिद्वारा मृत्युको पराधीनतालाई अतिक्रम गर्न सक्छन् होला ! हर कोहीको मनमा यो प्रश्न उत्पन्न हुनु स्वाभाविक नै हो ।

मैले गुरुदेवका साथमा बिताएको झण्डै पच्चीस वर्षको समयलाई बिचार गर्दा म के पाउँछु भने उहाँले सबैभन्दा बढी आफ्नो समय भेट गर्न आएका जिज्ञासु र दर्शनार्थीका साथमा कुराकानी गरेर बिताउनु भयो । गुरुदेवले आफ्नो निवासको प्रवेशद्वार कहिले पनि आउने मान्छेका लागि बन्द गर्नुभएन । औपचारिक शिक्षा पाएको अथवा निरक्षर, शहरको होस् अथवा गाउँको होस्, बालक होस् अथवा बृद्ध, महिला होस् अथवा पुरुष, स्वदेशी होस् अथवा सात समुद्र पारीको अङ्ग्रेज सबैका साथमा हुने कुराकानीमा उहाँ रमाउनु हुन्थ्यो । उहाँको ज्ञान, सूचना र अभिव्यक्ति शैली यस्तो मन्त्रमुग्ध पार्ने हुन्थ्यो कि त्यस समयमा अरु मानिसले बोल्ने कुनै आवश्यकता नै हुँदैन थियो । एकदिन मलाई भन्नुभएको थियो, ‘तैंले भारतमा विभिन्न प्रान्तबाट आएका मानिसहरुको भेलामा एकजना मानिस कुराकानी गर्न कुशल छ र अरु मानिसहरु सुनिमात्र रहेका छन् । यस्तो दृश्य देखिस् भने त्यो बोल्ने मान्छे बङ्गाली हो भन्ने पक्का बुझे हुन्छ ।’ चित्र बनाउँदा, खाना बनाउँदा, कुनै शारीरिक काम गर्दा, नुहाउनु अघि शरीरमा तेल मालिस गर्दा पनि उहाँ कुनै गम्भिर विषयमा चर्चा गरिरहनु हुन्थ्यो ।

यदाकदा कुनै किताब लेखेको बेलामा मानिसहरु आएर उहाँको लेखन कार्यमा बाधा गरे भन्ने लाग्यो भने आश्रमको भान्साकोठा, माथि कुखुरे पाखाको कुटी अथवा आश्रमको शिरानको कोठामा एकान्तमा गएर आफ्नो कार्य गर्नुहुन्थ्यो । तर त्यहाँ पनि मानिस त किन जाँदैन थिए र ! ‘घर छाडेर निस्किएको दिनदेखि मलाई मानिसले कहिले पनि छोडेनन् ।’ उहाँ भन्नुहुन्थ्यो ‘यतिसम्म कि शिवपुरी पहाडमा तपस्या गर्दाका बखतमा बाघभालू लाग्ने ओडारमा बसेर तपस्या गर्दा पनि मानिसहरु खोज्दै खोज्दै, झरीका बेलामा, जुका र डाँसले टोके तापनि त्यहाँ पुग्थे अरे ।

स्वामी चन्द्रेशका साथमा लेखक।

गुरुदेव केवल बोल्नु मात्रै हुँदैनथियो कि उहाँले गर्ने कुराहरुमा अनुभूति हुन्थे । त्यसका अतिरिक्त उहाँका शब्दहरुमा प्रेमभावना, आशीर्वाद, हिताकाङ्क्षा, परोपकार र मार्गदर्शन हुन्थ्यो । कोही कोही भक्तले उहाँले भनेको यी कुराहरु ‘लेखेर राख्न पाए कति राम्रो हुन्थ्यो । धेरै मानिसहरुले हजूरको भनाइबाट लाभ पाउने थिए ।’ भन्ने गरेको पनि मैले सुनेको हुँ । यो म भर्खर आएको बेलाको कुरा थियो । एकजना भक्तको यस्तै प्रश्नको जवाफ स्वरुप भन्नुभएको थियो, ‘म लेख्न त लेख्छु तर किताबका पेज होइन मानिसको हृदयमा लेख्छु ।’ मेरो पिताजी कृष्णविनोद लम्सालले पनि एकपटक यसै गरेर प्रश्न गर्नुभएको थियो, ‘स्वामीजी मैले जहिले पनि हजूरले भनेको कुरामा कुनै न कुनै नौलो कुरा भेट्छु । हजूरले बोलेका कुराहरुलाई अभिलेख गरेर राख्न सकिंदैन ?’ यस प्रश्नको जवाफ गुरुदेवले भन्नुभएको मलाई सम्झना छ, ‘यसरी रेकर्ड गरेर राख्ने, किताब बनाउने भनेको चेलाहरुले गर्ने काम हो । मैले कुनै प्रसङ्गमा केही कुरा भनेको हुन्छु । अब त्यसलाई तत्काल कसरी रेकर्ड गर्ने ? यस विषयमा चेलाहरुले सोच्नु पर्दछ ।’

यस आश्रममा आएदेखि नै यहाँको व्यवस्थापनलाई लिएर मलाई चिन्ता भइरहन्थ्यो । पठनपाठन हुने कतिपय कक्षाहरुमा बर्षामा पानी चुहुन्थ्यो । कुनै कुनै कक्षाकोठामा झ्याल ढोका थिएनन् । हिंड्ने बाटो वर्षामा हिलाम्मे हुन्थ्यो । विद्यालयको बारबेरा नभएको हुँदा विभिन्न थरीका मानिसहरु, बाटाका कुकुरहरु, कहिले कहिले पागलहरु पनि विद्यालयको हाताभित्र प्रवेश गर्दथे । उनीहरुलाई रोक्ने हामीहरुसँग कुनै उपाय नै थिएनन् । गुरुदेवलाई भक्तहरुले सहयोग गर्न कमी पनि हुँदैन थियो । गुरुदेवका साथमा नै रहेर ‘यस्तो कुरा आवश्यक छ, यस्तो बनाउनु पर्छ ।’ भनेर सल्लाह दिने मानिसको कमी भएर हुनसक्छ गुरुदेवलाई कसैले पैसा अथवा सामान दान दिएको छ भने पनि कोही आवश्यक पर्ने मानिस अगाडि देख्दा उसलाई दिइहाल्नुहुन्थ्यो । फेरि हामीहरुको क्षेत्र ठूलो भएको हुँदा सानो तिनो काम गरे तापनि देखिँदैन थियो । यति हुँदाहुँदै पनि विद्यालयका कक्षाकोठाहरुमा विद्यार्थीहरु भरिभराउ हुन्थे । गुरुदेवका साथमा आउने भक्तहरु उहाँसँग अत्यन्त खुशी र कृतज्ञ भएर फर्किनुहुन्थ्यो ।

मेरो आशय के हुन्थ्यो भने यहाँ गुरुदेवलाई आएर भेट गर्ने सज्जनहरुमध्ये कसैले हाम्रो भौतिक संरचना बनाउन सहयोग गरिदिनुहुन्थ्यो भने हाम्रो कत्रो कल्याण हुन्थ्यो । विद्यार्थीहरुले कति आरामले पढ्न पाउँथे ।

एकदिन म कुनै काम विशेषले बाहिर गएको थिएँ । बेलुका म फर्किएपछि गुरुदेवले दिउँसो आएका आगन्तुकको प्रसङ्ग निकालेर भन्नुभयो, ‘उनीहरुका साथमा राम्रो धर्मचर्चा भयो । खुबै खुशी भएर गएका छन् ।’ गुरुदेवले कुरा गर्दा गर्दै मैले बीचमा आफ्नै आग्रहलाई उहाँसमक्ष राखें । ‘गुरुदेव ! हजूरले उनीहरुलाई केही सहयोग गर्न भन्नु भयो ?’ सायद मैले यो प्रश्न ठिक समयमा नगरेको हुनसक्छ गुरुदेवले जवाफ दिनुभयो, ‘तैंले के सम्झिएको छस् ? म यहाँ जोसँग पनि मागेर बसिरहेको हुन्छु ?’ कुरा साँच्चै पनि हो । एउटा मानिसका साथमा धर्म दर्शनको चर्चा गरिरहेको बेलामा गुरुदेवको स्तरको व्यक्तिले कुनै भौतिक कुरा मागिहाल्नु उचित पनि हुँदैन थियो । यहाँको आवश्यकताले मलाई पिरोलिरहने हुँदा मैले हठात् गुरुदेवसँग बेला न कुबेला त्यो प्रश्न सोध्न पुगेको थिएँ ।

ऋषि याज्ञवल्क्यले वाक्ले मानिसले मृत्युलाई जित्न सक्छ भन्ने कुरा मलाई अनौठो लागि रहन्थ्यो । ऋषि याज्ञवल्क्यको यो भनाइलाई गुरुदेव आफ्नो कुराकानीमा बारबार उद्धृत गरिरहनुहुन्थ्यो । मलाई लाग्थ्यो, ‘संसारमा कुरा गर्ने मानिसको त कुनै कमी छैन । अझ कुरा गर्ने कामै नगर्नेहरु त त्योभन्दा धेरै छन् । उसो भए यी सबैले नै के मृत्युलाई जितेका होलान् त ?’ यही प्रश्न मैले गुरुदेवसमक्ष राखें ।

मेरो प्रश्नका बारेमा गुरुदेवले एकछिन विचार गर्नुभयो र भन्नुभयो, ‘मेरा अनुभवमा जुन दिन म जिज्ञासुहरुका साथमा राम्रोसँग धर्मदर्शन चर्चा गर्दछु । मैले गरेको चर्चाले उनीहरु सन्तुष्ट भएको जस्तो लाग्दछ । मलाई आफैंलाई पनि यसरी धर्म चर्चाले आनन्द प्रदान गर्दछ त्यसपछि ध्यान गर्न बस्दा मेरो ध्यान गहिरो हुन्छ । जब मलाई गहिरो ध्यान लाग्दछ त्यसबेला मलाई मृत्युको चिन्ता हुँदैन । तसर्थ धर्मदर्शनको उचित चर्चाले निश्चय नै मृत्युको डरलाई जित्न मद्दत पुग्छ भन्ने मेरो बिचार हो ।’

-बूढानीलकण्ठ २०८१ श्रावण २६

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?