हिउँबिनाको माछापुच्छ्रे, कालो पहाडजस्तै

हिउँबिनाको माछापुच्छ्रे, कालो पहाडजस्तै
+
-

पोखरा- माछापुच्छ्रे हिमाल भन्ने वितिक्कै अधिकांशको मनमा प्रकाश श्रेष्ठले गाएको गीत ‘फेवातालको आँगनमा लैलै, माछापुच्छ्रे छायाँ…’ आउँछ। हो, त्यही सेताम्मे हिउँले ढाकिने गरेको माछापुच्छ्रे हिमालको फेवातालमा छायाँ पर्दा किन-किन ‘उदास’ छायाँ देखिने गरेको छ अचेल।

मानिसद्वारा सिर्जित जलवायु तथा अन्य समस्याका कारण अन्य हिमालहरू काला पहाडजस्ता बनेका खबरहरू आइरहेका माझ त्यही कारणले माछापुच्छ्रे हिमाललाई पनि छाडेन।

हिमाल वरपर घुम्ने पर्यटकलाई मात्र नभएर त्यहाँका बासिन्दासमेत माछापुच्छ्रेको अवस्था देखेर छक्क परेका छन्, चिन्तित देखिन्छन्।

सेताम्मे हिउँले ढाकिएर मुसुक्क हाँसेको माछापुच्छ्रे हिमालको दृश्य खेम तामाङले आँखा बन्द गर्दा फनफनी घुमिरहन्छ । जब आँखा खोल्छन् उनको अगाडि त्यही माछापुच्छ्रे कालो पहाडजस्तै बनेर टक्क उभिएको हुन्छ ।

बालखदेखि नै माछपुच्छ्रेको सामिप्यमा बाँचेका उनको अगाडि ठिङ्ग उभिएको हिमालको दृश्यले ऐठन हुन्छ । पहिले भैंसीको बथान लिएर उक्लने बेला र अहिले देखिरहेको हिमाललाई दाँज्छन् । उनलाई लाग्छ, ‘हिमाल डढेजस्तै ।’

‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ

पोखरा त साँच्चिकै पो पोखरा नै रैछ’

प्रेमप्रकाश मल्लको सुप्रसिद्ध यो गीतको शब्दले भनेझैं माछापुच्छ्रे हिमाल फेवातालमा चुर्लुम्म डुबेर पौडी त खेल्छ तर, सेताम्मे हिउँले ढाकिएर मुस्कुराउँदै होइन, कालो पहाड बनेर ।

कालो पहाड जस्तै देखिने माछापुच्छ्रेको तस्बिरहरू यो साता सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् । ‘जलावायु परिवर्तन’ को असर उल्लेख गर्दै अधिकांशले चिन्ता जनाइरहेका छन् । कालो माछापुच्छ्रेको दृश्यले पर्यटक पनि पोखरा घुमेर उतिसारो दंग छैनन् ।

पोखराको नदीपुरस्थित सडकबाट देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः देशसञ्चार

के माछापुच्छ्रे हिमाल मंसिर पुसको महिनामा पहिला पनि यस्तै हिउँबिनाको कालो पहाड जस्तै उभिन्यो ? पोखरा आसपासबाट माछापुच्छ्रे नियाल्नेको मात्रै नभएर सञ्जालमा तस्बिर हेर्ने धेरैको मनमा प्रश्न बिजारोपण पक्कै हुन्छ ।

पर्यटन व्यवसायी खेम तामाङसँग देशसञ्चारले प्रश्न गर्दा माछापुच्छ्रेमा पहिला यो समयमा प्रशस्त हिउँ हुने गरेको उनले सुनाए ।

‘पहिला हिमालमा एकदम हिउँ हुन्थ्यो । जहिले पनि मुस्कुराइरहन्थ्यो । अहिले त कालो डढेर बस्याछ’, ५३ वर्षीय उनले भने ।

१५ वर्षको उमेरदेखि भैंसी लिएर अहिलेको भ्युपोइन्टसम्म पुगेका तामाङका अनुसार  कहिलेकाँही त मंसिरबाटै हिउँ पर्न सुरु हुन्थ्यो ।  हिजोआज पुस अन्तिममा पनि हिउँ पर्न मुस्किल भइरहेको उनले बताए ।

‘कहिलेकाँही त कस्तो हुन्छ भने माछापुच्छ्रेमा हिउँ हुँदैन । अलिकति तल्लो बेल्टमा हिउँ हुन्छ’, उनले थपे, ‘पहिला त हुमाल (लोक्याम्प) कटेरो बनाएर बस्दा कटेरो कहाँनेर छ भनेर थाहा नहुने । ७ फिटसम्म हिउँ पर्थो ।’

पछिल्ला वर्षहरूमा ३ फिट बाक्लो हिउँ पर्दैन । परेको हिउँ पनि छोटो समयमै पग्लिने उनको अनुभव छ ।

सिदिङका ६१ वर्षीया रेशमलाल गौतम हिउँ पर्ने समय पछि सरिरहेको बताउँछन् । पुस लाग्दासम्म हिमाल सेतो देखिने गरेर हिउँ पर्न सुरु हुने गरेको उनी सम्झन्छन् ।

‘अहिले त माछापुच्छ्रेमा हिउँ नै देखिएको छैन । सानो लाइन मात्रै देखियाछ । उ बेलामा अलि बढी नै हिउँ हुन्थ्यो’, उनी भन्छन्, ‘अहिले रातो पहिरोजस्तो देखिन्छ त्यो ठाममा हिउँ हुन्थ्यो, अहिले छैन ।’

माछापुच्छ्रे हिमालमा मात्रै होइन निकै तल रहेको सिदिङ गाउँसम्मै बाक्लो हिउँ परेको उनलाई सम्झना छ । पछिल्लो दशक सिदिङमा निकै पातालो हिँउ खस्छ, केही घण्टामै विलाउने गरेर । सिदिङमा जस्तै हाइक्याम्पमा पनि परेको हिउँ लामो समय टिक्दैन ।

पोखराको न्युरोडबाट देखिएको माछापुच्छ्रे हिमाल लगायतका हिमाल । अरुको तुलनामा माछापुच्छ्रेमा निकै कम हिउँ छ । तस्बिरः देशसञ्चार

जलवायुका अध्ययेता डा. सुवास अधिकारीले पानी नपरेको कारणले माछापुच्छ्रे बढी कालो देखिरहेको बताए । ‘माछापुच्छ्रे कालो देखिनु पानी नपरेको कारणले हो । अहिले पश्चिम वायुको प्रभाव पर्ने समय हो’, उनले भने, ‘पानी पर्दाखेरी हिउँको रुपमा झर्थो । किनकी माथी तापक्रम कम भएपछि पानी हिउँको रुपमा झर्छ ।’

पानी नपर्दा भएको हिउँसमेत पग्लिने उनको भनाइ छ । २० औं वर्षदेखि सुक्ष्म रुपमा परेको जलवायु परिवर्तनको असर अहिले देखिइरहेको डा. अधिकारीले बताए । नेपालको हिमाली क्षेत्रमा प्रति दशकमा ०.६ सेल्लियस तापक्रम वृद्धि भइरहेको वैज्ञानिक अध्ययनले देखाएको उनले जानकारी दिए ।

विहानदेखि बेलुकासम्मै घाम पर्ने कारण पनि माछापुच्छ्रेमा हिउँ नरहने अनुसन्धानकर्मी डा. गणेश गुरुङ बताउँछन् ।

‘विहान घाम झुल्कनेवित्तिकै माछापुच्छ्रेमा परिहाल्छ । बेलुका नडुबेसम्म परिराख्छ । माछपुच्छ्रे र वरपरका हिमालमा तापक्रमको कारणले पग्लने क्रम रफ्तारमा भइराखेको छ’, उनले भने ।

अर्को कारण जलवायु परिवर्तन भएको उनले बताए । अबको पुस्ताले माछापुच्छ्रेमा हिउँ नभएको कालो पहाड मात्रै देख्ने अवस्था आउन सक्ने उनको आशंका छ ।

माछापुच्छ्रे कालापत्थर बन्दै गर्दा गण्डकी पेरीफेरीको पर्वतीय पर्यटनमा निकै असर पुग्ने डा. गुरुङको विश्लेषण छ ।

‘हामीले हिमाल नै बेचेर पर्यटक आकर्षित गर्ने हो । हिमालमा हिउँ नै छैन भने त कालापत्थर हेर्नलाई कोही मान्छे आउदैन । पर्वतीय पर्यटनमा ठूलो चुनौति देखा पर्दैछ’, उनी भन्छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?