
काठमाडौँ- नेपाली क्रिकेटलाई जसै एन्ड्रयु लियोनार्डले पछ्याउन थाले त्यसरीनै नेपाली क्रिकेट समर्थकले पनि उनलाई पछ्याउन सुरु गरे। अर्थात अन्तर्राष्ट्रिय स्तरमा कमेन्ट्रीको स्वादिलो भ्वाइस दर्शकमाझ पुर्याएका एन्ड्रयुले नेपाली क्रिकेटका गाथा र लगावको चर्चा सुरु गरे उनी नेपाली समर्थकको नजरमा परिहाले।
आयरल्यान्डका चिरपरिचत नाम एन्ड्रयुले ६-७ वर्षमा नेपालमा पाएको मान समान र इज्जतले उनलाई आफ्नो दोस्रो घर नेपाल हो भन्ने कुरामा सोच्नु पर्ने बनाए। उनी सहजै भन्छन्। नेपाल मेरो दोस्रो घर हो। पहिलो पटक २०१८ मा एभरेस्ट प्रिमियर लिगका दौरान नेपाल आएका उनले त्यसयता धेरै पटक नेपाल यात्रा गरिसकेका छन्। ५०० भन्दा बढी अन्तर्राष्ट्रिय खेलहरुमा कमेन्ट्री गरेका उनको क्रिकेट प्रतिको लोभलाग्दो ‘प्यासन’नै उनलाई सफल कमेन्टेटर बनाउन पर्याप्त बन्यो।
उनलाई पछ्याउने नेपाली समर्थकले उनको यही लोकप्रिय आवाजसँगै नेपाली क्रिकेट कमेन्ट्रीमा छाडेको मिठो छापसँगै एउटा नाम दिए ‘टक्लु दाइ’ यहि टक्लु दाइनै अहिले एन्ड्रयुलाई चिन्ने सजिलो नेपाली नाम भएको छ। उनले पनि यसलाई नेपाली समर्थकले दिएको उपहारलाई सगर्व हरेक कमेन्ट्रीमा ‘आएम टक्लु दाइ’ भन्न छुटाउँदैनन्।
उनले नेपाली खेलाडीहरुको हरेको प्रदर्शनलाई सर्वाधिक नजिकबाट हेरेका छन्। पछिल्लो समय त नेपालको कल्चर र खानामासमेत परिचित छन्। उनका कमेन्ट्रीहरुमा पछिल्लो समय नेपाल चिनाउने भाषाहरुको प्रयोग हुन्छ। सगरमाथादेखि भक्तपुर र नेवारी खानादेखि नेपालीको लोकप्रिय ममसम्म उनले कमेन्ट्रीमा मिठो गरेर घुसाइहाल्छन्।
पहिलो संस्करणको एनपिएलपछि त एन्ड्रयुको चर्चा झनै चुलियो। मिठो तरिकाले आफ्ना सहकर्मीलाई समेत नेपाली पन र नेपालीहरुले मनपराउने कुराहरु भन्न लगाएर अझै बढी परिचित भए। त्यसोत उनले नेपाल प्रिमियर लिगमा सिंधै दर्शकसँग अन्तर्क्रिया गर्दै आफ्नो दायरा थप फराकिलो बनाए।
एन्ड्रयुलाई नेपाली समर्थकले जहिले मिठो माया दिन्छन्। जहाँ भेटे पनि उनलाई फ्यानहरुले घेरेर अट्टो ग्राफ लिइहाल्छन्। मिठो मुस्कानसहित संधै मिजासिलो स्वभावले उनले सबैको मन जितेका छन्। त्यही भएर एन्ड्रयु नेपालका साना या ठूला प्रतियोगितामा पनि कमेन्ट्रीको निम्ता पाउँदा प्रसन्न भएर आइहाल्छन्।
उनी नेपालको सफलतामा अनायसै आँखाबाट आँसु झार्छन् अनि नेपाली खेलाडीको अर्धशतक र शतकमा रमाउँछन्। टी-२० विश्वकपमा नेपाल छनोट हुँदा उनका आँखाबाट आँशु बरर झरे। नेपालसँग जोडिएको यो फिलिङले नेपाली समर्थकको पनि मुटुमा उनी बस्न सफल भएका छन्।
अघोषित ब्रान्ड एम्बासडर र मानार्थ नागरिकताको बहस
नेपाल बाहेक अन्य देशको कमेन्ट्रीमा पनि उनले कुनै न कुनै रुपमा नेपालको क्रिकेटको लोकप्रियता र नेपालीहरुको मिठो ब्यवहारको मुक्त कन्ठले प्रशंसा गर्छन्। क्रिकेटमार्फत उनले अघोषित रुपमा नेपाललाई अन्तर्राष्ट्रिय एरिनामा परिचित गराउने काम गरेका छन्।
उनको कमेन्ट्रीबाट जोकोही परिचित छन्। यही एनपिएल दौरान उनलाई प्रधानमन्त्री केपी ओलीले भेटे। पारस खड्कासँगै उनलाई समान गरे। उनले नेपाली समाज, कला र संस्कृतिलाई समेत जोडेर गर्ने कमेन्ट्री आफूलाई मन पर्ने भन्दै प्रधानमन्त्री ओलीले उनको तारिफ गरे।
तर एनपिएल अघिबाटै समर्थकको मन जितेका एन्ड्रयुलाई समर्थकहरुले यति माया गर्छन् कि उनलाई मानार्थ नेपाली नागरिकता प्रदान गर्नु पर्ने आवाज बुलन्द बनाएका छन्। समर्थकहरु यो कुरामा कति सफल हुन्छन् त्यो भने भविष्यमै थाहा होला तर एन्ड्रयुले जसरी नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय महत्व दिलाउँदै अघि बढेका छन्। यसले नेपाली क्रिकेट उचाइ थप बढाएको छ।
जब लारालाई ढाका टोपी लगाइदिए
क्रिकेट विश्वमा यदि पहिलो भगवान कोही हुन् भने त्यो ‘सचिन तेन्दुलकर’ हुन भन्निन्छ अनि कसैले दोस्रो भगवानको दर्जा दिनु पर्यो भने ब्रायन लारालाई मान्छन्। लारालाई अन्तर्राष्ट्रिय स्तरमा उनको समानमा सिर ननिहुराउने क्रिकेट समर्थक कमै छन्।
तिनै लारा यो पटक नेपालमा एनपिएल हेर्न काठमान्डौं आउने भएसँगै समर्थकको उत्साह थियो। लारा आएसँगै जब टियू पुगे उनको सम्मानमा नेपाली समर्थकहरु उठेका थिए। साथै उनले नेपाली समर्थकलाई अभिवादन गरे। लारालाई जब कमेन्ट्रिमा बोलाइयो। उनको अनुभव सेयर गर्न त्यही समयमा एन्ड्रयुले उनलाई नेपालीसँग नजिक बनाउने तरिका निकाली हाले। ढाका टोपी शीरमा लगाए र नमस्ते गर्न आग्रह गरे। लारा पनि उत्साही हुँदै एन्ड्रयुको आग्रहमा आफ्नो शीरमा ढाका टोपी ढल्काएर सबैलाई नमस्ते गरे।
यो क्रममा एन्ड्रयुले ढाका टोपी लगाउन आग्रह गर्दै भने ‘यो ढाका टोपी हो, नेपालको राष्ट्रिय टोपी’ त्यसपछि एन्ड्रयुले लारालाई नमस्ते गर्न पनि भने। लाराले खुसी हुँदै २ हात जोडेर नमस्ते गरे। अनि उनले नेपालीले आफूलाइ दिएको नामको परिचय दिँदै भने ‘म टक्लु दाइ भएजस्तै तपाईं पनि आजदेखि ब्रायन दाइ हुनुभयो’ त्यसपछि लाराले आफू पनि टक्लु नै भएको बताए। त्यसपछि हाँस्दै एन्ड्रयुले दुवै जना ‘टक्लु दाइ १ र २’ भएको बताए।
लारा टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने विश्व कीर्तिमानी ब्याटर हुन्। उनले ओडीआई र टेस्ट क्रिकेट दुवैमा १० हजारभन्दा बढी रन बनाए। उनले नेपाली फ्यानहरुले देखाएको क्रिकेट क्रेजले आफू नेपाल आउन चाहिरहेको र यो उचित समय भएको भन्दै खुसी ब्यक्त गरेका थिए। यो सबै अवसरलाई नेपालीसँग नजिक बनाउने अर्को एउटा माध्यम यिनै ‘टक्लु दाइ’ बने।