
जाडो होस् कि गर्मी, हरेक शनिबार बिहान नुवाकोट लिखु चौघडाका रामचन्द्र अगस्ती दरबारमार्गको पछाडि अर्थात ‘याक एण्ड यति’ होटल जाने भित्री सडक किनारको एक पसलमा कुभिन्डोको भारी बोकेर आइपुग्छन्। अनि चुपचाप बेच्न थाल्छन्। केही घन्टामै उनले बोकेर ल्याएको कुभिण्डोको भारी सक्किन्छ अनि उनी पैसा पोको पार्छन्। अनि बस चढेर फेरि लाग्छन् नुवाकोटतिरै।
गाउँघरमा खेर जाने कुभिन्डो सङ्कलन गरी केही महिनादेखि दरबारमार्गमा बेच्दै आएका छन् रामचन्द्रले। दरबारमार्गमा लाग्ने रैथाने कृषि हाटबजारको बारेमा जानकारी पाएपछि कुभिन्डो बेच्न यहाँ ल्याउने निधो गरेका हुन् उनले। गाउँमा खेर जाने कुभिण्डो पनि बेचेर कमाउन सकिन्छ भन्ने ह्याउ उनले गरे।
‘गाउँघरतिर कुभिन्डोलाई कुफलको रूपमा हेरिन्छ। तर मैले बजारसम्म ल्याएर आम्दानीको स्रोत बनाउँदै आएको छु,’ उनले भने, ‘एकदिन खेतमा गएँ, त्यहाँ जाँदा बारीभरि कुभिन्डो देखेँ। यो कुभिन्डो रोपेको पनि होइन, मल पनि हालेको होइन। आफैँ उम्रेको हो। त्यो फलेको देखेर मैले यसबारे अध्ययन गर्न थालेँ।’
कुभिन्डोको अध्ययन गर्दा औषधीय गुण हुने, स्वास्थ्यका लागि फाइदाजनक हुने थाहा पाएरै बेच्न थालेको बताए उनले। गाउँघरमा त खासै मतलब नगर्ने कुभिण्डो सहरबासीका लागि रोग न्यूनीकरण गर्ने घरेलु औषधी बनेको छ।
कुभिन्डोको पाउडर बनाएर दैनिक एक चम्चा सेवन गर्दा स्वास्थ्यमा विभिन्न फाइदा हुने उनी बताउँछन्। ‘त्यस्तै यसलाई बीउका रुपमा पनि प्रयोग गर्न मिल्छ,’ उनले भने।
दरबारमार्गमा कुभिण्डो बेच्ने कुरा गर्दा घरका मान्छेले पत्याएका थिएनन्। उल्टै ‘दरबारमार्गमा कुभिण्डो खान्छन् र?’ भन्ने प्रश्न गरेका थिए। दरबारमार्गमा कुभिण्डो किन्न को आउलान् र? गाईबस्तुले खाने फल कसलाई काम लाग्ला र भनेर परिवारकै सदस्यले पत्याएका थिएनन्। तर, उनले हिम्मत हारेनन्। दरबारमार्गमा बीसवटा कुभिण्डो बेचेर सुरु गरेका उनी आजका दिनमा सयसम्म कुभिण्डो बेच्न कुनै गाह्रो नभएको बताउँछन्।

रामचन्द्र अगस्ती कुभिण्डो बेच्दै।
‘त्यो दिन पानी पर्दै थियो। बजार ल्याउन कुभिन्डो टिपेर बुवालाई समाउन दिँदासमेत समात्न पनि मान्नु भएन,’ उनले भने, ‘जसोतसो दरबारमार्गमा पुर्याएँ। पहिलो दिन २० वटा ल्याएको थिएँ। आधा घण्टामै सकियो।’
प्रतिकिलो एक सय रुपयाँमा बेचेर जब घर फर्किएका रामचन्द्रलाई देखेर परिवारका सदस्य चकित। बेचेरै ल्याए त? भन्ने शंका पनि गरे। अनि तेस्रो हप्ताको शनिबारसम्म त व्यक्तिगत रूपमा उनीसँग कुभिण्डोको अर्डर नै गरे।
प्रतिकिलो एक सय रुपयाँमा बेचेर जब घर फर्किएका रामचन्द्रलाई देखेर परिवारका सदस्य चकित। बेचेरै ल्याए त? भन्ने शंका पनि गरे। अनि तेस्रो हप्ताको शनिबारसम्म त व्यक्तिगत रूपमा उनीसँग कुभिण्डोको अर्डर नै गरे।
खासमा गाईबस्तुमा बाँझोपन हुँदा कुभिण्डो खुवाउने गरिन्छ। यो खुवाएमा पाठेघर सफा हुने र पशुवस्तुको गर्भाधान हुने मान्यता छ। तर उनले मानिसका लागि प्रयोगमा ल्याए कुभिण्डो। मानिसले कुभिण्डोलाई औषधीका रूपमा प्रयोग गर्न सक्ने बताउँछन् उनी। ‘कुभिन्डोमा ९५ प्रतिशत पानी हुने, औषधीय गुण हुने भएकाले स्वास्थ्यका लागि उपयुक्त हुन्छ। योसँगै जन्डिस लागेको बिरामी, पत्थरी भएका बिरामीलाई यसले एकदमै राम्रो गर्दो रहेछ,’ उनले भने।
भारततिर यसको मिठाइ चर्चित रहेको उनको भनाइ छ। कुभिण्डो खेती नै गर्ने सोचमा पुगेका रामचन्द्रले कुभिन्डोलाई संरक्षण गर्न नार्कमा बीउ संरक्षणका लागि निवेदन पनि दिएका छन्। ‘बीउ संरक्षण समितिमा नुवाकोटको कुभिन्डो भनेर संरक्षण गर्छु। घरमा पनि चारपाँच वटा कुभिन्डो बीउका लागि राखेको छु,’ उनले भने।
करिब डेढ दशकअघि वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका थिए रामचन्द्र। विदेशबाट काम गरेर गाउँमा फर्किएकाहरूको फुर्तिफार्ती देखेर नै पलायन भएका थिए सन् २०११ मा। त्यहाँ मासिक ३ लाख बेसी कमाउँथे तर उनी विदेशमा धेरै बस्न सकेनन्। कोरियामा चार घण्टा आराम गरेर २० घण्टा काम गर्नुभन्दा देशमै दुःख गरे सुन फलाउन सकिने उनी बताउँछन्।
घरको एक्लो छोरो भए पनि बुढा बाआमा र ६ दिदीहरुको जिम्मेवारी उनको काँधमा थियो। र गाउँबाट नजिकको सहर काठमाडौँ भएकाले रोजगारका लागि झर्नु नै थियो। तर संयोगले उनले पत्रिका बेच्ने काम गरे करिब एक दशक पत्रिका बेच्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा विदेशबाट फर्किनेहरूलाई देखेर आफूलाई पनि विदेश जाने रहर हुन्थ्यो। ‘पत्रिका बेच्ने क्रममा एयरपोर्टतिर पुग्दा राम्रा कपडा लगाएका सुकिला मुकिला, सुटकेस बोकेका मानिस देख्थेँ । त्यो सुटकेसभरि पैसा ल्याएका होलान् जस्तो लाग्थ्यो,’ उनले भने, ‘त्यो देखेर विदेश गएर केही कमाएर ल्याउन सकिन्छ कि भन्नेतिर मेरो मन गयो ।’
कोरियन भाषा परीक्षा दिँदा २१ सय वटा प्रश्नबाट जुनसूकै आउनसक्ने भएकाले उनले ती सबै प्रश्नउत्तर कण्ठ गरे । उनले भने, ‘कोठाका भित्ताभरि कोरियन भाषा टाँसेर पढ्थेँ। पत्रिका दिन जाँदा पनि सानो कागजमा नोट बोकेर पढ्दै हिँड्थेँ। एउटा शब्द बारम्बार दोहोर्याएर पढ्दै काम गर्थेँ।’
कोरिया जाने बाटो पहिल्याएपछि सबैभन्दा पहिला भाषा सिके । पत्रिका किन्ने उनकै एक जना ग्राहकले उनलाई कोरियन भाषा सिक्न मद्दत गरे।
कोरियन भाषा परीक्षा दिँदा २१ सय वटा प्रश्नबाट जुनसूकै आउनसक्ने भएकाले उनले ती सबै प्रश्नउत्तर कण्ठ गरे । उनले भने, ‘कोठाका भित्ताभरि कोरियन भाषा टाँसेर पढ्थेँ। पत्रिका दिन जाँदा पनि सानो कागजमा नोट बोकेर पढ्दै हिँड्थेँ। एउटा शब्द बारम्बार दोहोर्याएर पढ्दै काम गर्थेँ।’
त्यतिबेला ८० हजार जनाजतिले कोरियन भाषाको परीक्षा दिएका थिए। त्यसमध्ये ४ हजार जनाको नाम निस्केको थियो। त्यही चार हजारमध्ये एक थिए रामचन्द्र। ‘सन् २०११ अगस्टमा कोरिया छिरेको थिएँ। कोरियामा ३ वर्ष जति बसेँ,’ उनले भने, ‘त्यसपछि म नेपाल फर्किएँ। अझै मेरो भिसा बाँकी नै थियो।’

नुवाकोटका किसान रामचन्द्र अगस्ती दरबारमार्गमा केराकाे बुङ्गाे बेच्दै।
कोरियाको कमाइले काठमाडौँमा घर पनि किने। तर यहाँ बस्न मन नलागेर ५ महिनामै उनले घर बेचे। त्यसपछि गाउँमै गएर खेती किसानीमा लागे उनी।
‘गाउँमा जाँदा काम गर्दा बुवा खुसी हुनु भयो। मैले काम गरेको देख्दा खुसी हुनुहुन्छ,’ उनले भने, ‘फर्किदा ६० देखि ७० लाख लिएर आएको थिएँ। गाउँमै घर बनाएँ, केही जग्गा जोडेँ। अहिले गाउँमा खेर गइरहेका कुभिन्डो, केराको बुङ्गो दरबारमार्गमा ल्याएर बेच्दैछु।’
रामचन्द्रले गाउँमा मकै गोड्ने यन्त्र, मल हाल्ने यन्त्र आफैँ तयार गरेका छन्। उनले मकै, धान र आलुको खेती गर्दै आएका छन्। यसका साथै गाउँघरमा पाइने रैथाने कृषि वस्तु बजारसम्म पुर्याएर बेच्ने गरेका छन्।
कुभिन्डोका साथै ‘केराको बुङ्गो’ पनि बेच्दै आएका रामचन्द्रले कृषिमै भविष्य खोजे। र आयस्रोतको माध्यम बनाए खेर गएका फललाई। ‘बुवासँग कृषि सिक्दै छु। बाँच्नका लागि जसले पनि कृषि उब्जनी नै खानु पर्छ,’ उनले भने, ‘बाँच्ने मुख्य आधार नै कृषि र कृषिबाट उत्पादित वस्तु हो।’
‘रामचन्द्रले कुभिण्डो मात्रै होइन केराको बुङ्गो, अमला, अमारोजस्ता सिजनल तरकारी बेच्नुहुन्छ। महिनाका ५०-६० हजार कमाउन सक्नुको अर्को कारण हो, किसान स्वयंले बेच्ने भएर हो। हाम्रो यहाँ कुनै मध्यस्तताबाट ल्याएर बच्दैनौँ। किसानले फलाउने किसानले नै बेच्ने हो। त्यसो हुँदा किसान मर्कामा पर्दैनन्।’
दरबारमार्गमा कुभिन्डो बिक्री गरेरै महिनाको ५० हजार रुपैयाँ कमाएका छन् उनले। गाउँघरका कृषि उपजलाई पहिचान गर्न सके यहीँ नै अवसर रहेको उनी सुनाउँछन्। दरबारमार्गस्थित रैथाने हाटबजार व्यवस्थापनका अध्यक्ष तीलक ढकाल रामचन्द्रले ५० हजारभन्दा बढी कमाएको दाबी गर्छन् । उनी भन्छन्, ‘रामचन्द्रले कुभिण्डो मात्रै होइन केराको बुङ्गो, अमला, अमारोजस्ता सिजनेबल तरकारी बेच्नुहुन्छ। महिनाका ५०-६० हजार कमाउन सक्नुको अर्को कारण हो, किसान स्वयंले बेच्नु। हाम्रो यहाँ कुनै मध्यस्तताबाट ल्याएर बेच्दैनौ। किसानले फलाउने किसानले नै बेच्ने हो। त्यसो हुँदा किसान मर्कामा पर्दैनन्।’
ढकालका अनुसार स्वास्थ्यलाई ध्यानमा राखेर केही पनि बेचिन्छ भने त्यसले बजार पाउँछ। रामचन्द्रले त्यस्ता तरकारी बेचिरहेका छन् जो हाम्रा पुर्खाहरुले घरेलु दबाइका रूपमा प्रयोग गर्थे।
नुवाकोटमा फलाएर काठमाडौमा बेच्ने रामचन्द्रले सिजन अनुसारका तरकारी पनि बेच्छन् । अध्यक्ष ढकालका अनुसार जुन सिजनमा जे फल्छ, त्यसलाई बेच्ने प्लेटफर्म हो रैथाने हाटबजार र किसान स्वत उपस्थित भएर बेच्ने हो। उनले भने, ‘कुभिण्डोको माग बढेको छ। तर सिजन सकिएपछि हामी बेच्न दिँदैनौ।’
घरको जमिन बाँझो राखेर विदेश जाने संस्कृति बनेको बेला युवाहरू नेपालकै माटोमा तरकारी फलाउन विदेशको बराबर यहीँ आम्दानी हुने उनको विश्वास छ। उनी भन्छन्, ‘कृषिमा युवाहरूलाई जोड्न राज्यले नै सहयोग गर्नुपर्छ ।’
घरको जमिन बाँझो राखेर विदेश जाने संस्कृति बनेको बेला युवाहरू नेपालकै माटोमा तरकारी फलाउन विदेशको बराबर यही आम्दानी हुने उनको विश्वास छ। उनी भन्छन्, ‘कृषिमा युवाहरूलाई जोड्न राज्यले नै सहयोग गर्नुपर्छ ।’
कृषिमै लागेर उनले आफ्ना बालबच्चालाई राम्रै पढाएका छन्। कृषिमै लाग्न प्रेरित गरिरहेका छन्। भन्छन्, ‘मेरा छोराहरु अहिले केराको बुङ्गो र कुभिण्डो बेच्न दरबारमार्ग आउँछन्।’
कोरिया रिटर्न ५० जना मध्ये उत्कृष्ट काम गरेको भनेर ‘माइग्रेट’ संस्थाले उनलाई छनेट समेत गरेको छ ।
नयाँ पुस्ताले कृषि कर्म गर्न नचाहने हो भने भोलि खाद्यान्न उत्पादनमा गम्भीर समस्या सिर्जना हुने बताउँछन् उनी। भन्छन्, ‘कसैले पनि खेती नगर्ने हो भने भोलि के खाने?’