
सिमकोट – सिमकोट गाउँपालिका– ८ को स्याँडा गाउँको चरीचौरमा नयाँ र सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएर सञ्चालनमा आएको छ।
उक्त गाउँको सैपाल माध्यमिक विद्यालयलाई हालको विद्यालय भवन भएको स्थान साँघुरो र जीर्ण भवनबाट विद्यालयलाई सार्नका लागि चरीचौरमा नयाँ भवन निर्माण गरी सञ्चालनमा ल्याइएको हो।
जीर्ण भवनबाट पठनपाठन गर्न कठिन भई रहेको समयमा नयाँ भवनको निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आएको हो। पाँच वटा ब्लगमा १२ कोठे भवन निर्माण कार्य हुँदा भवनको उद्घाटन पछि विद्यालयलाई नयाँ भवन जिम्मा लगाउने कार्य भएको र अब नयाँ शैक्षिक सत्रबाट पठनपाठन सुरु गरिनेछ।
हालको विद्यालय भवन थोरै जग्गामा गिजिमिजि भवन निर्माण भएर उकुसमुकुस अवस्थामा पढाई भई रहेको थियो। यो अवस्थाबाट पार पाउनका लागि नयाँ खुल्ला स्थान चरीचौरमा विद्यालय भवन सार्नु परेको हो।
उक्त वडाको वडा अध्यक्ष कमल बुढाले धेरै सहयोगी निकायको सहयोगमा चरीचौरमा नयाँ विद्यालय भवन निर्माण भएको बताए। यसका लागि चार कोठे भवन सामाजिक बिकास कार्यालयको पचास लाख लागतमा निर्माण गरेको हो।
त्यसैगरी आठ कोठे भवन, छात्रा र छात्रका लागि छुट्टा छुट्टै दुई वटा शौचालय भवन, खानेपानीको बालमैत्री धारा र खेल मैदान निर्माण गर्ने कार्य आधार बिकास नेपालले एक करोड ४६ लागतमा निर्माण गरेको हो। आधार बिकास कै आर्थिक सहयोगमा दिवा खाजा पकाउनका लागि भान्सा पनि निर्माण गरिएको छ। सरकारले अनुदान दिने दिवा खाजाका लागि पनि आधारले थप सहयोग गर्दै आएको छ।
सिमकोट गाउँपालिका विद्यालयको घेरबार गरेको हो भने प्रधानमन्त्री रोजगारको १४ लाख र मुख्यमन्त्री रोजगार कार्यक्रमको २० लाख गरि चौतीस लाख रुपियाँमा खेल मैदान निर्माण गरिएको छ।
विद्यालय भवन निर्माणका लागि स्याँडा गाउँका स्थानीय सिंहबहादुर बुढा, पुनिमल बुढा, बर्म बुढा, रामसिंह बुढा, पुसे बुढा, अंगबिर बुढा लगाएतका ब्यक्तिहरुको उक हजार वर्गमिटरको जग्गा निशुल्क रुपमा दान दिनुभएको हो। हाल विद्यालयमा ३९६ जना बिधार्थीहरु बालबिकासदेखि कक्षा दशसम्म अध्ययन गर्दै आएका छन्।